काठमाडौं । ‘प्रेमगीत ३’ले नेपाली बक्सअफिसमा आक्रामक ओपनिङ गरेको छ । मुलुकका डेढसय पर्दाबाट रिलिज भएको फिल्मले शुक्रबार दुई करोड रुपैयाँ ग्रस हारहारीमा कमाइ गरेको छ ।
काठमाडौं उपत्यकाका हलमा मात्र फिल्मले एक करोड ग्रसभन्दा बढी कमाइ गरेको विवरण उल्लेख छ । पहिलो दिनको देशब्यापी अकुपेन्सी ७० देखि शतप्रतिशत थियो ।
‘प्रेमगीत ३’को ओपनिङ ‘कबड्डी ४’पछिको दोस्रो उच्च ओपनिङ हो । ‘कबड्डी ४’ले पहिलो दिन २ करोड ९० लाख ग्रस ओपनिङ गरेको थियो । ‘छक्कापञ्जा २’को ओपनिङ १ करोड ८० लाख थियो ।
‘प्रेमगीत ३’को ओपनिङ अहिलेसम्मकै दोस्रो सर्वाधिक उच्च ओपनिङ भएको वितरकहरुले जनाएका छन् । वितरक मनोज राठीले पनि दुई करोडभन्दा केही बढी ओपनिङ फिल्मले गरेको बताए ।
यसैबीच, ‘प्रेमगीत ३’को हिन्दी संस्करणले भारतीय बक्सअफिसमा ९२ लाख भारु नेट कलेक्सन (नेपाली झन्डै डेढकरोड रुपैयाँ) ओपनिङ गरेको तरण आदर्शले जनाएका छन् ।
‘भारतको ओपनिङ नेपाली फिल्मका लागि ठूलो उपलब्धी हो’ वितरक राठीले भने, ‘यसले सुखद संकेत गरेको छ ।’
नेपालमा दोस्रो दिन शनिबार फिल्मको नेपाली संस्करणको कमाई २ करोडभन्दा बढी हुने अनुमान गरिएको छ ।