कैलाली । कैलालीको क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसले दाबी गरेको छ । गठबन्धनका तर्फबाट माओवादी केन्द्रले पाउने सम्भावना बढेपछि पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिन यहाँको एक टोली काठमाडौँ पुगेको छ ।
जिल्ला उपसभापति भीम बडुवाल, खेमराज चौधरी, क्षेत्रीय सभापति रिता चौधरी, घोडाघोडी नगर सभापति बम बहादुर सिंह, लगायतका नेताहरू क्षेत्र माग गर्न काठमाडौँ पुगेका छन् । यहाँबाट पार्टीका नेताहरू मात्र होइन कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि पनि क्षेत्र माग गर्न काठमाडौँ पुगेका हुन् ।
घोडाघोडी नगरपालिकाकी उपप्रमुख गुलिया चौधरी सहितका वडाध्यक्षहरू काठमाडौँ पुगेका हुन् । यहाँका १२ मध्ये ९ वडा नेपाली कांग्रेसले जितेको छ । अहिले ७ जना वडाध्यक्ष दाबी गर्न पुगेका छन् । केही दिन अघि देखी काठमाडौँ पुगे पनि अहिले सम्म टोलीले प्रधानमन्त्रीलाई भेट्न पाएको छैन ।
‘भोलि बिहान सम्म भेट होला, अहिले सम्म भेट भएको छैन’ टोलीमा रहेका एक कांग्रेस नेताले भने, ‘हामीले यहाँ हाम्रो क्षेत्र हामीले पाउनु पर्छ भनेर आएका हौँ ।’ उनका अनुसार प्रधानमन्त्री तथा पार्टी सभापतिसँगको भेटमा एक प्रतिनिधि सभा र एक प्रदेश सभामा दाबी गर्न गर्ने जनाइएको छ ।
यहाँ प्रतिनिधि सभामा कांग्रेसबाट भीम बडूवाल,खेम चौधरी र गोविन्द राज जोशीको नाम सिफारिस भएको थियो ।
अघिल्लो पटको प्रतिनिधि सभा निर्वाचनमा यहाँ कांग्रेस राम जनम चौधरी ४ हजार ४ सय मतले पराजित भएका थिए । तत्कालीन अवस्थामा माओवादी केन्द्रका गौरीशङ्कर चौधरीले जितेको कारण यहाँ अहिले माओवादी केन्द्रले सशक्त दाबी गरिरहेको छ । तर, घोडाघोडी नगरपालिकाको मेयरमा पनि नेकपा एकीकृत समाजवादीलाई सहयोग गरेको भन्दै यस पटक प्रतिनिधि सभामा कांग्रेसले दाबी गरिरहेको हो ।