शेखर कोइरालाको अडान- कांग्रेसको बहुमत आउने गरी तालमेल, जित्नेलाई विना भेदभाव टिकट

जनकपुरधाम । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सत्तारूढ गठबन्धन एकदमै विचित्रको रहेको बताएका छन् । प्रेस युनियन केन्द्रीय समितिले बीपी जयन्तीका अवसर पारेर धनुषाको जनकपुरधाममा आयोजना गरेको विचार गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘हामी गठबन्धनमा छौं । गठबन्धन एकदमै विचित्रको छ । हामी प्रजातान्त्रिक विचार राख्छौं । गठबन्धनमा भएका कुनै दलसँग हाम्रो विचार मिल्दैन,’ उनले भने, ‘तर पनि नेकपा एमालेले संविधान असफल बनाउन खोजेकोले गठबन्धन गर्नुपरेको हो ।’

गठबन्धन पवित्र हो कि अपवित्र भन्ने कुराको जवाफ चुनावले दिने उनले बताए ।

‘सिद्धान्त नमिल्ने दलहरूसँगको गठबन्धन पवित्र हो कि अपवित्र हो । म भन्न सक्दिनँ । चुनावपछि मात्रै भन्न सकिन्छ,’ कोइरालाले भने ।

चुनावमा कांग्रेसको बहुमत महत्वपूर्ण रहेको बताउँदै नेता कोइरालाले कांग्रेसको केन्द्रीय समितिले एकल बहुमत आउने गरी तालमेल गर्ने निर्णय गरेको सम्झिए ।

उनले भने, ‘तालमेल मात्रै होइन कांग्रेसको बहुमत आउने कुरा पनि हाम्रा लागि महत्वपूर्ण हो । त्यसका लागि कम्तीमा एक सय सीट कांग्रेसले लिनुपर्छ ।’

चुनाव जितेर सरकार बनाउन मात्रै गठबन्धन गर्नु राम्रो नभएको उनको भना छ ।

फरक प्रसंगमा कोइरालाले आफूहरू गुटको राजनीति नगर्ने बताए । अहिले गुटको कुरा नगरेर कांग्रेस जिताउनु नै प्रमुख लक्ष्य हुनुपर्ने उनको प्रष्टोक्ति छ ।

‘हामी कुनै गुटको राजनीति गर्दैनौं । गुटको राजनीति जतिबेला गर्नुपर्ने हो त्यतिबेला गरौंला,’ उनले भने, ‘तर, अहिले कांग्रेसलाई चुनाव जिताउनुपर्ने छ । त्यसका लागि चुनाव जित्न सक्ने नेतालाई विनाभेदभाव टिकट दिनुपर्छ । टिकट वितरण न्यायोचित हुनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply