१) पृष्ठभूमि:
नेपाली राजनीतिकाे इतिहास विविध उतारचढावका घुम्तीहरू छिचोल्दै, अघि बढ्दै अाएकाे स्मरण जगजाहेर छ । सामान्यतया मान्छेका इच्छा चाहना असीमित नै हुने गर्दछन। तर तिनलाई समाधान गर्ने स्राेत साधन भने सीमित हुन्छ । परन्तु राजनीतिक जीवन राेजेका मान्छे(कार्यकर्ता) का इच्छा अाकांक्षा त असीमित मात्रै नभइ झन महत्वकांक्षी पनि हुने गर्दछन । जसरी एउटा सिकर्मी(कारपेन्टर) ले रूख हेर्दा/देख्दाखेरी त्यसलाई मात्रै रूखको रूपमा बुझ्दैन, बल्कि त्यो रूखमा झ्याल, ढाेका, खाट, कुर्सी, टेबुल लगायतका फर्निचर सामाग्री पनि देख्दछ । ठिक त्यसैगरी विभिन्न राजनीतिक दलका नेता/कार्यकर्ताहरूले पनि कहिलेकाहीँ नेता/कार्यकर्ताकाे स्तरबाट माथि उठेर, समसामयिक समय परिस्थिति अनुरूप अाफुलाई वडाअध्यक्ष, नगरप्रमुख, सांसद, मन्त्री भएको देख्नु वा हुन/बन्न प्रयत्न गर्नुलाई सामान्यतया अस्वभाविक मान्न सकिदैन । हरेक कालखण्डमा केही युग व्यक्तित्वहरूले मात्रै राजनीतिक इतिहासकाे अभिभारालाई निर्वाध र नियमित रूपमा धान्न सकेको विरलै भेटिन्छ र भेटिएको छ । हरेक मान्छेकाे जीवनलाई बरकरार राख्नका लागि संघर्ष अनि मानवीय चेतनाको विकाससंगै उसको सामाजिक/राजनीतिक चेतनाको पनि तदअनुरूप विकास हुन जरुरी हुदाे रहेछ । जसको एक्सपरिमेन्ट मैले पनि भरखरै सम्पन्न भएको स्थानीय तहको निर्वाचन-२०७९ मा गरें तर सफल हुन सकेन ।
२) पार्टी परित्याग बाध्यता वा स्वतन्त्रता ?
अहिलेकाे लाेकतान्त्रिक वाक स्वतन्त्रताको परिवेशमा कुन व्यक्तिले कुन दल राेज्ने वा त्याग्ने कुरा उसको नितान्त निजी कुरा हाे । कुनै पनि राजनीतिक पार्टीकाे निर्माण, पार्टी अाबद्धता वा बहिर्गमन सामान्यतया चलि नै रहन्छ । भनिन्छ; राजनीति र प्रकृतिले अभावकाे खासै सामना गर्नु पर्दैन । यसै क्रममा २०७९ साल बैशाख १० गते नेकपा(माअाेवादी केन्द्र) लाई सामाजिक सञ्जाल फेसबुकबाट परित्याग गरेको घाेषणा गरेर, वेदकाेट न.पा. वडा नं.४ काे वडा अध्यक्ष पदमा उम्मेदवार भई निर्वाचन लडेर पराजित पनि भइयो । चुनावमा उम्मेदवार भएर लड्नु भनेको कुनै सांस्कृतिक/धार्मिक जात्रा वा मेलामा भाग लिनु जस्तै सहज थिएन र छैन पनि । कहिलेकाहीँ राजनीतिक जीवनमा यस्तो पनि माेड/घुम्ती अाउदाे रहेछ कि न माेड्न सकिने, न अगाडि जान सकिने, नत पछाडि नै फर्किन सकिने । चुनाव लड्छु भन्दा टिकट नपाउने अनि चुनावमा सघाउछु भन्दा विश्वास (अाशंका हुने)नहुने, हाे यस्तै खालको परिस्थिति मेरा लागि पनि सृजना भयो पार्टीमा । फलस्वरूप बाध्यताले पार्टी परित्याग गरेर स्वतन्त्र हुनु पर्याे । तसर्थ स्वतन्त्र हुनु मेरो किमार्थ पनि रहर नभई बाध्यता थियोे ।
३) स्वतन्त्रता कायम र नेपाली समाजको दृष्टिकोण:
सामान्यतया अाफुलाई स्वतन्त्र घाेषणा गर्न जति सजिलो छ त्योभन्दा हजारौं गुणा अाफुलाई स्वतन्त्र भएको कायम गर्न र अाम जनमानसमा बुझाउन गाह्रो छ । अनि राजनीतिक दलमा लागेको मान्छेले स्वतन्त्र हुन अझ गाह्रो छ, झन माअाेवादीहरूले स्वतन्त्र हुनु भनेको त शेरकाे सवारी गर्नु सरह नै छ । जहाँ सवारी गर्न गाह्रो अनि उतर्न त झन गाह्रो हुने गर्दछ । अन्तर मनबाट स्वतन्त्र भएपनि वा हुन खाेजेपनि माअाेवादी ट्याग(जनयुद्ध, गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता, समानुपातिक/समावेशीकरण पद्धति)ले अटाेमेटिक छेकिदिन्छ स्वतन्त्र हुन।
मैले अाम मान्छे जस्तै अाफु स्वतन्त्र भएको प्रमाणित गराउन सकिन वा स्वतन्त्रता पूर्वक अाम नागरिक सरहकाे व्यवहार पाउन सकिन । किनभने हरेक पल अनि हरेक क्षण नेपाली समाजलाई, माअाेवादीबाट स्वतन्त्र भएको सर्टिफिकेट देखाइ रहनु पर्दाे रहेछ । जबकि एमाले त्यागेकोलाई एमाली भन्दैन, राप्रपा त्यागेकोलाई राप्रपी, जनमाेर्चा त्याग्नेलाई जनमाेर्ची अनि जसपा त्यागेकोलाई जसपी पनि भन्दैनन् तर माअाेवादी त्यागेकोलाई जहाँ पनि जहिले पनि माअाेवादी नै भन्दा रहेछन् ।
४) प्रदेश सभा सदस्यमा उम्मेदवारी दर्ताकाे सिलसिला र फिर्ता:
स्थानीय तह निर्वाचन-२०७९ देखि नै माअाेवादी केन्द्रबाट अलग भई बसिरहेको सन्दर्भमा फेरि प्रतिनिधि तथा प्रदेश सदस्य निर्वाचन-२०७९ काे घाेषणा भयो र स्वभाविक रूपमा मेरो पनि सांसद हुने चाहना जाग्यो र स्वतन्त्रबाट उम्मेदवारी दर्ता गर्न झलारी(कालिका मावि, असैना) स्थित कञ्चनपुर २ नम्बर निर्वाचन अधिकृतकाे कार्यालयमा उम्मेदवारी दर्ता गर्न पुगे । अत्यधिक वर्षाका कारण समर्थक र प्रस्तावकहरूलाई संगै लान नसकेका कारण उम्मेदवारी दर्ता गर्न केही ढिलाई भयो । त्यसपछि विकल्पकाे रूपमा हाम्रो नेपाली पार्टीका मान्छेसंग छलफल भयो र पार्टीको सदस्यता पनि लिनु पर्दैन र पार्टीको ह्विप पनि मान्नु पर्दैन “लाैराे” चुनाव चिन्हबाट उम्मेदवारी दर्ता गर्न सकिन्छ भनेपछि तदअनुरूप २०७९/०६/२३ गतेका दिन कञ्चनपुर निर्वाचन क्षेत्र नं.२ (१) बाट सुप प्रदेश सभा सदस्य पदमा उम्मेदवारी दर्ता भयो । तर निर्वाचन अायाेगले समयमा निर्वाचन खर्च विवरण(स्थानीय चुनाव) विवरण नबुझाएको भनी कम्प्युटर सिस्टममा लापरबाहीका कारण मेरो अभिलेखलाई अपडेट नगरिदिएकाले मेरो उम्मेदवारी दर्ता कायम नभई पेन्डिङमा रह्यो । जबकि २०७९/०२/१८ गते नै कञ्चनपुर जिल्लामा सर्वप्रथम मैले नै जिल्ला निर्वाचन अायाेगकाे कार्यालय महेन्द्रनगरमा खर्च विवरण बुझाएको थिए । मेरो उम्मेदवारी पेन्डिङमा राखेपछि त झन मलाई तनाव भयो र कानुनी उपचारपछि २०७९/०६/२५ गतेका दिन बल्लतल्ल मेरो उम्मेदवारी कायम भयो । उम्मेदवारी दर्ता भइसकेपछि स्वभाविक रूपमा सबै साथी भाइ, इष्ट मित्र, नातेदार लगायत अाम मतदाताहरूलाई मतदानका लागि अाग्रह गर्दैगर्दा; प्रायःजसो मान्छेहरूले तिमी त माअाेवादी हाेनि ? भनेर प्रश्न गर्न फेरि पनि छाेडेनन् । यसरी बैशाखमा पार्टी परित्याग गरेर असाेजमा “हसिया हथाैडाका” बिरूद्धमा “लाैराे” चुनाव चिन्हबाट उम्मेदवारी दिएर चुनाव लड्दा समेत मलाई माअाेवादी भन्न छाेडेनन् । र त्यसपछि म अाफैले माअाेवादी पार्टी र नेतृत्वसंग छलफल गरेर बिना शर्त र हिचकिचाहट उम्मेदवारी फिर्ता लिएकाे ठिक साँचो हाे । ५) माअाेवादी केन्द्रमा समाहित र अबको बाटो:
माअाेवादी त्यागेर अन्य राजनीतिक दलमा प्रवेश गरेका कमरेडहरूकाे भइरहेको अन्तर्राष्ट्रिय स्तरको खिसि टिउरी र हरिबिजाेक पनि कम दर्दनाक छैन । र माअाेवादी पार्टी त्यागेर स्वतन्त्रताकाे बासना सुँघ्छु भनेर हिडेका म जस्ता कस्तुरी कमरेडहरूले पनि भिरपाखामा हाम फाल्दै गुल्टिदै समय बर्बाद पार्नु पनि कम बिडम्बनापूर्ण छैन । यदि संसदीय माअाेवादी धाराकाे दीर्घकालीन वामपन्थी राजनीति गर्ने नै हाे भने समयमै माअाेवादी पार्टीमा अाबद्ध र गाेलबन्द हुनुको विकल्प छैन । हुनत माअाेवादी हुनुका अाफ्नै सीमाहरू छन् । किन्तु काेहि माअाेवादी भएर टिक्न सकिरहेका छैनन् त काेहि माअाेवादी त्यागेर पनि बिक्न सकिरहेका छैनन् । यसरी टिक्न र बिक्न नसक्ने दुबै खाले समस्याले बृहत माअाेवादी गाेलमेच छलफल, अन्तरक्रिया र निर्मम समिक्षा सबै तहमा अनिवार्य हुन जरुरी देखिन्छ । यदि समयमा मात्रात्मक रूपमा बढीरहेको माअाेवादीलाई गुणात्मक रूपमा परिणत गर्न सकिएन भने माअाेवादी नामका कार्यकर्ताकाे फाैंज बढेपनि माअाेवादीकाे पतनलाई राेक्न सानो तागतले सम्भव हुने देखिदैन । म लगायतका हामी माअाेवादीहरूलाई नेपाली समाजका केही पात्रले अालाेचना गर्नु, हेप्नु, लाञ्छना लाउनु, उडाउनु भनेको, तिम्रो बिचार र राजनीति बुच्चाे हुदैछ त्यसलाई तिखो बनाउ भनेको पनि हुनसक्छ । तसर्थ यसलाई अन्यथा हामी माअाेवादीहरूले लिनु हुदैन कि ? यसरी केही म र मेरो उम्मेदवारी माथि विश्वास गरेर साथ,समर्थन, सहयोग र शुभेच्छा व्यक्त गर्नुहुने सम्पूर्ण अाम मतदाताहरूमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छु । र माअाेवादी पार्टी त्यागेर पनि समाजमा माअाेवादी भनेर नै चिनिनुपर्ने विविसताबाट मुक्ति पाउन र माअाेवादी अान्दोलनमा देखा परेको टुटफुट र बिग्रहलाई एकीकृत गर्दै अगाडि बढ्नुको विकल्प तत्काल नभएको हुदा,म अाफैले अाफैलाई नेकपा(माअाेवादी केन्द्र) लाई सुम्पनुकाे विकल्प देखिन । नेपाली समाजको हेर्ने दृष्टिकोण बडा गजबको छ, खल्तीमा नागरिकता जस्तै माअाेवादी त्यागेको, सरकारी प्रमाण पत्र बाेकेर नहिड्दासम्म काेहि कसैले पत्याइ दिने वाला छैनन् स्वतन्त्र भनेर । किनभने माअाेवादी त्यागेर माअाेवादीकै बिरूद्धमा लड्दा पनि माअाेवादी नै कहलिनु भनेको किमार्थ पनि स्वतन्त्र हुनु थिएन । र फलस्वरूप मैले पनि अात्मा अालाेचित हुँदै र प्रायश्चित गर्दै माअाेवादीमा समाहित हुने निर्णय गरें । तसर्थ सम्पूर्ण छरिएका अन्य माअाेवादीहरूलाई पनि सुसंगठित गर्न पुनः एकपटक सबैले “माअाेवादी घर फर्क अभियान” चलाउ र अबको अार्थिक क्रान्ति मार्फत समाजवादकाे जग बसाल्नमा यो अभियानले मद्दत नै गर्नेछ । (असाेज २६ गते २०७९ )