नागरिकता विधेयक प्रमाणीकरणका लागि आजै राष्ट्रपति कार्यालय पठाउने तयारी

काठमाडौ । काठमाडौ सभामुख अग्नि सापकोटाले नागरिकता ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरणका लागि दोस्रो पटक राष्ट्रपति कार्यालय पठाउने तयारी गरेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारी प्रतिनिधि सभा र राष्ट्रिय सभाले पारित गरेर प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयक गत साउन २९ गते फिर्ता गरिदिएकी थिइन्। राष्ट्रपति भण्डारीले नागरिकता विधेयक फिर्ता गर्दा संघीय संसदसमक्ष जानकारी, अध्यक्ष र विर्मशका लागि ७ बुँदे र ध्यानाकर्षणका भन्दै अर्को ८ बुँदे सन्देश पठाएकी थिइन्।

राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता गरे पनि प्रतिनिधि सभा र राष्ट्रिय सभाले विधेयकमा कुनै परिवर्तन गरेन।

प्रतिनिधि सभाले भदौ २ गते राष्ट्रपतिले फिर्ता पठाएको विधेयक जस्ताको तस्तै पारित गरेको थियो।

त्यस्तै राष्ट्रिय सभाले पनि भदौ १७ गते विधेयक जस्ताको तस्तै पारित गरेको थियो। राष्ट्रिय सभाले पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा पठाए पनि विधेयक कुनै परिवर्तन भएन।

राष्ट्रिय सभाले विधेयक पारित गरेको जानकारी भदौ १९ गते प्रतिनिधि सभालाई पठाएको थियो। राष्ट्रिय सभाको सन्देश प्राप्त भएलगत्तै आजै सभामुख अग्नि सापकोटाले विधेयक राष्ट्रपति कार्यालयमा पठाउने तयारी गरेको हो।

‘पुर्नविचारका लागि विधेयक फिर्ता आएकोमा दुवै सदनले प्रस्तुत रूपमा नै पारित गरेको हुनाले प्रमाणीकरणका लागि पेश गरेको छु’ भनेर पत्र हामीले तयार पारेर सभामुखलाई दिएका छौं’, प्रतिनिधि सभाको विधेयक शाखाका उपसचिव नारायण ढकालले सेतोपाटीसँग भने, ‘सभामुखले प्रमाणीत गरे लगत्तै हामी राष्ट्रपति कहाँ प्रमाणीकरणका लागि पठाउँछौं।’

संविधानको धारा ११३ मा राष्ट्रपतिले विधेयक पुनर्विचारका लागि संघीय संसदमा फिर्ता पठाउन सक्ने व्यवस्था छ। तर पुनर्विचारका लागि फिर्ता भएको विधेयक प्रस्तुत रूपमा वा संशोधनसहित पारित गरी पुन पेश गरेपछि राष्ट्रपतिले १५ दिनभित्र प्रमाणीकरण गर्नेपर्ने व्यवस्था संविधानकै धारा ११३ को उपधारा ४ मा छ।

राष्ट्रपतिले विधेयक प्रमाणीकरण गरेपछि त्यसले ऐनको स्वरूप लिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply