सुदूरपश्चिम–लुम्बिनी भिडन्त : फाइनल पुग्ने आजै टुङ्गो!

मंसिर १। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनल प्रवेशका लागि आज सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स आमनेसामने हुँदैछन्।

कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अपराह्न ५ बजेदेखि सुरु हुने पहिलो क्वालिफायर खेल दुवै टोलीका लागि फाइनल यात्रा तय गर्ने महत्त्वपूर्ण अवसर हो।

दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम रोयल्स लगातार तेस्रोपटक फाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रिँदैछ। यता लुम्बिनी लायन्स पनि जित निकाल्दै दोस्रोपटक फाइनलमा स्थान सुरक्षित गर्ने योजनामा छ।

गत संस्करणको फाइनलमा सुदूरपश्चिमलाई पराजित गर्दै उपाधि जितेको लुम्बिनीले यस संस्करणको पहिलो भेटमा पनि सुदूरपश्चिमलाई हराएको थियो। त्यसैले आजको खेल सुदूरपश्चिमका लागि अघिल्ला हारको बदला लिने अवसरसमेत बनेको छ।

आजको खेल जित्ने टोली सिधै फाइनलमा प्रवेश गर्नेछ भने पराजित टोलीले उपाधि यात्राको सम्भावना कायम राख्दै एलिमिनेटर विजेतासँग पुनः प्रतिस्पर्धा गर्ने अवसर पाउनेछ।

सुदूरपश्चिमको लक्ष्य पुराना हारको जवाफ दिँदै उपाधि यात्रालाई निरन्तरता दिने छ भने लुम्बिनी आफ्नो जितको लय कायम राख्दै फाइनल पुग्न चाहन्छ। अब क्रिकेटप्रेमीको नजर कीर्तिपुर मैदानमा केन्द्रित भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *