पोखराले विराटनगरलाई दियो १३३ रनको लक्ष्य

कात्तिक २६ गते । नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेटमा पोखरा एभेन्जर्सले विराटनगर किङ्ससामु १३३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखरा १७ दशमलव पाँच ओभरमा १३२ रन बनाउँदै अलआउट भयो ।

पोखराका ओपनर युवराज सम्राले उत्कृष्ट प्रदर्शन गर्दै ४७ बलमा सात चौका र पाँच छक्काको मद्दतले ८४ रन बनाए । धनञ्जय लक्षणले २२ र सनि बिकेले १२ रन जोडे । अन्य ब्याटरले भने दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

विराटनगरका लागि सन्दीपले घातक बलिङ गर्दै चार ओभरमा २७ रन खर्चेर छ विकेट लिए । उनको नाममा ह्याट्रिकसमेत रह्यो । एन्जेलो म्याथ्युज, चरिथ असलङ्का र रुपेश सिंहले एक–एक विकेट हात पारे ।

प्लेअफ सम्भावना कायम राख्न दुवै टोलीका लागि यो खेल महत्वपूर्ण छ । पाँच खेलबाट दुई जित र तीन हार बेहोरेको विराटनगर तालिकाको छैटौँ स्थानमा छ भने चार हार र एक जितसहित पोखरा आठौँ स्थानमा रहेको छ ।

आजै अपराह्न ५ बजे कर्णाली याक्स र लुम्बिनी लायन्सबीच अर्को खेल हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *