दार्चुला : शुक्रबार रातिदेखि परेको अविरल वर्षाले जिल्लाको सदरमुकाम स्थित खलङ्गाकाे बंगाबगड क्षेत्रमा जनधनको ठूलो क्षति पुर्याएकाे छ । बाढी र पहिरोले दार्चुलामा ठूलो जनधनको क्षति गरेको छ । महाकाली नगरपालिका र नाैगाड गाउँपालिकामा बढि क्षति भएकाे छ । पहिरोमा परेर नौगाडमा दुई जनाको मृत्यु भएकाे छ ।महाकाली नगरपालिकाकाे सदरमुकाम नजिकको डुङरीमा चार जना बेपत्ता छन् भने साेहि ठाउकाे बांगाबगडमा एउटा विद्यालयसहित दर्जन बढि घर बगेका छन्।शुक्रबार राती १२ बजेबाट आएको बाढीले सदरमुकाम र जिल्लाका अन्य क्षेत्रहरुमा ठूलो जनधनको क्षति गरेको हो ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक लोकेन्द्र सिंहका अनुसार जिल्लाको नौगाड गाउँपालिकाको सल्लामा १५ वर्षीया मानमती ठगुन्ना र ३० वर्षीय चिमडे ठगुन्नाको मृत्यु र पाँच जना घाइते भएका छन्। त्यसमध्ये दुई जनाको अवस्था गम्भीर भएकाले उद्धारका लागि हेलिकोप्टर मगाइएको छ ।
प्रहरी निरीक्षक सिंहका अनुसार सदरमुकाम नजिकको लास्कु खोला र महाकाली नदीमा आएको बाढीले ठूलो क्षति गरेको हो
बाढीले ७ वटा जिप पनि बगाएको छ। लास्कु खोलाको पुल बगेको छ। ‘खोला पारि जान सकिने अवस्था छैन्,’ प्रहरी निरीक्षक सिंहले भने, ‘त्यहाँ के कति जनधनको क्षति भयो ? त्यसको विवरण संकलन गर्न सकिएको छैन् । ‘ याे संगै ब्यास गाउँपालिका र दुहु गाउँपालिका सहित महाकालि नगरपालिकाकाे केही क्षेत्रकाे खलंङ्गा बजार सितकाे बाटाेकाे सम्पर्क टुटेकाे छ ।महाकाली नदि र लास्कु खाेलाको दोभान नजिक भारततर्फ पहिरो गएकाले नदी साँघुरिदा बढी क्षति भएको स्थानीयले बताएका छन्। प्रहरीले क्षतिको पूर्ण विवरण अझै संकलन गर्न नसकिएको र सबै जना उद्धारमा जुटेको जनाएको छ । २०७० सालको बाढीले तहसनहस भएको दार्चुला सदमुकाममा ७० साल यताकाे शुक्रबार ठूलो बाढी आएको हो । स्थानीयले उद्धार र राहतका लागि आग्रह गरिरहेका छन्। बिहानै देखि पानी पर्न छाेडे पनि उक्त क्षेत्रमा नदिले अझै कटान गरिरहेको छ। जिल्ला प्रशासन कार्यालयले सबैलाई सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ।