आईफोनः एपल कम्पनीद्वारा भारतमा आईफोन १४ को उत्पादन सुरु, के अब सस्तो होला

प्रविधि कम्पनी एपलले भारतमा आईफोन १४ बनाउन थालिएको बताएको छ। उसले चीनबाट आफ्नो आपूर्तिको सञ्जाल बाहिर लैजान खोजिरहेको छ। एपलले आफ्ना अधिकांश फोन चीनमा उत्पादन गर्छ। तर संयुक्त राज्य अमेरिका र बेइजिङबीच तनाव बढेकाले उक्त कम्पनीले केही उत्पादन चीनबाहिर गर्न थालेको छ।

चीनमा लागु गरिएको ‘शून्य कोभिड’ नीतिका कारण व्यापक लकडाउन हुँदा महामारीका बेला व्यापार पनि नराम्ररी प्रभावित भएको थियो।

एपलले केही साताअघि आईफोनको नयाँ संस्करण बजारमा ल्याएको हो।

“नयाँ आईफोन १४ मा नवीनतम प्रविधिहरू र महत्त्वपूर्ण सुरक्षा क्षमता छन्। हामी भारतमा आईफोन १४ उत्पादन गर्न उत्साहित छौँ,” एपलले एउटा विज्ञप्तिमा भनेको छ।

ताइवानमा आधारित फक्सकन कम्पनीले एपलका अधिकांश फोनहरू निर्माण गर्दै आएको छ। उक्त कम्पनीले दक्षिण भारतको तमिलनाडुमा सन् २०१७ देखि आईफोनका पुराना संस्करणका ह्यान्डसेट बनाउँदै आएको थियो। तर अब एपलले आफ्नो नयाँ उत्पादन आईफोन १४ भारतमै बनाउन खोजेको छ।

के आईफोन अब सस्तो हुन्छ?

भारतमा आउँदा एपलले आफ्नो बजार बढाउने उद्देश्य पनि राखेको छ। गत वर्षसम्म भारतको बजारमा आईफोनको हिस्सा चार प्रतिशत मात्र थियो। उक्त अमेरिकी कम्पनीले सस्ता स्मार्टफोनसँग प्रतिस्पर्धा गर्नुपरेको छ। भारतको मोबाइल बजारमा चीन र दक्षिण कोरियामा उत्पादित सस्ता फोनहरू निकै लोकप्रिय छन्।

भारतमा उत्पादन गरिए पनि आईफोनको मूल्यमा कुनै अन्तर भने पर्नेछैन। आईफोनका अवयवहरू आयात गर्न लाग्ने चर्को शुल्क र अन्य करका कारण आईफोनको मूल्य नघट्ने देखिन्छ। भारतीय प्रयोगकर्ताहरूले आईफोनमा अब ‘मेड इन इन्डिया’ देखे पनि आईफोन किन्न ठूलो रकम तिर्नुपर्नेछ।

भारतलाई कस्तो फाइदा?

भारतमा आईफोन उत्पादन बढ्ने घोषणालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारको उपलब्धिका रूपमा लिइएको छ। आठ वर्षअघि मोदी सरकारले “मेक इन इन्डिया” अभियान सुरु गरेको थियो। त्यसअन्तर्गत भारतमा हुने उत्पादन र भारतबाट हुने निर्यात बढाउने उद्देश्य राखिएको थियो।

ताइवान र व्यापारको विषयमा अमेरिका र चीनबीच तनाव बढ्दै गर्दा चीनबाट हुने आपूर्ति प्रभावित हुनसक्ने आकलनसहित एपलले आफ्नो कारखाना अन्यत्र सार्न यो घोषणा गरेको हो। लगानी ब्याङ्क जेपी मोर्गनका विश्लेषकहरूले आईफोनले आफ्नो पाँच प्रतिशत उत्पादन यो वर्ष भारतमा सार्ने अपेक्षा गरिएको बताएका छन्। यो महिना प्रकाशित एउटा प्रतिवेदनमा उनीहरूले सन् २०२५ सम्ममा आईफोनको २५ प्रतिशत उत्पादन भारतमा हुने पूर्वानुमान गरेका छन्।

गत वर्ष एपलको आपूर्तिकर्ता फक्सकनले भियतनाममा १.५ अर्ब डलर लगानी गरेको भियतनाम सरकारले जनाएको छ। गत महिना भियतनामको सरकारी सञ्चारमाध्यमले जनाएअनुसार एपल कम्पनीले देशको उत्तरी भेगमा अवस्थित आफ्नो कारखाना विस्तार गरेर उत्पादन बढाउन २० करोड डलरको एउटा सहमतिमा हस्ताक्षर गरेको थियो।

नयाँ आईफोनमा के छ?

एपलले आफ्नो नयाँ फोन दुईवटा आकारमा ल्याएको छ। ती आईफोन १४ र आईफोन १४ प्लस हुन्। आईफोन १४ मा भू-उपग्रहसँगको सम्पर्क सञ्जाल र कार दुर्घटना भएको पत्ता लगाउन सक्ने प्रविधि जडान गरिएको छ।

नयाँ हेडसेटमार्फत् भूउपग्रहको माध्यमबाट आपत्कालीन सहयोगको माग गर्दै कल गर्न सकिन्छ। फोनले आकाशमाथि रहेको भू-उपग्रहको अवस्था देखाउँछ र कसरी ठिक ढङ्गले तीसँग सम्पर्क स्थापित गर्ने भन्ने पनि निर्धारण गर्छ। एउटा साधारण सन्देश पठाउन १५ सेकेन्डदेखि केही मिनेटसम्म लाग्न सक्छ।

नयाँ आईफोनमा १२ मेगापिक्सलको क्यामरा पनि छन्। त्यसले द्रुत गतिमा चलिरहेका वस्तुहरूको पनि तस्बिर खिच्न सक्छ। एपल कम्पनीले कम प्रकाशमा तस्बिर खिच्ने क्षमता ४९ प्रतिशतले वृद्धि भएको दाबी गरेको छ। अगाडिको क्यामरामा पहिलो पटक अटोफोकस राखिएको छ त्यसले अझ राम्रो सेल्फी खिच्न सक्छ।

डाइनामिक आइल्यान्ड भनिने एउटा फीचरले कस्तो नोटिफिकेशन आउँछ त्यसअनुसार आफ्नो आकार बदल्न सक्ने भनिएको छ। नचलाएको बेला फोनको स्क्रीन मधुरो हुन्छ र एप्लिकेशनहरू रिफ्रेश हुने दर घट्छ। फोनको सेट गाढा बैजनी, कालो, चाँदीजस्तो र सुनौलो रङ्गमा पाइन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply