बिरामी अवस्थामा बच्चालाई थप खानामा जोड

टीकापुर, १७ भदौ (रासस) ः कैलालीकी सपना रावलको अहिले ११ महिनाको बच्चा छ । उहाँको बच्चा बिरामी भइरहन्छ । बिरामी अवस्थामा बच्चालाई खाना खुवाउन निकै कठिन हुन्छ । बिरामी हुँदा उहाँको बच्चाले आमाको दूधमात्र चुस्न खोज्छ । “छ महिनासम्म बच्चाले मेरोमात्रै दूध खायो, अहिले दूधसँगै अन्य खानेकुरा पनि खुवाउने गरेकी छु”, सपनाले भन्नुभयो, “बिरामी भएका बेला खान मान्दैन, यस्तो बेलामा बच्चालाई भुलाएर, घरबाहिर चौरमा घुमाएर, चराचुरुङ्गी देखाएर, जनावर देखाएर, बच्चालाई भुलाएर भए पनि खुवाउने गर्छु ।” सपना अन्य बेलाभन्दा बिरामी अवस्थामा बढी खानेकुरा चाहिन्छ भनेर बच्चालाई जसरी भए पनि खानेकुरा खुवाउन जोड दिनुहुन्छ । “म निकै कोसिस गर्छु र खाना खुवाउँछु”, उहाँ भन्नुहुन्छ, “खान्न भनेर लापरवाही गरे बच्चाले खाँदै खान्न, बिरामी अवस्थामा बढी स्याहार चाहिन्छ, त्यसैले अन्य समयभन्दा बढी मेहनत गर्छु ।” त्यस्तै कैलालीको टीकापुरकी पार्वती विकले पनि नातिनीलाई फकाइफकाइ खाना खुवाउनुहुन्छ । पार्वतीले एक वर्षकी नातिनीलाई खाना खुवाउँदा गीत गाउने, आफू नाच्ने गरेर भए पनि खाना खुवाउनुहुन्छ । “नातिनी अहिले बिरामी छ, दाँत निस्कन थालेदेखि नातिनीलाई खासै सञ्चो छैन, बिरामी भएकाले खानै मन गर्दैन”, पार्वतीले भन्नुभयो, “तर पनि भात गिलो बनाई अण्डा, हरियो साग मिसाएर खुवाउने गरेकी छु, बच्चाले मन पराउने खाना बनाएर खुवाउँछु, फकाएर खुवाउँदा अलिअलि खान्छ, पटकपटक फरकफरक स्वादको खाना खुवाउने गर्छु ।” पार्वतीकी बुहारी कल्पना विक बच्चा बिरामी हुँदा पहिले जस्तै गरी खान मन नगर्ने र आफूले दूधसँगै विभिन्न खाने कुरा मिलाएर जाउलो जस्तै गिलो भात बनाएर खुवाउँदा अलिअलि गरी खान मन गरेकाले पटकपटक खुवाउने गरेको बताउनुहुन्छ । “एक्लैले मेहनत गर्दा बच्चाले खान्न, म, सासूआमा र घरका अन्य सदस्य मिलेर खाना खुवाउँछौँ”, उहाँले भन्नुभयो, “बच्चालाई ठोस खानेकुरा पनि चाहिन्छ भनेर उसको खानपानमा ध्यान दिन्छौँ ।” जानकी गाउँपालिकाकी तेतरानी चौधरीको छोरी भर्खर बिरामीबाट तङ्गिँ्रदै छिन् । तेतरानीको छोरीलाई रुघाखोकीसँगै ज्वरो आएको थियो । बिरामी अवस्थामा बच्चाले न दूध खान मन गर्ने न अन्य खाना । पछि महिला स्वास्थ्य स्वयं सेविकाको सल्लाहअनुसार उहाँले पनि जाउलो बनाएर बच्चालाई खुवाउँदा बच्चाले अलिअलि गरी खाएको र पछि सञ्चो हुँदै गएको उहाँ बताउनुहुन्छ । “नानी बिरामी हुँदा खाना खान मानेकै थिएन, एक साताभन्दा बढी दिनसम्म नानीलाई औषधि खुवाउनु प¥यो”, तेतरानीले भन्नुभयो, “बिरामी हुँदा खाना खान मानेकै थिएन, स्वयंसेविका दिदीले खाना खुवाउने तरिका सिकाउनुभयो, पछि त्यसैगरी पकाएर खुवाउन थालेपछि खान्छ ।” त्यस्तै टीकापुरका राकेश शर्माको बच्चा पनि बिरामी भइरहन्छ । बच्चा बिरामी हुँदा उहाँको बच्चाले पनि खानेकुरा खान मन गर्दैन । बिरामी बच्चा स्याहारमा राकेशकी श्रीमती ब्यस्त हुनेहुँदा राकेशले बच्चाको सरसफाइ, बच्चालाई खुवाउने जाउलो, लिटो र जुसजस्ता खानेकुरा बनाइदिने गर्नुहुन्छ । “बिरामी अवस्थामा बच्चा आमासँगै बस्न खोज्छ, यस्तो बेलामा घर र भान्साको काम म गर्छु”, राकेश भन्नुहुन्छ, “मैले सकेको सघाउँछु, बच्चालाई खाना खुवाउने कार्यमासमेत सघाउँछु, त्यसले बच्चाको स्याहार राम्रो हुन्छ ।” बच्चा बिरामी हुँदा कमजोर महसुस गर्छ । बिरामी अवस्थामा बच्चाले आमाको दूधबाहेक अन्य खााना खानै मन गर्दैन । यस्तो बेला घरमै फरकफरक स्वादको खाना बनाएर अलिअलि भए पनि खुवाउनुपर्ने टीकापुर अस्पतालका बालरोग विशेषज्ञ डाक्टर अमरनाथ ठाकुर बताउनुहुन्छ । “बिरामी हुँदा बच्चा थप कमजोर हुन्छ, बिरामी अवस्थामा अझ बढी खानेकुरामा जोड दिनुपर्छ”, डाक्टर ठाकुर भन्नुहुन्छ, “बच्चालाई फकाएर खुवाउनुपर्छ, बच्चाको स्वास्थ्यका लागि अभिभावकले खानपानमा विशेष ध्यान दिनुपर्छ, बच्चाको रुचिअनुसारको खाना पकाएर खुवाउनुपर्छ, यसका साथै सरसफाइमा समेत ध्यान दिनुपर्छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply