विश्वभर बर्सेनि एक करोड २० लाख बालिकाको बालविवाह

मङ्सिर ११ । विश्वभर प्रत्येक वर्ष करिब एक करोड २० लाख बालिकाको १८ वर्ष उमेर नपुग्दै विवाह हुने गरेको तथ्य सार्वजनिक भएको छ। बालविवाह तथा जबर्जस्ती विवाह अन्त्यसम्बन्धी पहिलो अन्तर्राष्ट्रिय दिवसका अवसरमा संयुक्त राष्ट्रसङ्घले यस्तो प्रचलन रोक्न विश्वव्यापी प्रयास तीव्र बनाउन आह्वान गरेको छ।

संयुक्त राष्ट्रसङ्घको महासभाले गत सेप्टेम्बर ४ मा प्रस्ताव पारित गर्दै प्रत्येक वर्ष नोभेम्बर २७ लाई बालविवाह, कम उमेर तथा जबर्जस्ती विवाह अन्त्यसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाउने निर्णय गरेको थियो। यस वर्ष पहिलोपटक यो दिवस मनाइँदैछ।

राष्ट्रसङ्घका अनुसार सन् २०२६ सम्म विश्वमा जीवित रहेका करिब ६५ करोड महिला तथा बालिकाको विवाह १८ वर्ष नपुग्दै भएको थियो। विश्वभर प्रत्येक पाँचमध्ये एक बालिकाको बाल्यकालमै विवाह हुने गरेको छ भने प्रत्येक तीन सेकेन्डमा एक बालिका बालविवाहको सिकार हुने गरेको तथ्याङ्क छ।

महासचिव एन्टोनियो गुटेरेसले बालविवाहले लाखौँ बालिकाको शिक्षा, स्वास्थ्य र सुरक्षामा गम्भीर असर पारिरहेको बताउनुभएको छ। गत अक्टोबर ११ मा मनाइएको अन्तर्राष्ट्रिय बालिका दिवसका अवसरमा जारी सन्देशमा उहाँले गरिबीलाई बालविवाहको प्रमुख कारणका रूपमा औँल्याउनुभएको थियो। द्वन्द्व, जलवायुजन्य विपद् र विस्थापनका समयमा यसको जोखिम थप बढ्ने उहाँको भनाइ थियो।

बालिकालाई विद्यालयमा टिकाइराख्ने, परिवारको आर्थिक अवसर विस्तार गर्ने, सामाजिक तथा कानुनी संरक्षण बलियो बनाउने र विभेदकारी लैङ्गिक मान्यता अन्त्य गर्ने प्रयासबाट बालविवाह रोक्न सकिने महासचिव गुटेरेसले उल्लेख गर्नुभएको छ।

उहाँका अनुसार पछिल्लो २५ वर्षमा शिक्षा, सामाजिक संरक्षण र कानुनी सुधारका प्रयासबाट अनुमानित छ करोड ८० लाख बालविवाह रोकिएका छन्। तर, अहिलेको प्रगतिको गति कायम रहे बालविवाह अन्त्य गर्न अझै शताब्दीयौँ लाग्ने उहाँले चेतावनी दिनुभएको छ। बालिकाको अधिकार संरक्षणका लागि सरकार, निजी क्षेत्र, नागरिक समाज र सामुदायिक नेतृत्वलाई प्रभावकारी कार्यक्रम तथा लगानी बढाउन उहाँले आग्रह गर्नुभएको छ।

यसैगरी, राष्ट्रसङ्घीय बालकोष (युनिसेफ)का उपकार्यकारी निर्देशक टेड चाइबानले सन् २०३० सम्म बालविवाह अन्त्य गर्ने लक्ष्य हासिल गर्न वर्तमान प्रयासको गति २० गुणा बढाउनुपर्ने बताउनुभएको छ। उहाँले १८ वर्षलाई विवाहको न्यूनतम उमेर निर्धारण गर्ने कानुनी व्यवस्था, त्यसको प्रभावकारी कार्यान्वयन, न्यायमा पहुँच र संरक्षण सेवाको सुनिश्चिततामा जोड दिनुभएको छ।

विवाह भइसकेका, गर्भवती तथा सन्तान भएका किशोरीलाई पनि शिक्षा निरन्तरता दिन वा पुनः विद्यालय फर्कन सहयोग गर्नुपर्ने राष्ट्रसङ्घको भनाइ छ। साथै, बालिकालाई आफ्नै जीवनसँग सम्बन्धित निर्णय र समाधान प्रक्रियामा सहभागी गराउनुपर्नेमा जोड दिइएको छ।

विश्वमा बालविवाहको सबैभन्दा ठूलो भार दक्षिण एसियाले बेहोर्दै आएको छ। राष्ट्रसङ्घका अनुसार विश्वभर बालविवाहमा परेका महिला तथा बालिकामध्ये ४४ प्रतिशत अर्थात् करिब २८ करोड ५० लाख यस क्षेत्रमा छन्। त्यसपछि उपसहारा अफ्रिकामा १८ प्रतिशत अर्थात् करिब ११ करोड ५० लाख रहेका छन्।

पछिल्लो एक दशकमा विश्वव्यापी बालविवाहको दर १५ प्रतिशतले घटेको छ। यसअघि २५ प्रतिशत महिला तथा बालिकाको १८ वर्ष नपुग्दै विवाह हुने गरेकामा अहिले यो अनुपात घटेर करिब २१ प्रतिशतमा झरेको छ। यस अवधिमा करिब दुई करोड ५० लाख बालविवाह रोकिएको राष्ट्रसङ्घले जनाएको छ।

बालविवाहले बालिकाको शिक्षा, आर्थिक आत्मनिर्भरता र व्यक्तिगत स्वतन्त्रतामा असर पार्नुका साथै किशोरावस्थामै गर्भधारण, मातृस्वास्थ्य जोखिम, लैङ्गिक हिंसा तथा यौन शोषणको सम्भावना बढाउने राष्ट्रसङ्घले उल्लेख गरेको छ।

दिगो विकास लक्ष्यको लक्ष्य नम्बर ५.३ ले सन् २०३० सम्म बालविवाह, कम उमेर तथा जबर्जस्ती विवाहलगायत सबै हानिकारक प्रथा अन्त्य गर्ने लक्ष्य राखेको छ। तर, हालको प्रगतिको गति कायम रहे बालविवाह अन्त्य हुन अझै करिब ३०० वर्ष लाग्ने राष्ट्रसङ्घको आकलन छ।

बालविवाह अन्त्यका लागि कानुनी सुधारसँगै बालिकाको गुणस्तरीय शिक्षामा पहुँच विस्तार तथा सामाजिक र आर्थिक सुरक्षाको व्यवस्था आवश्यक रहेको राष्ट्रसङ्घले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *