नेकपा एस सत्तारुढ गठबन्धनमा सहभागी हुँदैन : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी सत्तारुढ गठबन्धनमा सामेल हुन नसक्ने बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारमा सामेल हुन आग्रह गरिरहँदा उनको यस्तो अडान बाहिर आएको हो । सोमबारबाट काठमाडौंमा सुरु भएको पार्टी पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै उनले राष्ट्र र जनताको हितलाई केन्द्रविन्दुमा राखेर आफ्नो पार्टी अघि बढ्ने बताए ।

अध्यक्ष नेपालले पार्टीले वर्तमान राजनीतिक परिस्थितिमा ठीक गरिरहेको उल्लेख गर्दै कसैसामू लत्रिने पक्ष्मा नरहेको पनि बताए । मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे वस्तुनिष्ठ समीक्षा गरेर आफूहरू अघि बढ्ने तर आरोप प्रत्यारोपको राजनीति गर्ने पक्षमा आफ्नो पार्टी नरहेको उनले बताए ।

अध्यक्ष नेपालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि पार्टीभित्रै रहेर ती समस्या समाधान गरेर अघि बढ्ने आफूहरूको प्रयास असफल भएपछि नयाँ पार्टी खोलेर अघि बढ्नु परेको तथ्य बुझ्न पनि पार्टीका नेता-कार्यकर्तालाई आग्रह गरे ।

अध्यक्ष नेपालले आफूहरूबाट केही गल्ती भए सच्चिन तयार रहेको उल्लेख गर्दै कसैलाई पनि पानीमाथिको ओभानो बन्ने प्रयास नगर्न पनि चेतावनी दिए । आजबाट सुरु भएको बैठकमा नेताहरूले सरकारमा पार्टी सहभागी हुने वा नहुने भन्ने विषयमा पनि आ-आफ्नो धारणा राख्ने एजेण्डासमेत तय गरिएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply