सप्तरी, कात्तिक २८ गते । मधेश प्रदेशभरि छठ पर्वको उल्लास छाएको छ । सूर्यदेव र छठी माताको आराधनामा हजारौँ व्रतालु सहभागी भइरहँदा पर्वले कृषि उपजको बिक्री र स्थानीय व्यापारलाई समेत गति दिएको छ । तर, पूजासामग्रीको माग बढेसँगै केरा, नरिवललगायत वस्तुको मूल्य मनपरी निर्धारण भएको गुनासो बढेको छ ।
सप्तरी जिल्लाका २६५ पोखरी, तालतलैया, नदी तथा जलाशयमा छठ मनाउने तयारी गरिएको छ । विभिन्न छठघाटमा सरसफाइ, सजावट र व्यवस्थापनका काम सम्पन्न गरिएका छन् । चार दिनसम्म मनाइने पर्वअन्तर्गत शुक्रबार नहाय–खाय, शनिबार खरना, आइतबार अस्ताउँदो सूर्यलाई अर्घ र सोमबार उदाउँदो सूर्यलाई अर्घ अर्पण गरिनेछ ।
खरनाका दिन व्रतालु दिनभर उपवास बसेर साँझ खीर, रोटी र गुडको प्रसाद ग्रहण गर्छन् । त्यसपछि करिब ३६ घण्टासम्म निर्जल व्रत बसेर सूर्यदेव र छठी माताको पूजा गर्ने परम्परा छ ।
सामाजिक सद्भावको पर्व
व्रतालु अञ्जना गिरीका अनुसार छठमा परिवारको सुख, शान्ति, समृद्धि र सन्तानको दीर्घायुको कामना गर्दै कठोर उपवास बस्ने गरिन्छ । पूजासामग्री संकलनदेखि प्रसाद तयारीसम्म शुद्धता र पवित्रतालाई विशेष महत्त्व दिइन्छ ।
व्रतालु बाँबी झाका अनुसार आर्थिक अवस्था कमजोर भएका परिवारले भिक्षा मागेर वा अरूको सहयोग लिएर पनि छठ मनाउने गरेका छन् । यस पर्वमा धनी–गरिबबीच भेदभाव नरहने र सबैले आफ्नो क्षमताअनुसार पूजा गर्ने परम्परा रहेको उहाँले बताउनुभयो ।
पण्डित बद्रीनारायण झाका अनुसार सूर्यबाट प्राप्त प्रकाश र ऊर्जाले पृथ्वीमा जीवन सम्भव भएको धार्मिक तथा प्राकृतिक मान्यता छ । जलाशयमा उभिएर सूर्यलाई अर्घ दिनु, शुद्धतापूर्वक प्रसाद बनाउनु र निर्जल उपवास बस्नु यस पर्वका मुख्य विधि हुन् ।
कृषि उपजको बिक्री बढ्यो
छठका लागि केरा, नरिवल, उखु, अदुवा, बेसार, स्याउ, सुन्तलालगायत फलफूल तथा कृषि उपजको माग बढेको छ । बाँसका सुप, नाङ्लो, ढाकी, माटाका भाँडा र परम्परागत परिकारको कारोबारले स्थानीय उत्पादन तथा घरेलु व्यवसायलाई पनि टेवा पुर्याएको छ ।
किसान योगेन्द्रप्रसाद साहका अनुसार पर्वका बेला कृषि उपजको माग बढ्ने भएकाले किसानलाई उत्पादन बिक्री गर्ने राम्रो अवसर मिल्छ । विशेषगरी केरा, उखु, अदुवा, बेसार र फलफूलको कारोबार बढ्दा किसानको आम्दानीमा सहयोग पुग्ने गरेको उहाँले बताउनुभयो ।
यद्यपि, मागसँगै पूजासामग्रीको मूल्य बढ्दा उपभोक्ता समस्यामा परेका छन् । कतिपय व्यापारीले आफूखुसी मूल्य तोक्ने गरेको गुनासो छ । कर्मचारी बिदामा रहेकाले नियमित बजार अनुगमन हुन नसकेको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले बताउनुभयो । अनुचित मूल्य असुली वा अन्य अनियमितताबारे उजुरी आए छानबिन गरी कारबाही गरिने उहाँको भनाइ छ ।
छठघाटमा सुरक्षा व्यवस्था कडा
प्रमुख जिल्ला अधिकारी थापाका अनुसार पर्वलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन विशेष सुरक्षा योजना लागू गरिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई आवश्यकताअनुसार परिचालन गरी छठघाटमा हुने भीड व्यवस्थापन तथा जलाशयमा सम्भावित दुर्घटना रोक्न सुरक्षा व्यवस्था मिलाइएको छ ।
जलाशय संरक्षणबाट पर्यटनको सम्भावना
सप्तरीमा राजविराजको भगवती पोखरी, कल्टु दास पोखरी, भारदहस्थित कोसी ब्यारेज आसपास, कञ्चनरूपका जलाशय तथा हनुमाननगर कंकालिनी क्षेत्रलगायत स्थानमा छठ मनाइन्छ । पर्वका बेला हुने सरसफाइ र सजावटले जलाशयको सौन्दर्य बढाउनुका साथै धार्मिक पर्यटनको सम्भावना पनि विस्तार गरेको छ ।
तर, छठका बेला मात्रै जलाशय सफा गर्ने प्रवृत्तिको अन्त्य गरी वर्षभरि संरक्षण गर्नुपर्ने आवश्यकता देखिएको छ । स्थानीय तहले फोहोर व्यवस्थापन, घाट निर्माण, प्रकाश तथा अन्य पूर्वाधार विकासमा ध्यान दिन सके धार्मिक पर्यटनसँगै पर्यापर्यटनलाई पनि प्रवर्द्धन गर्न सकिने देखिन्छ ।
धार्मिक आस्था, कृषि उत्पादन, स्थानीय व्यापार र सामाजिक सद्भावलाई जोड्ने छठ पर्वले मधेश प्रदेशको अर्थतन्त्रमा समेत योगदान पुर्याउँदै आएको छ । यसको प्रभावलाई दिगो बनाउन बजार अनुगमन, स्थानीय उत्पादनको प्रवर्द्धन र जलाशय संरक्षणलाई प्राथमिकता दिन आवश्यक छ ।
