कात्तिक ३० गते । काठमाडौँ उपत्यकामा कात्तिक महिनामा ट्राफिक नियम उल्लङ्घन गर्ने १२ हजार ९६७ जना सवारीचालक कारबाहीमा परेका छन् । तीमध्ये सबैभन्दा धेरै मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने चालक रहेका छन् ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार कात्तिक १ देखि २९ गतेसम्म मापसे गरी सवारी चलाउने दुई हजार ८९२ जना र लागुपदार्थ सेवन (लापसे) गरी सवारी चलाउने ७८ जना कारबाहीमा परेका हुन् ।
मादक तथा लागुपदार्थ सेवन गरेर सवारी चलाउँदा दुर्घटनाको जोखिम बढ्ने भएकाले प्रहरीले नियमित जाँच र निगरानी गर्दै आएको छ ।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ लगायत प्रचलित कानुनी व्यवस्थाले मापसे र लापसे गरी सवारी चलाउन निषेध गरेको छ । प्रहरीले चालकलाई ट्राफिक नियम पालना गर्न र मादक तथा लागुपदार्थ सेवनपछि सवारी नचलाउन आग्रह गरेको छ ।
