आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य पदको निर्वाचनका लागि आवश्यकपर्ने सम्पूर्ण सामग्री मकवानपुर आइपुगेको छ । मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाका अनुसार मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ र सोही निर्वाचन क्षेत्रको प्रदेशसभा (१) र (२) तथा प्रतिनिधिसभा क्षेत्र नम्बर २ र सोही निर्वाचन क्षेत्रको प्रदेशसभा (१) र (२) का लागि प्रत्यक्षतर्फको मतपत्रसँगै अन्य सामग्री आज हेटौँडा आइपुगेको हो ।
निर्वाचन आयोगको कार्यालय काठमाडौँबाट ल्याइएको सो सामग्री नेपाली सेनाको टोलीले हेटौँडास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आज हस्तान्तरण गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी तीर्थ भट्टराईले जानकारी दिनुभयो । जिल्लाको क्षेत्र नम्बर १ को प्रतिनिधिसभातर्फ १ लाख ६६ हजार र प्रदेश सभातर्फ एक लाख ६८ हजार तथा क्षेत्र नम्बर २ को प्रतिनिधिसभातर्फ एक लाख ६६ हजार र प्रदेशसभातर्फ एक लाख ६७ हजार प्रत्यक्षतर्फको मतपत्र हेटौँडा आइपुगेको हो । समानुपातिकतर्फको मतपत्र भने केही दिनअघि नै आइपुगेको थियो । मकवानपुरमा ३६४ वटा मतदान केन्द्र रहेको छ भने कूल तीन लाख सात सय ३३ मतदाता रहेका छन् ।