तरकारीको भाउ ८० प्रतिशतसम्म घट्यो, प्याज भने महँगियो!

मंसिर १। पछिल्लो समय बजारमा हरियो तरकारीको मूल्य उल्लेख्य रूपमा घटेको छ। गत वर्षको तुलनामा यस वर्ष केही तरकारीको थोक मूल्य झन्डै ८० प्रतिशतसम्म सस्तिएपछि उपभोक्तालाई केही राहत मिल्ने देखिएको छ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार २०८२ कात्तिक ३० र २०८३ कात्तिक ३० गतेको मूल्य तुलना गर्दा तराईको काउली प्रतिकेजी ८५ रुपैयाँ घटेर १८ रुपैयाँ र स्थानीय काउली ११३ रुपैयाँ घटेर २६ रुपैयाँमा कारोबार भएको छ।

त्यस्तै, हरियो धनियाँको मूल्य प्रतिकेजी ४७५ रुपैयाँबाट घटेर १२५ रुपैयाँमा झरेको छ। गोलभेँडा, सानो तथा ठूलो, भन्टा र रायोसागलगायतका तरकारीको मूल्य पनि गत वर्षको तुलनामा ५० प्रतिशतसम्म घटेको समितिले जनाएको छ।

तर सबै तरकारीको मूल्य भने घटेको छैन। सुकेको प्याजको मूल्य गत वर्ष प्रतिकेजी ३५ रुपैयाँ रहेकामा यस वर्ष बढेर ९० रुपैयाँ पुगेको छ। यसले केही खाद्यवस्तुमा मूल्यवृद्धिको अवस्था कायमै रहेको देखाउँछ।

उच्च मूल्यका वस्तुतर्फ सिताके च्याउ प्रतिकेजी ९५० रुपैयाँबाट घटेर ९०० रुपैयाँ र कुरिलो ९२५ रुपैयाँबाट घटेर ७५० रुपैयाँमा कारोबार भइरहेको छ। राजा च्याउ प्रतिकेजी २९० रुपैयाँ, गुन्द्रुक ३२५ रुपैयाँ र सुकेको माछा ९०० रुपैयाँमा कारोबार भइरहेको छ। रहु माछाको मूल्य सामान्य बढेर प्रतिकेजी ३५५ रुपैयाँ पुगेको समितिले जनाएको छ।

हरियो तरकारीको मूल्य घट्नु उपभोक्ताका लागि सकारात्मक भए पनि थोक र खुद्रा बजारको मूल्य फरक हुन सक्ने भएकाले यसको प्रत्यक्ष लाभ सर्वसाधारणसम्म पुग्नुपर्ने देखिन्छ। बजारमा मूल्य पारदर्शिता, नियमित अनुगमन र उचित मूल्यमा खाद्यवस्तुको उपलब्धता सुनिश्चित गर्नु सम्बन्धित निकायको जिम्मेवारी हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *