काठमाडौं । कमलादीमा निर्माणाधीन स्काईवाक टावरमा व्यापार व्यवसाय गर्न चाहनेहरूको लागि बुकिङ खुल्ला भएको छ । टावरको ३ वटा तलालाई भाडामा लगाउने योजनाका साथ निर्माण कम्पनीले बुकिङ खुल्ला गरेको हो । टावर निर्माणको काम अन्तिम चरणमा पुगेसँगै बुकिङ खुल्ला गरेको वन्डर्स नेपाल प्रालिका टावर सुपरभाइजर निखिल दाहालले बताए । टावरको २४ र २५ तलामा व्यापार गर्न चाहनेहरूको लागि बुकिङ खुल्ला भएको छ ।
‘अहिले टावरमा व्यापार गर्ने चाहनेहरुसँग सहकार्य गरी भाडामा दिने सोच बनाएका छौं, बुकिङ खुल्ला गरेसँगै बुकिङका लागि ग्राहकको अत्याधिक अर्डर आएको पनि छ,’ उनले भने ।
भुईँ तलामा पनि व्यवसायिक प्रयोजनका लागि ४९ वटा सटरहरूको निर्माण हुँदैछ । सो सटर पनि निर्माण कम्पनीले भाडामा दिने योजना बनाएको छ । अहिले पूर्ण रूपमा तयार भइनसके पनि अग्रिम बुकिङ भने खुल्ला रहेको दाहालले बताए । सो सटरमा एकै किसिमको पसल भने राख्न पाइने छैन ।
‘हामीले अहिले नै भाडाको निर्धारण गरेका छैनौं, सटर पनि भाडामा लिन आए भने सटरको साइज हेरेर भाडामा दिने हो, अनुमानित एउटा सटरको भाडा मासिक ४० देखि ५० हजार रुपैयाँसम्म हुन सक्छ,’ उनले भने ।
१ अर्ब ८० करोड खर्च
निर्माणकर्ता वन्डर्स नेपाल प्रालिले यो टावरको निर्माण पूर्ण रुपमा सम्पन्न गर्दा २ अर्ब रुपैयाँ लगानी हुने जनाएको छ । यसमा नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ५० करोड रुपैयाँ कर्जा लगानी गरेको छ । दाहालका अनुसार करिब एक अर्ब ८० करोड रुपैयाँ हालसम्म खर्च भइसकेको छ ।
स्काईवाक अर्थात् ‘आकाशमा पदयात्रा’ बाट काठमाडौंको दृश्यलाई निहाल्न सकिन्छ । भुईँबाट धेरै माथि चढ्ने र पूर्ण पारदर्शी शीशाको संरचनामा पदयात्रा गर्ने ठाउँ हो । उक्त टावरमा हिँड्दा आकाशमा हिँडेको अनुभूति हुन्छ । माथि अविराम आकाश देखिन्छ ।
उक्त टावरमा लिफ्ट अथवा हिँडेर पनि चढेर सिधै माथि पुगिन्छ । टपको सिसामा हिँड्दा ७८ मिटर तलको बगैँचा, पार्किङ, बजार देखिन्छ । नजिकका सडकमा शान्तसँग सवारी बगिरहेको देखिन्छ । साहसिक पर्यटकको लागि नयाँ गन्तव्य, मनोरञ्जनको नयाँ क्षेत्र उघार्न लागेको दाहाल बताउँछन् ।
वन्डर्स नेपाल प्रालिले कमलादीमा १३ रोपनी जग्गा २३ वर्षसम्मको लागि लिजमा लिएर स्काईवाक टावर बनाएको हो । लिज अवधि सकिएपछि सबै संरचना जग्गाधनीलाई छोडिदिनुपर्छ । यो टावरको निर्माण कार्य २०७७ सालबाट सुरु गरिएका थियो । करिब साढे २ वर्षको अवधिमा ९० प्रतिशत काम सम्पन्न भइसकेको दाहालले जानकारी दिए ।
फलाम नै फलामले बनेको टावर ७८ मिटर अग्लो छ । ‘भवन विभागको मापदण्ड अनुसार यसको सम्पूर्ण संरचना तयार पारेका छौं, यस भवनमा चढ्दा कुनै असुरक्षित हुन्छ कि भनेर कुनै संङ्का गर्नु पर्दैन, यो टावर सत प्रतिशत सुरक्षित छ,’ उनले भने । टावरको माथि सीमा हिँड्ने स्पेश २ हजार स्कवायर फिट हुन्छ । वरिपरि ६ फिट अग्लो ग्लासको रेलिङ हुन्छ ।
स्काईवाक एरियामा एकै पटक ५ सय जनासम्म अट्ने बताइएको छ ।
उक्त टावर माथि लिफ्ट मात्र नभई भर्याङबाट पनि चढ्न तथा ओर्लन सकिने सुविधा छ । भुईँ तलाको साइटमा गार्डेन, सपिङ सेन्टर, रेष्टुराँ हुनेछन् । त्यस क्षेत्रमा ७० वटा गाडी र ३ सय वटा मोटरसाइकल पार्किङ गर्न ठाउँ हुन्छ ।
टावरमा चढ्न एक हजार शुल्क
निर्माणाधीन स्काईवाक टावर सञ्चालनमा आइ सकेको छैन । निर्माण कम्पनी केही महिनामा उक्त टावर सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ । सञ्चालनमा आए पछि सो टावर चढ्नको लागि प्रति व्यक्ति एक हजार रुपैयाँ शुल्क लाग्ने पनि दाहालले बताए ।
विदेशी पर्यटनको लागि शुल्क अलिक बढी लाग्नेछ । दाहालका अनुसार विदेशी नागरिकले सो टावर चढ्नको लागि १ हजारदेखि १५ सय रुपैयाँसम्म बुझाउनु पर्ने हुन्छ । टावर भित्रका रेस्टुरेन्टमा बस्दाको पैसा बेग्लै तिर्नुपर्ने हुन्छ । वर्षमा २/३ लाख मानिस यस टावरमा स्काई वाक गर्न आउने अनुमान निर्माणकर्ताको छ ।
टावरको सबैभन्दा माथि सिसामा हिँड्ने ठाउँछ । सिसा भन्दामाथि १२ फिट अग्लो निर्माण कम्पनीले बस्ने ठाउँ बनाएको छ । उक्त ठाउँमा बस्न चाहनेहरूले अग्रिम बुकिङ गर्नुपर्ने पनि दाहालले बताए । बुकिङ गर्दा १० हजार रुपैयाँ बुझाउनु पर्ने पनि दाहालले जानकारी दिए ।
‘अहिले टावरमाथि सिसा राख्ने, फिनिसिङको काम भइरहेको छ, छिटै सञ्चालनमा ल्याउने हाम्रो तयारी हो, अहिले हामीले अनुमानित टावर चढ्दाको शुल्क मात्र निर्धारण गरेको छौं,’ उनले भने ।