मङ्सिर २ । साताको कारोबारका क्रममा बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ११.०५ अंकले घटेर २ हजार ६२५.०५ विन्दुमा झरेको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि घट्दै ४ अर्ब १५ करोड रुपैयाँमा सीमित भएको छ।
बुधबार ३४७ कम्पनीका १ करोड १ लाख ६२ हजार ६०५ कित्ता सेयर किनबेच भएका छन्। कारोबारमा ७० कम्पनीको मूल्य बढ्दा १९९ कम्पनीको घटेको छ भने १० कम्पनीको मूल्य स्थिर रहेको छ।
सानिमा लार्ज क्याप फण्डको मूल्य सर्वाधिक ३.२६ प्रतिशतले बढेर प्रतिइकाइ ९ रुपैयाँ ५१ पैसा पुगेको छ। कुमारी सबल योजनाको मूल्य पनि ३.१७ प्रतिशतले वृद्धि भई ९ रुपैयाँ ४४ पैसा कायम भएको छ।
यस दिन एभरेस्ट कलरको सेयर मूल्य सबैभन्दा धेरै ८.६३ प्रतिशतले घटेर प्रतिकित्ता १ हजार ८० रुपैयाँमा झरेको छ। सयपत्री हाइड्रोपावरको मूल्य ६.६५ प्रतिशतले घटेर ५०५ रुपैयाँ कायम भएको छ।
कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स अग्रस्थानमा रह्यो। कम्पनीको प्रतिकित्ता २ हजार ७३० रुपैयाँका दरले ३२ करोड २४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। सेन्ट्रल फाइनान्सको १८ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये बैंकिङ र म्युचुअल फण्ड समूह बढेका छन् भने बाँकी ११ समूह घटेका छन्। व्यापार समूह सर्वाधिक २.४९ प्रतिशतले ओरालो लागेको छ।
