हेमा भट्ट
कञ्चनपुर – कृष्णपुर नगरपालिकाको महिला कबड्डी टिम अन्तर पालिका जिल्ला स्तरिय महिला कबड्डी प्रतियोगितामा सहभागी हुनका लागि आज महेन्द्रनगर प्रस्थान गरेको छ। यस अवसरमा नगर प्रमुखले टिमका सम्पूर्ण सदस्यहरूलाई अग्रिम शुभकामना दिँदै सफलताको कामना गरेका छन्।
महिला सशक्तिकरण, खेलकुदमा महिलाको सहभागिता र स्थानीय स्तरमै प्रतिभा पहिचान गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा कृष्णपुर नगरपालिका प्रतिनिधित्व गर्दै महिला टिम सहभागी हुन लागेको हो।
नगरप्रमुखले खेलाडीहरूलाई विदाई गर्दै भने, “हामी आशावादी छौं कि हाम्रो टिमले उत्कृष्ट प्रदर्शन गर्नेछ। तपाईंहरूले खेलको माध्यमबाट नगरपालिका मात्र होइन, सम्पूर्ण सुदूरपश्चिमको गर्व बढाउनुहुनेछ।”
नगरपालिकाले खेलाडीहरूको यात्रा, बसोबास र अन्य व्यवस्थापनमा आवश्यक सहयोग उपलब्ध गराएको छ। खेलाडीहरू पनि निकै उत्साहित देखिएका थिए। उनीहरूले राम्रो तयारीका साथ मैदानमा उत्रिने प्रतिबद्धता व्यक्त गरेका छन्।
यस प्रकारका प्रतियोगिताले स्थानीय तहमा महिला खेलकुदको प्रवर्द्धन मात्र नभई सहकार्य, आत्मबल र अनुशासनको विकासमा समेत टेवा पुर्याउने विश्वास नगरपालिकाले लिएको छ। कृष्णपुर नगरपालिकाको तर्फबाट सम्पूर्ण सहभागी खेलाडीहरूलाई हार्दिक बधाईका साथ सफलताको शुभकामना!