माघ ७
सन् २०२६ को पुरुष टी-२० विश्वकपमा बंगलादेशको सहभागितालाई लिएर देखिएको अन्योलबीच पाकिस्तान क्रिकेट बोर्डले पनि यसमा आफ्नो धारणा राखेको छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले बंगलादेशको बारेमा अन्तिम निर्णय लिनु एक दिनअघि पाकिस्तानले आइसिसीलाई पत्र लेखेको छ। पाकिस्तानले बंगलादेशको अडानलाई समर्थन गर्दै भनेको छ— छिमेकी देशहरूबीचको राजनीतिक तनावका कारण बंगलादेशले भारतमा खेल्न नखोज्नु जायज छ।
बंगलादेशले सुरक्षाको कारण देखाउँदै आफ्ना खेलहरू भारतबाट सारेर श्रीलंका लैजान माग गरेपछि आइसिसीले बुधबारबोर्ड बैठक बोलाएको छ।
पाकिस्तानको यो कदमले आइसिसीको निर्णयमा खासै असर नपर्ने देखिएको छ। आइसिसीले अहिलेसम्म आफ्नो अडान परिवर्तन गरेको छैन। उसले खेलको तालिका नफेर्ने र बंगलादेशले भारतमै खेल्नुपर्ने बताउँदै आएको छ। तर, बंगलादेश क्रिकेट बोर्डले आफ्नो सरकारको समर्थनमा भारत गएर खेल्न इन्कार गरेको छ।
विश्वकप सुरु हुन अब तीन हप्ताभन्दा पनि कम समय बाँकी छ। बुधबारको बैठकलाई निर्णय गर्ने अन्तिम दिन मानिएको छ। यसैबीच, पाकिस्तानले बंगलादेशका खेलहरू आफ्नो देशमा आयोजना गर्ने प्रस्ताव गरेको वा बंगलादेश नखेले पाकिस्तानले पनि विश्वकप खेल्नेबारे पुनर्विचार गर्न सक्ने जस्ता अपुष्ट खबरहरू पनि बाहिर आएका छन्। यद्यपि, पाकिस्तानले यसबारे आधिकारिक रूपमा केही बोलेको छैन।
भारतीय क्रिकेट बोर्डले आइपिएल टोली कोलकाता नाइट राइडर्लाई बंगलादेशी खेलाडी मुस्ताफिजुर रहमानलाई टिमबाट हटाउन भनेपछि विवाद सुरु भएको थियो। भारत र बंगलादेशबीचको बिग्रँदो राजनीतिक सम्बन्धका कारण यस्तो गरिएको चर्चा छ। यसपछि बंगलादेश सरकारले औपचारिक रूपमै आफ्नो टोली भारतमा नखेल्ने घोषणा गर्यो।
यो विवाद यति चर्किएको छ कि बंगलादेशका खेलाडीहरूले नै खेल बहिष्कार गरेका छन्, जसले गर्दा अहिले भइरहेको बंगलादेश प्रिमियर लिग समेत प्रभावित भएको छ। बीसीबीका एक अधिकारीले ‘बंगलादेशले विश्वकप नखेले आर्थिक नोक्सानी हुन्छ’ भन्ने प्रश्नको उत्तर दिँदा खेलाडीहरूको अपमान हुने गरी बोलेपछि त्यहाँको आन्तरिक कलह झन् बढेको हो।
टी-२० विश्वकपमा बंगलादेश नेपालसहितका पाँच टोली रहेको समूह ‘सी’ मा छ। उसले तीन खेल कोलकता र नेपालविरूद्धको अन्तिम खेलमा मुम्बईमा खेल्ने तालिका छ।
