नयाँ प्रविधिबाट उपचारमा केएमसीको फड्को वर्णन संवाददाता

धनगढी :- मेडिकल कलेज (केएमसी) पब्लिक लिमिटेडले नयाँ–नयाँ प्रविधिको प्रयोगबाट बिरामीको उपचारमा निरन्तर फड्को मार्दै गएको छ ।

अत्याधुनिक मेसिनहरु भित्र्याएर केएमसीले नेपालमा हुँदै आएको महँगो उपचार पद्दतिलाई सस्तो बनाउँदै लगेको हो । नयाँ प्रविधिका कारण बिरामीलाई उपचारमा सहज हुनेमात्र होइन दुःख पाएर उपचार गर्नुपर्ने अवस्थाको अन्त्यसमेत गर्दै गएको केएमसीले बताएको छ ।

सोही क्रममा केएमसीले हालैमात्र एक महिलाको न्युरो इन्डोभास्कुलर कोइलिङद्वारा मस्तिष्कको शल्यक्रिया नगरी सफलतापूर्वक उपचार गरेको छ । केएमसीका वरिष्ठ इटरवेंशनल न्युरोलोजिस्ट डा. समर्थ सिंहको नेतृत्वमा काठमाडौँकी ६० वर्षीया महिलाको टाउकाको चिरफार नगरी न्युरो इन्डोभास्कुलर कोइलिङ प्रविधिबाट उपचार गरिएको हो ।

ब्रेन हेमोरेज (सबएरेकनोइड हेमोरेज) भएर आएकी ती महिलाको रक्तनलीबाट मस्तिस्कमा पुगेर ब्लक भएको रक्तनली खुलाइएको डा. सिंहले जानकारी दिए ।

बिरामीको ब्रेनको पछिलो भागको रक्तनलीमा बेलुन जस्तो फुकुन्डो जसलाई मेडिकल भाषामा ब्रेन एन्युरिज्म भनिन्छ, त्यही फुटेर मस्तिस्कमा रक्तस्राव भएको थियो ।

सोही फुकुन्डो न्युरो इन्डोभास्कुलर कोइलिङ प्रविधिबाट बिरामीको टाउको नचिरिकनै कॉइलिंग पद्धतिबाट सो फुटेको फुकुन्डोमा रक्तप्रवाह बन्द गरेर सफलतापूर्वक उपचार गरेको डा. सिंहले बताए ।

परम्परागत न्युरोसर्जरीमा टाउको चिरेर शल्यक्रिया गर्दा न्युरोसर्जरी पश्चात स्वास्थ्य सम्बन्धी जटिलता बढी हुनाले बिरामीको आईसीयू बसाइ लामो हुँदै आएको थियो । तर नयाँ प्रविधिबाट उपचार गर्दा लामो समय बस्नै नपर्ने र बिरामीलाई दुःख पनि नहुने डा. सिंहको दाबी छ ।

स्वास्थ्य जोखिम पनि निकै कम रहेको बताउँदै डा. सिंहले न्युरो इन्टरवेंशन प्रविधिको प्रयोगबाट नसा तथा मस्तिस्क, मेरूदण्डलगायत गम्भीर प्रकारका रोगको उपचारमा पनि ठूलो सफलता मिल्दै गएको जनाए ।

खासगरी मस्तिष्कको रक्तनली ब्लक भएर ब्रेन–अट्याकर पक्षघात, ब्रेन हेमोरेज भएका, सवारी दुर्घटनामा टाउकोमा गम्भीर रूपमा रक्तनली फुटेका बिरामीहरुको उपचारमा न्युरो इन्टरवेंशनल प्रविधि बरदान सावित भएको छ ।

केएमसीका प्रबन्धक नारायण दाहालले नेपालको स्वास्थ्य क्षेत्रमा केएमसीले भित्र्याएका नयाँ सेवाहरू विश्वस्तरीय रहेको भन्दै अब कुनै पनि बिरामीले उपचार भएन भनेर विदेश जानुपर्ने अवस्था नरहेको बताए ।

उनले प्रतिनिधि सभाका सांसदसमेत रहेका डा. सुनीलकुमार शर्माले अस्पताल सम्हालेपछि निरन्तर नयाँ प्रविधि भित्र्याएर उपचार भइरहेको बताए ।उनले भने, ‘हामीसँग भएको न्युरो इन्टरवेंशनल प्रविधि विश्वकै स्वास्थ्य क्षेत्रको नवीनतम उपकरण हो । यो प्रविधिबाट टाउको तथा मेरुदण्डका जस्तोसुकै गम्भीर रोगको पहिचान गर्न र उपचार गर्न सकिन्छ ।’

केएमसीलाई अत्याधुनिक प्रविधियुक्त बनाउने जस तत्कालीन कार्यकारी अध्यक्ष डा. शर्मालाई नै जान्छ । डा. शर्माले तीन वर्षअघि केएमसी लिएसँगै स्वास्थ्य सेवालाई आधुनिकीकरण गरेका हुन् ।

तीन वर्षमा दक्ष जनशक्तिसँगै अत्याधुनिक स्वास्थ्य उपकरणहरु भित्र्याइएकाले गम्भीर प्रकारका रोगहरुको उपचारमा लाखौँ खर्च गरेर विदेश गइरहनु पर्ने बाध्यतासमेत कम भइरहेको पनि दाहालले बताए ।

दाहालले केएमसीले भित्र्याएको यस प्रविधिबाट उपचार गर्दा अन्य अस्पतालहरुको दाँजोमा कम शुल्क लिएको र प्राथमिकतामा आम जनता नै रहेको बताए ।

केएमसीको न्युरो साइन्स सेवा अन्तर्गत वरिष्ठ इन्टरवेंसन न्युरोलोजिष्ट डा. सिंह, न्यूरोलोजिस्ट डा. पारस रायमाझी तथा न्युरोसजर्न डा. अमित थापाले सेवा दिइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply