काठमाडौँविरुद्ध सुदूरपश्चिमको १२६ रनको लक्ष्य

कात्तिक २७ गते । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले काठमाडौँ गोर्खाजसामु १२६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै १२५ रन बनायो ।

सुदूरपश्चिमको सुरुवात कमजोर रह्यो । ओपनर स्कट कुगलेइनले छ र विनोद भण्डारीले एक रन मात्र बनाउन सके । ब्रेन्डन म्याकमुलेन र ईशान पाण्डे खाता नखोल्दै आउट भए । दुवैलाई काठमाडौँका बलर सन्तोष यादवले पभेलियन पठाए ।

त्यसपछि कप्तान दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले इनिङ्स सम्हाल्ने प्रयास गरे । २५ बल खेलेका शेख १६ रन बनाएर रनआउट भए । कप्तान ऐरीले ६० रनको अर्धशतकीय पारी खेल्दै टोलीको स्कोर उकासे भने थरिन्दु रत्नायके २६ रनमा अविजित रहे ।

काठमाडौँका लागि जहानदाद खानले तीन तथा सन्तोष यादवले दुई विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *