साहित्यकारको पलायन र आर्थिक अभावले टिकापुर क्षेत्रमा साहित्यिक गतिविधि ओझेलमा

भजनी १८ भदौ (रासस) ः “एक सुन्दर सहर थियो, पीपल छेउमै वर थियो । न दोष तिम्रो, न दोष मेरो, दोषी त हाम्रो नजर थियो ।” यो गजल अहिले पनि निकै लोकप्रिय छ । केही वर्ष पहिले हरेक साहित्य कार्यक्रममा होस् वा साङ्गीतिक कार्यक्रममा यसले मुख्य स्थान पाउने गरेको थियो । कैलालीको टीकापुर नगरपालिका–१ का धीरज शाही ‘त्रिवेणी’ को निकै चर्चित गजल मध्येको गजलको एक शेर हो यो । जुनु रिजालको स्वरमा रहेको यो जगल निकै लोकप्रिय छ । चर्तित गजलकारको छवि बनाउनुभएका धीरजका यस्ता दर्जनौँ गजल छन् । जसले कुनै समयमा यस क्षेत्रमा आयोजना हुने साहित्य वाचन कार्यक्रममासमेत निकै चर्चा हुने ग¥थ्यो । अहिले समय निकै परिवर्तन भएको छ । पछिल्लो चार÷पाँच वर्षको अन्तरालमा टीकापुर क्षेत्रमा साहित्य सम्बन्धीत कार्यक्रम हुन सकेका छैनन् । “हामीले कलम चलाउने बेला टीकापुरलाई गजलको राजधानी नै भन्ने गरिन्थ्यो । दैनिक रचना सुन्ने र सुनाउने कार्यक्रम हुन्थ्ये । युवामा पनि साहित्यको रस बसिसकेको थियो”, धीरजले भन्नुभयो, “अहिले साहित्यका कार्यक्रम शून्य भएका छन् । लेखन पनि हराएको छ । कैयौँ साहित्यप्रति चासो भएका युवा राजधानी केन्द्रित हुँदा पनि साहित्यिक कार्यक्रमले गति लिन नसकेको हो ।” देवकोटा साहित्य कला परिवारका अध्यक्ष बलबहादुर रावलले साहित्य क्षेत्रमा साहित्यकारले जागर देखाउनै छोडेको बताउनुभयो । साहित्यमा रुचि भएका युवा प्रायः बाहिर पलायन हुनु र पुराना साहित्यकारले जागर चलाउन छोड्नुले पनि साहित्यिक गतिविधिमा कमी आएको अध्यक्ष रावल बताउनुहुन्छ । “समय सधैँ एकैनासको नहुँदो रहेछ । कुनै बेला कार्यक्रममा भ्याइनभ्याइ हुन्थ्यो । अहिले कार्यक्रम खोज्नुपर्ने अवस्था छ”, रावलले भन्नुभयो, “नयाँ पुस्तामा रुचि नहुनु, बीचको पुस्ता पलायन हुनु र पुरानो पुस्ताले जागर नचलाउनुले साहित्य क्षेत्र ओझेलमा पर्ने सम्भावना बढेको छ ।” कैलालीको लम्कीमा रहेको अक्षर साहित्य प्रतिष्ठानले स्रष्टा आँगन तथा सम्मान कार्यक्रम गर्दै आएको थियो । महिनाको एक दिन स्रष्टाकै आँगनमा साहित्यिक कार्यक्रम आयोजना गर्ने र सम्मान कार्यक्रम गर्दै आएको प्रतिष्ठानले अहिले त्यसलाई निरन्तरता दिन सकेको छैन । आर्थिक अभावका कारण कार्यक्रमलाई निरन्तरता दिन नसकिएको प्रतिष्ठानका अध्यक्ष धनराज अविरल बताउनुहुन्छ । “कार्यक्रम खर्चिलो हुन थाल्यो । आफैँले पैसा सङ्कलन गरेर कार्यक्रम सञ्चालन गर्नसक्ने अवस्था रहेन”, अध्यक्ष अविरलले भन्नुभयो, “कार्यक्रमका लागि आर्थिक