तनहुँ क्षेत्र नं २ का वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुले शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेर प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । नेपाली कांग्रेस, नेकपा (माओवादी) केन्द्र, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादीका तर्फबाट संयुक्त उम्मेदवारहरुले शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर प्रतिबद्धता सार्वजनिक गरेका हुन् ।
तनहुँ क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार नेपाली कांग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले आफूहरु जनताको सेवक भएर काम गर्ने बताउँदै प्रतिबद्धता पत्रका काम पूरा गर्ने बताउनुभयो । अबको पाँच वर्ष विकास निर्माणका योजनाहरु पूरा गर्ने बताउँदै भण्डारीले साझा ‘एजेन्डा’का साथ समृद्धि हासिल गर्ने उल्लेख गर्नुभयो ।
शिक्षा क्षेत्रमा सामुदायिक विद्यालयहरूको शैक्षिक एवम् भौतिक समस्याहरूको समाधान गरी शैक्षिक गुणस्तर वृद्धि गर्ने, व्यावहारिक शिक्षा प्रदान गर्ने र प्राविधिक शिक्षाको विस्तारका साथै सुविधासम्पन्न पुस्तकालयहरुको निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।
सरकारी एवं सामुदायिक विद्यालय र क्याम्पसहरूमा विद्यार्थी अनुपातमा दरबन्दी उपलब्ध गराउँदै गुणस्तरीय शिक्षा सुनिश्चित गर्न भौतिक संरचना निर्माण गर्ने उल्लेख गरिएको छ । स्वास्थ्य सेवातर्फ सबै पालिकाहरूमा सुत्केरी हुने महिलालाई अस्पतालसम्म पु¥याउन एम्बुलेन्स उपलब्ध गराउने, जिपी कोइराला श्वासप्रश्वास अस्पतालबाट जनताले गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य उपचार प्राप्त गर्नका लागि आधुनिक चिकित्सा प्रणालीभित्र पर्ने सबै संयन्त्रको व्यवस्था गरिनाका साथै शिक्षण अस्पतालका रूपमा विकास गर्ने, प्रदेश सरकारले बिरामीहरूका लागि निःशुल्क रुपमा रगत उपलब्ध गराउने व्यवस्था मिलाउने, निर्वाचन क्षेत्रभित्र सर्वसुलभ र सबैलाई पायक पर्ने गरी स्तरीय आँखा अस्पताल बनाइने उल्लेख गरिएको छ ।
खानेपानीतर्फ यस क्षेत्रभित्रका पालिकामा मूलहरूको संरक्षण, एक घर एक धारा कार्यक्रम लागू गरी प्रभावकारी वितरणमा जोड दिने, हरेक घरका धारामा स्वच्छ खानेपानीको व्यवस्थाका लागि काम गर्ने, पालिका, जिल्ला, प्रदेशस्तरीय खानेपानीका सम्बन्धित कार्यालयहरूसँग समन्वय गरी खानेपानी आयोजनाहरू सञ्चालन र अधुरा योजनाहरू समयमै सम्पन्न गर्ने उल्लेख गरिएको छ ।
कृषि तथा सिँचाइतर्फ कृषि बीमा कार्यक्रमलाई व्यापक रूपमा लागू गर्ने, कृषि उत्पादनका लागि सहुलियतपूर्ण कर्जा एवम् कृषि औजारको व्यवस्था गर्ने, कृषिमा उत्पादित फलफूल, तरकारी, दूध जस्ता वस्तुहरूको बिक्री गर्ने हाटबजारको व्यवस्थाका लागि समन्वय गर्ने, बाँझो रहेको जमिनमा कृषि उत्पादनका लागि विशेष योजनासहित सहयोग उपलब्ध गराउने, कृषिमा आधुनिकीकरण तथा उत्पादनमा आधारित अनुदानको व्यवस्था गर्ने उल्लेख गरिएको छ ।
विद्युत्तर्फ विद्युत्को खपत बढाउन र ग्यास जस्तो आयातीत वस्तुलाई निरुत्साहित गर्न हरेक घरलाई पालिकामार्फत विद्युतीय चुल्हो वितरण व्यवस्था मिलाउने, बस्ती भएका ठाउँमा नाङ्गो तार हटाई कालो तारको व्यवस्था गर्ने, यस क्षेत्रमा २४ घण्टा विद्युत् आपूर्ति गर्ने प्रणालीको विकास गर्न गाउँमा थ्रिफेस लाइनको व्यवस्था गरिने उल्लेख गरिएको छ ।
सडकतर्फ यस क्षेत्रभित्रका सडकको स्तरोन्नति गरी पालिकामा नगर बस सञ्चालन गर्ने, पर्यटकीय गाउँहरूमा यातायात मार्ग चौडा र पिच गरी तराईसँग जोडने द्रुत मार्गको विकास गर्ने, सडकमा खाल्डाहरू पर्नासाथ त्यसको मर्मत अर्थात् खाल्टा पुर्नाका लागि सडक एम्बुलेन्सको प्रबन्ध गर्ने उल्लेख गरिएको छ ।
सामाजिक सुरक्षातर्फ द्वन्द्वपीडित, अल्पसङ्ख्यक, अपाङ्गता र विपन्न दलितलाई निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था मिलाउने, अपाङ्गता भएका बालबालिका एवं व्यक्तिलाई निःशुल्क शिक्षा प्रदान गर्ने, ५० वर्षभन्दा माथिका एकल पुरुषलाई एकल महिलासरह भत्ता सहयोग उपलब्ध गराउने, ज्येष्ठ नागरिकका लागि दिवा आध्यात्मिक केन्द्र बनाउने साथै धार्मिक अल्पसङ्ख्यकका लागि उचित प्रबन्ध गर्ने उल्लेख गरिएको छ । खेलकुदतर्फ स्वस्थ र आत्मनिर्भर युवा, देश विकासमा टेवा भन्ने नारालाई सार्थक बनाउन जिमखाना र योगाभ्यासको सुविधा साथै एक वडा एक खेल मैदान कार्यक्रमलाई सहयोग पु¥याउने उल्लेख छ ।