इजरायलको दक्षिण क्षेत्रस्थित किबुज अलिमिमबाट बेपत्ता पारिएका कञ्चनपुरका विपिन जोशी प्यालेस्टाइनी विद्रोही समूह हमासको नियन्त्रणमा रहेको इजरायलले पुष्टि गरेको छ । जोशी अक्टोबर ७ देखि बेपत्ता थिए । इजरायलको प्रधानमन्त्री कार्यालयले उनी हमासको बन्धकमा रहेको पुष्टि गरेको हो ।
‘हमासको बन्धकमा एक नेपाली रहेको इजराईलकाे प्रधानमन्त्री कार्यालयले बताएकाे छ । उनी गाजापट्टीको कुन क्षेत्रमा छन्, भन्ने स्पष्ट भई नसकेकाे बताएकाे छ ।
प्रधानमन्त्री कार्यालयले हमासको बन्धकमा जोशीसहित एक सय २२ विदेशी नागरिक रहेको बताएको छ । तीमध्ये सबैभन्दा बढी थाइल्यान्डका २४ जना छन् । उनीहरूलाई पनि किबुजबाटै बन्धक बनाएर लगिएको हो । उनीहरू कृषि क्षेत्रमा काम गर्थे । हमासले अर्जेन्टिनाका २१, जर्मनीका १८, अमेरिकाका १०, फ्रान्स र रसियाका ७/७ जना नागरिकलाई बन्धक बनाएको छ ।
हंगेरीका ४, पोल्यान्ड र पोर्चुगलका ३/३, चीन, फिलिपिन्स, रोमानिया, तान्जिनिया र बेलायतका २/२, अस्ट्रिया, ब्राजिल, क्यानडा, डेनमार्क, आयरल्यान्ड, लुथिनिया, मेक्सिको, नेदरल्यान्ड्स, सर्बिया, दक्षिण अफ्रिका, श्रीलंका, युक्रेन र उरुग्वेका एक–एक जना हमासको नियन्त्रणमा छन् । थप एक सय १८ जना इजरायली नागरिकलाई पनि हमासले बन्धक बनाएको कार्यालयले जनाएको छ ।
