कात्तिक २१ गते । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज शनिबार लुम्बिनी लायन्स र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल अपराह्न ४ बजे सुरु हुनेछ।
लुम्बिनी जारी प्रतियोगितामा अपराजित रहँदै सात अंकसहित तालिकाको शीर्ष स्थानमा छ। उसले खेलेका तीनवटै खेल जितेको छ भने चितवन राइनोजसँगको खेल वर्षाका कारण रद्द हुँदा एक अंक बाँडेको थियो। लुम्बिनीले यसअघि सुदूरपश्चिम, पोखरा र जनकपुरलाई पराजित गरिसकेको छ।
पहिलो खेलमा जनकपुरसँग पराजित भएको काठमाडौंले त्यसपछि लगातार दुई खेल जितेको छ। उसले कर्णाली याक्स र विराटनगर किङ्सलाई हराएको थियो। तीन खेलबाट चार अंक जोडेको काठमाडौं तालिकाको चौथो स्थानमा छ।
आजको खेल दुवै टोलीका लागि अंकतालिकामा आफ्नो स्थिति बलियो बनाउने अवसरका रूपमा रहनेछ।
