अमेरिका र क्यानडामा व्यापक हिमआँधी,कम्तीमा १९ जनाको मृत्यु

एजेन्सी । अमेरिका र क्यानडामा हिमआँधीका कारण कम्तीमा २० करोड मानिस प्रभावित भएका छन् । अधिकारीहरूका अनुसार १९ जनाको मृत्यु भएको छ । चिसो बढेसँगै १२ राज्यमा संकटकालीन कदमहरू चालिएको अमेरिकी अधिकारीहरूले जनाएका छन् ।

अमेरिकाका कम्तीमा १५ लाख मानिसहरू विद्युत् तथा ऊर्जाको अभावमा बाँच्न बाध्य भएका र सयौं उडानहरू रद्द भएको जनाइएको छ । अमेरिकाको मोन्टाना राज्यको तापक्रम हालसम्मकै सबैभन्दा कम अर्थात् ४५ डिग्री सेल्सियस मापन गरिएको छ ।

अमेरिकाको टेक्सासदेखि क्यानडाको कुबेकसम्म ३ हजार २ सय किलोमिटरभन्दा ठूलो क्षेत्रमा हिमआँधी फैलिएको बीबीसीले उल्लेख गरेको छ । खराब मौसमका कारण मानिसहरूको क्रिसमस योजना बिथोलिएको जनाइएको छ ।

वायुमण्डलीय चाप घटेपछि अमेरिका र क्यानडाको सीमा क्षेत्रका ठूला तालहरू भएको क्षेत्रमा बरफसहित तुफानको अवस्था उत्पन्न भएको छ । क्यानडाका ओन्टारियो र कुबेकले उत्तरी ध्रुवीय विस्फोटको असर भोगेका र ती क्षेत्रमा हजारौं घरमा विद्युत् आपूर्ति बन्द भएको थियो ।

ब्रिटिस कोलम्बियादेखि न्यु फाउन्डल्यान्डसम्मका अधिकांश क्षेत्रमा पछिल्लो समय चिसो निकै बढेको र हिमआँधीको चेतावनी दिइएको छ । अमेरिकी राष्ट्रिय मौसम सेवा (एनडब्लूएस) ले शुक्रबार जारी गरेको मौसमसम्बन्धी जानकारीअनुसार यस वर्षको ‘जाडो हालसम्मकै चिसोमध्येको एक भएको’ बताइएको छ ।

मोन्टाना राज्यको एल्क पार्कको तापक्रम माइनस ४५ डिग्री सेल्सियसमा झरेको र मिसिगन राज्यको हेल सहर पूर्णरूपमा जमेको बीबीसीले जनाएको छ । उक्त सहरमा शुक्रबार रातिको तापक्रम माइनस १७ डिग्री सेल्सियस थियो । सहरको एक स्थानीयले भनिन्, ‘यहाँ निकै चिसो छ । खासमा हामी एक खालको नर्कमा बाँचिरहेका छौं ।’

साउथ डकोटा राज्यमा हिमपात भएको क्षेत्रमा अमेरिकी आदिवासीहरूले इन्धन सकिएपछि चिसोबाट बच्न लुगा बालेर ताप्नुपर्ने अवस्था आएको जनाइएको छ । पेन्सलभेनिया र मिसिगनका अधिकांश क्षेत्रमा पनि भारी हिमपात हुने र न्युयोर्कको बफेलोमा कम्तीमा ३५ इन्चसम्म हिउँ जम्ने बताइएको छ । एनडब्लूएसका अनुसार ८० लाखभन्दा बढी मानिस हिमपातको जोखिममा रहेका छन् ।

न्यु इंग्ल्यान्ड, न्युयोर्क र न्युजर्सीमा तटीय बाढी आएको छ । प्यासिफिक नर्थवेस्टका केही बासिन्दाले सियाटल र पोर्टल्यान्डमा हिउँ जमेका सडकमा आइस–स्केट गरेका देखिएको बीबीसीले उल्लेख गरेको छ । सामान्यतया हलुका चिसो महसुस हुने दक्षिणी राज्यहरू लुजियाना, अलाबामा, फ्लोरिडा र जर्जियामा चिसो निकै बढ्न सक्ने चेतावनी दिइएको छ । चिसो आँधीका कारण सडक दुर्घटनाहरूमा समेत वृद्धि भएको छ । ओहायो राज्यमा दुर्घटनाका कारण कम्तीमा ८ जनाको ज्यान गएको छ ।

उडानहरूबारे जानकारी दिने वेबसाइट फ्लाइट अवेयरका अनुसार शुक्रबार मात्र ५ हजार ९ सयभन्दा बढी अमेरिकी उडान रद्द भएका छन् । त्यसैगरी शनिबारका १ हजार २ सय उडान पनि रद्द गरिएका छन् । एनडब्लूएसले पछिल्लो केही दिनयता दैनिक करिब एक सयवटा मौसमसम्बन्धी रेकर्ड कायम भएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply