ज्येष्ठ नागरिक भवन निर्माणमा हेलचेक्र्याइँ

पर्वतको कुश्मा नगपालिका–३ खरेहामा निर्माणाधीन ज्येष्ठ नागरिक भवन चार वर्ष बितिसक्दासमेत सम्पन्न हुन सकेको छैन । ठेकेदारको लापरबाही र भवन निर्माणमा छुट्याइएको रकम समयमा खर्च नहुँदा निर्माणमा ढिलाइ भएको हो ।

ज्येष्ठ नागरिकहरू एक ठाउँमा जम्मा भएर मनका कुराहरू साटासाट गर्न सकून् भन्ने उद्देश्यले भवन निर्माण गरिएको ज्येष्ठ नागरिक मिलन समाजको भनाइ छ । रु चार करोड ३४ लाख ९० हजारको लागतमा निर्माणाधीन भवनको एक तला, त्यो पनि ढलान र पिलर उठाउने काम मात्र भएको छ । “पहिलो वर्ष रु एक करोड ४० लाख रकम विनियोजन भएकामा काम चाहिँ रु ८२ लाख बराबरको भयो । त्यसपछिको वर्षमा बजेट परेन । “पोहोर बजेट परेर काम गरिए पनि ठेकेदारले बर्बादै खेलायो । काममा आउँदै नआउने, आए काम पनि रफ गर्ने, लापरबाहीको त हदै भयो”, समाजका कोषाध्यक्ष डिल्लीराम शर्माले भन्नुभयो, “यस वर्ष थप बजेट परेर टेन्डर पनि भइसकेको छ । नयाँ ठेकेदारले पनि राम्ररी काम गर्लान् जस्तो लागेको छैन । केही दिनअघि पाँगो बालुवा झारेको देखेपछि ठेकेदारलाई फोन गरेको त उसले केही हुन्न चल्छ भन्ने जवाफ फर्कायो ।”

विसं २०७८÷७९ मा नेपाल सरकारको अनुदानस्वरुप रु एक करोड ६६ लाखको बजेटमा बोलपत्रदाता मल्ल कन्स्ट्रक्सनले ३३दशमलव८२ प्रतिशत कम कबोल गरी रु एक करोड १५ लाख ७३ हजार चार सय २६ मा कुश्मा नगरपालिकासँग सम्झौता गरेका थियो । “ उक्त कन्स्ट्रक्सनले सम्झौता अनुसारको काम गर्न सकेन । निर्माण समितिका पदाधिकारीबाट पनि गुनासाहरू धेरै आयो । उहाँहरू डेलिगेसन पनि आउनुभएको थियो”, नगरपालिकाका इन्जिनियर शिवराज बरालले भन्नुभयो, “तर २०७९ कात्तिक मसान्तसम्ममा मल्ल कन्स्ट्रक्सनलाई ३४ लाख २४ हजार आठ सयको रनिङ बिल भुक्तानी ग¥यौँ ।”

दुई तलाको तीन सय २७ वर्ग फिटमा निर्माणाधीन भवनको काम सम्पन्न नहुनामा कुश्मा नगरपालिका पनि दोषी रहेको वडा ३ का पूर्ववडा अध्यक्ष सुवासचन्द्र पौडेलले बताउनुभयो । “यस आर्थिक वर्षमा नयाँ बजेट पनि आइसकेको अवस्थामा नगरपालिकाले अहिले फागुनमा आएर टेन्डर निकालेको छ । गत वर्षको काम कात्तिक मसान्तमा सम्पन्न भएपछि मङ्सिर मसान्तभित्रै नयाँ टेन्डर निकालेको भए काम अघि बढी सक्थ्यो”, उहाँले भन्नुभयो, “अब असार आइपुग्न चार महिना छ । यस अवधिमा के नै काम होला र ? यसपालि पनि बजेट फ्रिज हुने निश्चित छ ।”

नेपाल सरकारले भवन निर्माणका लागि यस वर्ष पनि रु एक करोड ८० लाख बजेट छुट्याएको छ । टेन्डर आह्वानका काम सकेर ठेक्का पनि लागिसकेको नगरपालिकाका सूचना अधिकारी धुव्रराज पौडेलले बताउनुभयो । उहाँका अनुसार २३दशमलव९७ प्रतिशत कम भएको र बोलपत्रदाता वास्तु बिल्डर्सले ठेक्का पारेर काम गर्न सुरुआत गरिसकेको छ ।

ज्येष्ठ नागरिकको भवन निर्माणलाई लिएर स्थानीयवासीहरूमा असन्तुष्टि देखिन्छ । राज्यको करोडौँ लगानी खर्च गरेर बनाउने भवनको उपयोगिता नदेखिएको स्थानीय भवानीप्रसाद शर्माले बताउनुभयो । “त्यो जोखिमपूर्ण डिलमा भवन बनाउने कुरा प्राविधिक हिसाबले उचित छैन । जुनैबेला पनि भत्कन सक्ने जोखिम छ”, उहाँले भन्नुभयो, “वृद्ध आश्रम भएको भए ठिकै हो भन्न पनि हुन्थ्यो तर दिनमा मात्रै त्यहाँ गएर गफै गर्नलाई त हाम्रै छेउछाउमा चौतारी, मठमन्दिरहरू प्रशस्तै छन् । राज्यको रकमको दुरुपयोग किन ?”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply