मङ्सिर २। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधि होडबाट बाहिरिन नदिन आज काठमाडौँ गोर्खाज र चितवन राइनोजबीच निर्णायक भिडन्त हुँदैछ। लिग चरण पार गर्दै प्लेअफमा पुगेका दुवै टोलीका लागि आजको खेल जित्नैपर्ने दबाबसहित प्रतिष्ठाको लडाइँ बनेको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो ४ बजे सुरु हुने इलिमिनेटर खेलमा दुवै टोलीको एउटै लक्ष्य हुनेछ– जित निकाल्दै दोस्रो क्वालिफायरमा स्थान सुरक्षित गर्ने। आज पराजित हुने टोलीको एनपीएल उपाधि जित्ने सपना यहीँ समाप्त हुनेछ भने विजेता टोलीको फाइनल पुग्ने सम्भावना कायमै रहनेछ।
लिग चरणको प्रदर्शनलाई आधार मान्दा काठमाडौँ गोर्खाज तुलनात्मक रूपमा बलियो अवस्थामा देखिएको छ। सात खेलबाट चार जित र तीन हारसहित ८ अङ्क जोडेको काठमाडौँ तेस्रो स्थानमा रहँदै प्लेअफमा पुगेको हो। अर्कोतर्फ चितवन राइनोज सात खेलमध्ये तीन जित, तीन हार र एक खेल वर्षाका कारण रद्द भएपछि चौथो स्थानमा रहँदै इलिमिनेटरमा पुगेको हो।
लिग चरणमा प्राप्त सफलतालाई प्लेअफमा पनि निरन्तरता दिने लक्ष्य काठमाडौँको हुनेछ। चितवन भने अघिल्ला कमजोरी सुधार्दै निर्णायक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने रणनीतिमा मैदान उत्रनेछ।
आजको प्रतिस्पर्धा जित्ने टोलीले बिहीबार दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग पराजित भएको सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ। दोस्रो क्वालिफायरको विजेताले शनिबार हुने फाइनलमा लुम्बिनी लायन्ससँग उपाधिका लागि भिड्ने अवसर पाउनेछ।
अब काठमाडौँ र चितवनमध्ये कसले दबाबलाई अवसरमा बदल्दै उपाधि यात्रालाई निरन्तरता दिन्छ भन्ने चासो क्रिकेटप्रेमीमा बढेको छ। आजको खेल दुवै टोलीका लागि जित वा प्रतियोगिताबाट बिदाइको निर्णायक परीक्षा बन्नेछ।
