कात्तिक २० गते । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शुक्रबार दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ। खेल दिउँसो १ बजे सुरु हुनेछ।
चार खेल खेलेको सुदूरपश्चिमले दुई खेलमा जित निकालेको छ। त्यसैले अङ्क तालिकामा आफ्नो स्थिति सुधार गर्न टोलीका लागि आजको खेल महत्त्वपूर्ण हुनेछ।
तीन खेल खेलेको कर्णालीले भने दुई खेल जितेको छ र एक खेलमा हार बेहोरेको छ। चार अङ्कसहित तालिकाको तेस्रो स्थानमा रहेको कर्णालीमा दक्षिण अफ्रिकी खेलाडी डेभिड मिलर पनि जोडिने भएका छन्। उनी काठमाडौं आइपुगेका छन्।
शुक्रबारकै दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्स आमनेसामने हुनेछन्। साँझ ५ बजे सुरु हुने यस खेलमा दुवै टोली जितको खोजीमा रहनेछन्।
तीन खेल खेलेको पोखराले अहिलेसम्म जित निकाल्न सकेको छैन र तालिकाको अन्तिम स्थानमा छ। चितवनले भने एक खेल जितेको छ भने एक खेल वर्षाका कारण रद्द हुँदा अङ्क बाँडेको छ। तीन अङ्कसहित चितवन सातौँ स्थानमा रहेको छ।
