कात्तिक ३० गते । सूर्यदेवको श्रद्धा र भक्तिपूर्वक आराधना गर्दै मनाइने चारदिने छठ पर्व सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेसँगै सम्पन्न भएको छ ।
छठको अन्तिम दिन व्रतालुले बिहानै जलाशयमा पुगेर गाईको दूध, फूल र जलसहित सूर्यदेवलाई अर्घ्य दिएका थिए । सूर्योदयको प्रतीक्षामा कम्मरसम्म पानीमा उभिएर सूर्यको दर्शन गर्ने धार्मिक विधिअनुसार पूजा सम्पन्न गरिएको हो । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिबाट स्वीकृत पात्रोअनुसार सोमबार बिहान ६ बजेर १९ मिनेटमा सूर्योदय भएको थियो । पूजापछि छठघाटमा प्रसाद वितरणसमेत गरिएको छ ।
धर्मशास्त्रविद् प्रा. तोयराज नेपालका अनुसार कार्तिक शुक्ल षष्ठीका दिन सूर्यको आराधना गर्न शास्त्रमा उल्लेख गरिएको छ । सूर्यलाई सम्पूर्ण शक्तिको स्रोत र जललाई जीवनको आधार मानेर विशेष पूजा गर्ने धार्मिक विश्वास रहेको उहाँले बताउनुभयो ।
छठ पर्वमा व्रतालुले परिवारको सुख, शान्ति, समृद्धि, पति–पत्नीको दीर्घायु तथा सन्तान प्राप्तिको कामना गर्छन् । अविवाहिताले सुयोग्य जीवनसाथी प्राप्तिको कामनासमेत गर्ने परम्परा छ । मनोकाङ्क्षा पूरा हुने विश्वासका कारण विशेषगरी महिलाले कठोर उपवाससहित यो पर्व मनाउने गरेका छन् ।
कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ शुक्रबारदेखि सुरु भएको थियो । पहिलो दिन स्नान गरी चोखो भोजन गर्ने, दोस्रो दिन खरना मनाउने, तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिने र अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्ने विधि छ । पर्व अवधिभर व्रतालुले माछा, मासु, लसुन, कोदो, फापर र मुसुरोजस्ता खानेकुरा त्याग्ने परम्परा छ ।
मिथिला संस्कृतिमा आधारित छठ पर्व पहिले मुख्यतः तराईका जिल्लामा मनाइन्थ्यो । विसं २०४६ पछि काठमाडौँलगायत पहाडी क्षेत्रमा पनि यसको विस्तार भएको हो । विसं २०६३ देखि थापाथली, गौरीघाट र रानीपोखरीमा विशेष रूपमा छठ मनाउन थालिएको थियो । विसं २०७२ को भूकम्पपछि रानीपोखरीमा छठ मनाउन छोडिएको छ भने पछिल्लो समय कमलपोखरीमा विशेष रौनक देखिने गरेको छ ।
यस वर्ष काठमाडौँको गुह्येश्वरी, गौरीघाट, कमलपोखरी, थापाथली र बल्खुलगायत स्थानमा छठघाट सजाएर पूजा गरिएको थियो । छठ पूजा समितिका अध्यक्ष अनिल सिंहका अनुसार धेरै व्रतालु रातभर गुह्येश्वरी–गौरीघाट क्षेत्रमा जाग्राम बसेका थिए ।
पहिले पूर्वी तराईका केही जिल्लामा सीमित रहेको छठ पछिल्लो समय देशव्यापी बनेको छ । यस वर्षदेखि सरकारले कार्तिक शुक्ल सप्तमीका दिन पनि सार्वजनिक बिदा दिएको छ । पर्वमा विभिन्न धर्म र समुदायका मानिसको सहभागिता बढ्दै गएको छ ।
धार्मिक जनविश्वासअनुसार छठी माताले सूर्यदेवलाई प्रसन्न पारेपछि यो पर्वको परम्परा सुरु भएको मानिन्छ । महाभारतकालमा पाण्डवहरू अज्ञातवास सफल होस् भनेर सूर्यदेवको आराधनामा जुटेको कथासँग पनि छठ जोडिएको छ । सूर्य पुराणमा अत्रिमुनिकी पत्नी अनुसुयाले सर्वप्रथम छठ व्रत गरेको उल्लेख रहेको धार्मिक विश्वास छ ।
