सरकारले कञ्चनपुरमा धान खरिद शुरु

सरकारले कञ्चनपुरमा धान खरिद शुरु गरेको छ । सरकारी खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बुधबारदेखि कञ्चनपुरमा धान खरिद शुरु गरेको हो । यस बर्ष गत बर्ष भन्दा डेढ महिना अवागैबाट धान खरिद शुरु गरेको छ ।

गत ०७९मा २९ मंसिरदेखि धान खरिद गरेको थियो, भने यस बर्ष ०८०मा १५ कार्तिकदेखि नै धान खरिद शुरु गरेको छ । गत बर्ष भन्दा यस बर्ष धानको सर्मथन मुल्य समेत बृद्धि भएको छ । प्रति क्विन्टलमा २ सय ३१रुपैया बृद्धि भएको छ । गत बर्ष २ हजार ९सय ६७ रुपैया र यस बर्ष ३ हजार १सय ९८ रुपैयामा खरिद भईरहेको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय महेन्द्रनगरका प्रमुख राजु मोक्तानले किसानले उत्पादन गरेको धान खरिद शुरु गरिएको बताए । पहिलो दिन १६ जना किसानले ल्याएको धान खरिद गरिएको बताए । कार्यालय प्रमुख मोक्तानले प्रति किसानको अधिकतम ३०क्विन्टल खरिद गरिने बताए ।

यस बर्ष वास्तविक किसानको पहिचान र उत्पादिन धान खरिदका लागि सम्बन्धीत वडाबाट सिफारिस सहितका किसान पहिचान आवश्यक कागपत्र सहिद धान खरिद गर्न लागिएको बताए । ‘धान खरिदको सीमा निर्धारण केन्द्रीय कार्यालयबाटै भएको हो, ‘उनले भने, ‘गत बर्ष भन्दा यस बर्ष धान सफा र राम्रो छ ।’

जिल्लाको दक्षिणी क्षेत्रका किसानको सुविधाका लागि बेलौरी पुर्वतिरका किसानको सुविधाका लागि झलारीमा अस्थायी प्रकृतिको धान खरिद डिपो राख्नका लागि केन्द्रसंग माग गरिएको बताए । ‘किसानलाई धान बेच्न ढुवानीमा सहजताका लागि हामीले शाखा कार्यालय महेन्द्रनगर सहित दुई स्थान झलारी र बेलौरीमा समेत खरिद डिपोका लागि प्रस्ताव अघि सारेका छौँ, ‘कार्यालय प्रमुख मोक्तानले भने, ‘माथिबाट स्वीकृत भएर आएपछि दुवै स्थानबाट धान खरिद गछौँ ।’ किसानलाई बैंक मार्फत रकम भुक्तानी गरिनेछ । यस बर्ष १५ हजार क्विन्टल धान खरिदको लक्ष्य तोकिएको छ । गत बर्ष १४ हजार क्विन्टल लक्ष्य तोकिएपनि ३ हजार मात्रै खरिद गरेको थियो । गत विगतका बर्षहरुमा धान ढिलोगरी खरिद गरेपछि किसान मारमा परेका थिए, यस बर्ष डेढ महिना अगाडी नै धान खरिद शुरु भएपछि किसान विचौलियाबाट बाँच्ने अपेक्षा लिएका छन ।

भीमदत्त नगरपालिका १० सुकासालका युवा किसान उर्वादत्त जोशीले विगतका बर्षभन्दा यस बर्ष सरकारले किसानले उत्पादन गरेका धान समयमै खरिद गरेको बताए । ‘धान खरिद गर्ने ठिक समयमै सरकारले हामी किसानको धान खरिद गरेको छ, ‘उनले भने, ‘धान खरिद प्रकृयामा वडाबाट सिफारिस सहितको ढिलासुस्ती देखिएको छ ।’ जोशीका अनुसार वडाबाट सिफारिस ल्याउँदा १ सय १० रुपैया शुल्क तिनुपर्ने, काँटा एउटै भएकाले पालो कुर्नुपर्ने, गुणस्तर मापनका लागि वैज्ञानिक उपकरण यन्त्र नभएको बताए । जोशीले किसानले उत्पादन गरेको धान सिधै स्थानीय स्तरबाटै खरिद गर्नुपर्ने सुझाव दिएका छन ।

भीमदत्त नगरपालिका १२ऐरीका किसान युवा डिल्लीराज पन्तले यस बर्ष सरकारले समयमै धान खरिद शुरु गरेपछि किसानलाई सुविधा भएको बताए । ‘विगतका बर्षहरुमा ढिलोगरी धान खरिद गरेपछि किसानले उत्पादन लगत्तै गल्ला व्यवसायी एव विचौलियालाई सस्तोमै बेच्नुपर्ने बाध्यता थियो, ‘उनले भने, ‘यस बर्ष सरकारले समयमै धान खरिद गरेपछि हामी किसान विचौलियाबाट र सस्तोमै धान बेच्नबाट जोगिएका छौँ, सरकारले खरिद गर्ने धानको मुल्य समेत पाएका छौँ ।’

भीमदत्त नगरपालिका ७ हल्दुखालका स्थानीय किसान उत्तम बोहराले किसानले उत्पादन गरेका धान बेच्नका लागि वडाबाट सिफारिस माग्दा समेत शुल्क तिनुपर्ने बाध्यता राखेर किसानलाई मारमा पारेको बताए । ‘धान बेच्ने सीमा पनि तोकिएको छ, ‘उनले भने, ‘यसबाट बढि धान उत्पादन गर्ने किसान मारमा पर्छ ।’ हल्दुखालकै अर्का किसान नारायण केसीले किसानलाई सुविधा दिनुको साटो स्थानीय सरकारले सिफारिसकै शुल्क तोकेर मारमा पार्ने काम गरेको बताए । किसानले स्थानीय सरकारले धान ढुवानीमा सुविधा ल्याउनुको साटो सिफारिसकै शुल्क लिईरहेको भन्दै किसानप्रति स्थानीय सरकार उत्तरदायी नभएको गुनासो पोखिरहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply