मङ्सिर २ । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण अन्तिम चरणमा पुग्दा सहभागी टोलीका कप्तानहरूको व्यक्तिगत प्रदर्शन पनि चर्चामा छ। ब्याटिङ, बलिङ र नेतृत्वमा सुदूरपश्चिम रोयल्सका दीपेन्द्रसिंह ऐरी प्रभावशाली देखिएका छन्।
ऐरीले आठ खेलमा तीन अर्धशतकसहित २०२ रन बनाएका छन्। उनी सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा तेस्रो स्थानमा छन्। बलिङमा पाँच विकेट लिएका उनले टोलीलाई प्लेअफसम्म पुर्याउन महत्त्वपूर्ण योगदान दिएका छन्।
लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले सात खेलमा १२१ रन बनाउनुका साथै चार विकेट लिएका छन्। उनको नेतृत्वमा लुम्बिनी फाइनलमा पुगेको छ। काठमाडौँ गोर्खाजका करण केसीले सात खेलमा आठ विकेट र ८९ रन बनाएका छन्।
चितवन राइनोजका सिकन्दर रजाले पाँच खेलमा ५६ रन बनाउँदा पाँच विकेट लिएका छन्। कर्णाली याक्सका सोमपाल कामीले सात खेलमा १२५ रन र १० विकेट लिएका छन्। डेभिड मिलरले चार खेलमा ११० रन बनाएका छन्।
विराटनगर किङ्सका सन्दीप लामिछानेले सात खेलमा सात विकेट लिए पनि टोली प्लेअफमा पुग्न सकेन। पोखरा एभेन्जर्सका कुशल भुर्तेलले सात खेलमा दुई अर्धशतकसहित २३५ रन र छ विकेट लिएका छन्। कप्तानी सम्हालेका चमिका करुणारत्नेले छ खेलमा ८५ रन र चार विकेट लिएका छन्।
जनकपुर बोल्ट्सका कप्तान हरमित सिंहले सात खेलमा ११ विकेट र ९० रन बनाए पनि टोली अङ्कतालिकाको पुछारमा रह्यो।
एलिमिनेटरमा काठमाडौँ र चितवन भिड्दै
एनपिएलअन्तर्गत आज हुने एलिमिनेटर खेलमा काठमाडौँ गोर्खाज र चितवन राइनोज आमनेसामने हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अपराह्न ५ बजे सुरु हुने खेलको विजेताले क्वालिफायर–२ मा स्थान बनाउनेछ। पराजित टोली प्रतियोगिताबाट बाहिरिनेछ।
काठमाडौँले लिग चरणका सातमध्ये चार खेल जितेको थियो भने चितवनले तीन खेलमा जित, तीनमा हार र एक खेलमा वर्षाका कारण अङ्क बाँडेको थियो। लिग चरणको पहिलो भेटमा काठमाडौँले चितवनलाई १० रनले हराएको थियो।
पहिलो हारको बदला लिँदै क्वालिफायर–२ मा पुग्ने लक्ष्य चितवनको छ भने करण केसीको कप्तानीमा रहेको काठमाडौँ जितलाई निरन्तरता दिने योजनामा मैदान उत्रनेछ।
