एनपीएलमा आज कर्णाली–काठमाडौं र चितवन–सुदूरपश्चिम भिड्दै

कात्तिक १६ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिलो खेल दिउँसो साढे १२ बजे र दोस्रो खेल साँझ ५ बजे सुरु हुनेछ।

पहिलो खेलमा कर्णाली याक्स र काठमाडौं गोर्खाज आमनेसामने हुनेछन्। प्रतियोगितामा कर्णालीले यसअघि खेलेका दुवै खेल जितेको छ। जनकपुर बोल्ट्स र विराटनगर किंग्सलाई पराजित गरेको कर्णाली आज लगातार तेस्रो जित निकाल्ने लक्ष्यमा छ।

काठमाडौं भने पहिलो जितको खोजीमा मैदान उत्रनेछ। पहिलो खेलमा जनकपुर बोल्ट्ससँग पराजित भएको काठमाडौंका लागि आजको खेल दोस्रो हो।

दिनको दोस्रो खेलमा चितवन राइनोज् र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ। चितवनले यसअघि विराटनगरलाई हराएको थियो भने लुम्बिनीसँगको खेल वर्षाका कारण रद्द भएपछि अंक बाँडेको थियो।

सुदूरपश्चिमले तीन खेलमध्ये एकमा मात्रै जित निकालेको छ। पहिलो खेलमा लुम्बिनीसँग पराजित भएको उसले दोस्रो खेलमा पोखरालाई हराएको थियो। वर्षाका कारण पाँच ओभरमा सीमित विराटनगरविरुद्धको खेलमा भने सुदूरपश्चिम पराजित भएको थियो।

आजको खेल जित्दै सुदूरपश्चिम प्रतियोगितामा दोस्रो जित निकाल्ने र अंकतालिकामा आफ्नो स्थिति सुधार्ने लक्ष्यमा हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *