उपराष्ट्रपति नन्दबहादुर पुनले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन निष्पक्ष, भयरहित र स्वतन्त्ररुपमा सम्पन्न हुने विश्वास व्यक्त गर्नुभएको छ ।
उहाँले आगामी निर्वाचनलाई हालसम्मकै कम विवादित तथा बढी निष्पक्ष र स्वतन्त्र बनाउने चुनौती निर्वाचन आयोगसँग भएको बताउनुभएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन तयारीबारे जानकारी गराउन आज अपराह्न उपराष्ट्रपति भवन हरितगृह पुग्नुभएका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र निर्वाचन आयोगका अन्य पदाधिकारीसँग कुरा गर्नु हुँदै उपराष्ट्रपतिले निर्वाचनमा अधिकतम मतदाता सहभागी हुनसक्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले आयोगले गरिरहेको निर्वाचनको तयारीबारेमा खुसी व्यक्त गर्नुभयो ।
“स्थानीय तहको निर्वाचन सम्पन्न गरेकामा म निर्वाचन आयोगलाई बधाई तथा धन्यवाद दिन चाहन्छु”, उहाँले भन्नुभयो, “प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको आयोगले जुन तयारी गरिरहेको छ, यसबाट म निकै खुसी भएको छु । निष्पक्ष, भयरहित र स्वतन्त्र वातावरणमा निर्वाचन सम्पन्न हुनेमा म विश्वस्त छु ।”
उपराष्ट्रपतिसँगको भेटमा प्रमुख निर्वाचन आयुक्त थपलियाले निष्पक्ष, भयरहित र स्वतन्त्र वातावरणमा निर्वाचन सम्पन्न गराउने प्रतिबद्धतासहित आयोगले तयारीका कामलाई तीव्र बनाएको बताउनुभयो ।
आयुक्त थपलियाले मतपत्र छपाइको काम सम्पन्न भएको जानकारी गराउनु हुँदै उपत्यका बाहिरका जिल्लामा ढुवानीसमेत भइसकेको जानकारी गराउनुभयो । उहाँले मतदान सम्पन्न भएपछि आयोगले छिटोभन्दा छिटो मतगणना गरेर परिणाम घोषणा गर्ने बताउनुभयो ।