नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अस्तित्व रक्षा गर्न एमसिसी र एसपिपी ल्याएको आरोप लगाएका छन्।
विभिन्न देशलाई खुशी पार्न ओलीले भारतसहित विभिन्न देशको संयुक्त संन्य अभ्यासमा नेपाललाई सहभागी गराउन अग्रसर भएको समेत उनले बताएका छन्।
‘हुँदाहुँदा ओलीले आफ्नो अस्तित्व रक्षा गर्न अमेरिकाको एमसिसी र एसपिपी ल्याउनुभयो, त्यसपछि सारालाई खुशी पार्न भारतसहित विभिन्न देशको संयुक्त सैन्य अभ्यासमा नेपाललाई सहभागी गराउन अग्रसरता लिनुभयो,’ उनले भने, ‘त्यसका विरूद्ध हामी जुध्नुपर्ने स्थिति बन्यो।’
एमाले र माओवादी मिलेर बनेको नेकपामा अध्यक्ष ओलीले आफूलाई केन्द्रमा राखेर अहंकार बढाएको पनि नेपालले बताए।
‘म नै राज्य हुँ, मनै पार्टी, म नै राष्ट्र नेता, म नै विचार भनेर उहाँमा अहंकार बढ्यो,’ उनले भने, ‘त्यसपछि पार्टीमा छलफलहरू बन्द भए।’
ओलीको उक्त प्रवृत्तिविरूद्ध जुध्दा आफूलाई हटाउने भए भनेर २-२ पटक संसद विघटन गरेको नेपालले दाबी गरे। सर्वोच्च अदालतको सहारामा एकीकृत कम्युनिष्ट पार्टी विघटित भएको भन्दै उनले संविधान जोगाउन लाग्दा आफुहरूलाई पार्टीबाट निकालेको बताए।
‘सर्वोच्चको सहारामा कम्युनिष्ट पार्टी विघटित भयो, हामी संविधान जोगाउन लाग्यौं,’ उनले भने, ‘यसो गर्दा एमालेबाट हामीलाई निकालियो।’
संविधान खतरामा परेकाले आफुहरूले विद्रोह गर्नुपरेको नेपालको भनाई छ।
पुष्पलाल स्मृति प्रतिष्ठानले सोमबार पोखरामा आयोजना गरेको विचार गोष्ठीमा बोल्दै नेपालले ओलीकै कारण कम्युनिष्ट पार्टी लोकप्रिय हुन नसकेको बताए।
‘नेकपाको दुइतिहाई बहुमत थियो, यति राम्रो अवसर प्रयोग गरेको भए वास्तवमा कम्युनिष्ट पार्टी अत्यन्त लोकप्रिय हुँदै जाने थियो,’ उनले भने, ‘अहिले स्थानीय निर्वाचनमा धेरै सिट हासिल गर्ने थियौं, तर सबै को बाट बिग्रियो त भन्दा एमालेका नेता केपी ओलीबाट।’
अर्को प्रसंगमा नेपालले सत्तारुढ पाँच दलीय गठबन्धनले नेकपा एकीकृत समाजवादीलाई चिन्न नसकेको बताएका छन्। उनले कतिपय ठाउँमा उचित व्यवहारसमेत नभएको बताए।
‘गठबन्धनले एकीकृत समाजवादीलाई नचिनेको पक्कै हो, यसको धेरै ठुलो पिडा छ,’ उनले भने, ‘माओवादीले कतिपय ठाउँमा उचित व्यवहार भएन, विगतको कुरा समिक्षा गरौं, त्रुटी, कमजोरी सुधारौं।’
नेपालले नेपाली कांग्रेसलाई पनि विगतका कमजोरी नदोहोरियोस् भनेको बताए। आउने चुनावसम्म गठबन्धन रहनेसमेत उनले बताएका छन्।
‘गठबन्धन टुट्नेवाला छैन, आउने चुनावमा गठबन्धन हुन्छ,’ उनले भने, ‘जम्मै आफूले लिउँला भनेर सोच्छ भने टुलुटुलु हेरेर बस्दैनौं, आफ्नै शक्तिमा अघि बढ्छौं।’
नेपालले आफ्नै शक्ति बनाउन सक्नुपर्ने भन्दै अघि बढेपछि पार लाग्ने बताए।