जोहो नभएकै कारण निरन्तरता दिन सकिएको छैन । सहयोग कतैबाट पाइँदैन । आफ्नो खर्चले धेरै दिन धान्न सकिएन ।” सरकारले पनि कला र साहित्यलाई त्यति सकारात्मकरुपमा लिन नसकेको बताउँदै अविरलले युवा पनि साहित्यबाट विमुख हुँदै गएको बताउनुभयो । धेरै युवा साहित्यकार विस्थापितको बाटोमा पुगेको उहाँको भनाइ छ । शिक्षक तथा साहित्यकार कान्तिप्रसाद ज्ञवालीले पुरानाले नयाँलाई साहित्य संस्था हस्तान्तरण गर्न नसक्नु पनि साहित्यिक क्षेत्रका गतिविधिमा कमी आउनुको मुख्य कारण भएको बताउनुहुन्छ । कार्यक्रममा पनि नयाँ स्रष्टालाई सहभागी गराउन नसक्नु अर्को कमजोरी भएको बताउँदै ज्ञवालीले यहीँ अवस्था रहे भोलि स्थानीयस्तरमा साहित्यकार खोज्नुपर्ने बेला आउन सक्ने बताउनुभयो । “कार्यक्रम हुन्थे । रेडियो पत्रपत्रिकाबाट साहित्यिक कार्यक्रम सुन्न र पढ्न पाइन्थ्यो । अहिले त्यो पनि हरायो”, ज्ञवालीले भन्नुभयो, “कोरोना सङ्क्रमण फैलिएपछि अलिअलि हुने कार्यक्रम पनि शून्य भए । साहित्यकारको जमघट हुन छोड्यो ।” युवा साहित्यकार अवसरको खोजी गर्दै बाहिर पलायन हुनु र आर्थिक जोहो हुन नसकेकै कारण यस्ता कार्यक्रम सुस्ताएको युवा साहित्यकार बाबु देवकोटा बताउनुहुन्छ । “खल्तीबाटै खर्च गरेर सधैँ कार्यक्रम गर्न सकिँदैन । सहयोग गर्ने निकायले पनि आफू अनुकूलका संस्थालाई सहयोग दिनु, त्यो बजेट औपचारिकतामै सीमित हुनुले पनि साहित्यिक माहोल सुस्ताएको छ”, देवकोटाले भन्नुभयो, “यस्तै अवस्था रहे यो क्षेत्र निकै ओझेलमा पर्छ भन्ने चाहिँ छ । हिजो दैनिक दुईतीनवटा रचना सम्पादन हुन्थे भने अहिले वर्ष पुग्दा पनि त्यसतर्फ ध्यान छैन ।” पत्रकार दुर्गाप्रसाद भण्डारीले साहित्यको विकासमा लागिपरेका संस्थाले साहित्यकारलाई नै समेट्न नसकेको बताउनुभयो । सीमित व्यक्तिलाई कार्यक्रममा समावेश गर्नु र युवालाई कार्यक्रममा स्थान नदिनुले यसप्रतिको आकर्षण हराएको उहाँको भनाइ छ । टीकापुरमा रहेको सामुदायिक पुस्तकालयले साहित्य वाचन कार्यक्रममा महत्वपूर्ण भूमिका खेल्दै आएको थियो । अहिले पुस्तकालयको नेतृत्व त्यस्ता कार्यक्रमबाट पन्छिएको छ । कुनै साहित्य दिवसको अवसरमा पुस्तकालयमा कार्यक्रम हुने गर्थे । अहिले ती कार्यक्रमले निरन्तरता पाउन सकेका छैनन् । “कोरोनाको कारण हामी सुस्ताएका थियौँ । अब जाग्छौँ”, पुस्तकालय व्यवस्थापन समितिका सचिव देवेन्द्र शाहाले भन्नुभयो, “अब टीकापुरमा एउटा साहित्य सम्मेलन नै आयोजना गरी देशैभरमा साहित्यकारलाई टीकापुर ल्याउने भूमिका पुस्तकालयले खेल्छ ।”—

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply