सडक पुनः निर्माणमा ३५ कामदार परिचालन

पहिराका कारण बन्द यहाँस्थित बनुवा घुम्तीको पासाङल्हामु मार्ग खुलाउने प्रयास अगाडि बढेको छ । साउन २५ गते रातिको वर्षासँगै आएको भल पानी अनियन्त्रित हुँदा पहिरो गई क्षति पुगेको करिब ४० मिटर भूभाग सडकमा ग्याबिन भर्ने काम छिटो छरितो अगाडि बढिरहेको हो । बीस मिटरभन्दा बढी गहिरो जोखिम स्थानमा संयमतापूर्वक ग्याबिन पर्खाल लगाउनका लागि दैनिक ३५ कामदार परिचालन भइरहेको प्राविधिकले बताएका छन् । हालसम्म चार मिटर ग्याबिन भर्ने काम मात्र सम्पन्न भएको बताइएको छ । नेपाल–चीनबीचको व्यापार व्यवसाय अभिवृद्धि गर्ने सडक मार्ग भएका कारण छिटोछरितो काम अगाडि बढिरहेको छ । ग्याबिन पर्खाल निर्माणमा संलग्न निर्माण व्यवसायी रवीन्द्र बुढाथोकीका अनुसार उक्त मार्ग आगामी आगामी असोज ७ गतेभित्र पूर्णरूपमा सञ्चालन गराइसक्ने लक्ष्यका साथ काम अगाडि बढिरहेको छ ।

 

बनुवा घुम्ती इलाका क्षेत्रको उक्त प्रमुख मार्ग पहिराले क्षति पु¥याएपछि हल्का सवारीसाधन धारापानी, तारुके, बेलचौर आमभञ्ज्याङतर्फको ग्रामीण सडकबाट सञ्चालन गरिएको डिभिजन सडक कार्यालय नुवाकोटले जनाएको छ । ठूला सवारी साधन सञ्चालन हुन नसक्दा उत्तरी क्षेत्रमा दैनिक उपभोग्य बस्तुको अभाव खड्किन थालेको छ । गत साउन २५ गते जनैपूर्णिमा पर्वका अवसरमा पवित्र तीर्थ गोसाइँकुण्ड जाने यात्रुलाई समेत सो पहिराले प्रभावित बनाएको स्थानीय बासिन्दाले बताएका छन् । सडक लड्नुको मुख्य कारण नालीको पानी थुनिरहेको स्थानीय बासिन्दाको भनाइ छ । गुह्रेखोला, भट्टगाउँ, ढाडेखोला समेतबाट एकत्रित भई आएको पानीले भीषण पहिरो आएका कारण नौबिसे क्षेत्रका १८ घर परिवारसमेत प्रभावित भएका छन् । सडकभन्दा केही दूरी तल सयौँ रोपनी धान खेतमा समेत क्षति भएको छ ।

 

वैकल्पिक मार्गका रूपमा बनुवा, चौकेटार हुँदै बोगटीटार तर्फबाट समेत सञ्चालन गराउन सकिने र सो मार्गमा प्रदेश सरकारको अनुदान सहयोगमार्फत ढाडेखोलामा ग्याबिन भर्ने काम अगाडि बढेको उत्तरगया गाउँपालिका–५ का वडाध्यक्ष यमनाथ आचार्यले बताउनुभयो ।

–––

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply