पश्चिमी वायुको प्रभावले हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

कात्तिक २८ गते । देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायम रहँदा हिमाली तथा पहाडी क्षेत्रमा बादल लाग्ने र केही स्थानमा हल्का वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । अन्य प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ ।

मधेस प्रदेशसहित कोशी, बागमती र गण्डकीका तराई क्षेत्रमा पनि आंशिक बादल लाग्ने अनुमान छ । बाँकी तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना छ ।

आज राति हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ । तराई, उपत्यका र खोँचका केही स्थानमा बिहानपख हुस्सु तथा कुहिरो लाग्ने पूर्वानुमान गरिएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *