एक लाख १७ हजारभन्दा बढी पर्यटक भित्रिए, पर्यटक आगमन हालसम्मकै उच्च

पछिल्लो समय बढ्दो पर्यटन गतिविधिसँगै आन्तरिक पर्यटकको आगमन ह्वात्तै बढेको छ । खासगरी छोटा तथा मध्यम रुटका ट्रेकिङ गन्तव्य तथा पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढेको हो ।

काठमाडौँ आसपासका पाँचपोखरी, सैलुङ, कालिञ्चोक, लाङ्टाङ मध्यवर्ती क्षेत्र–गोसाइँकुण्ड, रुविभ्याली लगायतका क्षेत्रमा यतिबेला आन्तरिक पर्यटकको घुइँचो लागेको छ ।

यस्तै केही लामो दुरीका कम्तीमा एक हप्ता समय लाग्ने ट्रेकिङ रुटहरू मार्दी, एबीसी (अन्नपूर्ण बेस क्याम्प), घान्द्रुक–पुनहिल, मनाङको तिलिचोदेखि कर्णालीको रारासम्म पर्यटकको घुइँचो नै लागेको छ ।अक्टोबर–नोभेम्बर महिना पर्यटनको मुख्य सिजन लागेसँगै विदेशीसहित आन्तरिक पर्यटकको चहलपहल तीव्र बढेको हो । यसले पर्यटन व्यवसायमा निकै ठूलो उत्साह थपेको पर्यटन व्यवसायीहरूको भनाइ छ ।

कोभिड–१९ पछि करिब तीन वर्ष पर्यटन व्यवसाय सुस्त रह्यो । तर सन् २०२३ सुरु भएलगत्तै आन्तरिकसँगै बाह्य (विदेशी) पर्यटकको फ्लो बढेको हो । ‘भन्ने नै हो पहिलो पटक ग्रामीण होमस्टे (घरबास सेवा) ले यतिबेला पर्यटकको फ्लो धान्न सकिरहेका छैन,’ होमस्टे एसोसिएसन नेपाल (होसान) गण्डकी प्रदेशका अध्यक्ष हरिलाल पौडेलले रातोपाटीसँग भने ।

दसैँ, तिहार र छठका अवसरमा एकै पटक आन्तरिक पर्यटक रारा ओइरिँदा खाने बस्नेको प्रबन्ध गर्न मुस्किल परेको कर्णाली पर्यटन उद्यमी समाजका अध्यक्ष एवं होटल व्यवसायी देवीकृष्ण रोकायले बताए ।

‘रारामा सीमित होटल छन् । जम्माजम्मी ८ वटा होटलले बढीमा एक दिनमा ३ सय पर्यटक धान्न सक्छन् । तर एकै दिन १२–१५ सय पर्यटक ओइरिएपछि व्यवस्थापन गर्न कठिनाइ पर्‍यो’ रोकायले भने ।

रारा इको रिसोर्ट तथा रारा एड्भेन्चर टुर एन्ड ट्रेक व्यवसाय सञ्चालन गरिरहेका व्यवसायी रोकायले मौसमी पर्यटकले गर्दा व्यवसाय बढेको तर व्यवस्थापनमा चुनौती थपिएको बताए ।

यस्तै समस्या सिन्धुपाल्चोकको पाँचपोखरीका पर्यटन व्यवसायीहरूले समेत भोगेका छन् । दसैँ, तिहार तथा छठका बिदाको समयमा एकै पटक पर्यटक पाँचपोखरी पुगेपछि त्यहाँका होटल व्यवसाय अस्तव्यस्त बन्न पुगेका हुन् । सीमित होमस्टे तथा होटल व्यवसायीहरूले एकै दिन ६–७ सयको पर्यटक धान्न नसकेको व्यवसायी छिरिङ तामाङले बताए ।

‘यति धेरै पर्यटक आउँछन् भन्ने हाम्रो अनुमान नै थिएन । दैनिक ५०–६० जनाको अकुपेन्सी यहाँका एउटा दुईवटा होटलले नै व्यवस्थापन गर्दै आएका थिए । तर एकै दिन ६–७ सय पर्यटक भित्रिएपछि व्यवस्थापनमा समस्या पर्‍यो ।’ बिदाका समयमा पर्यटकहरू पाँचपोखरी आउँदा खान, बस्नको राम्रो व्यवस्था गर्न नसकिएको उनले स्विकारे ।

अरू बेलामा त्यति पर्यटक नआउने हुँदा पाँचपोखरी आसपासका होटलहरूले आलोपालो दैनिक एउटा होटलले मात्र पर्यटक राख्ने गरेका थिए । तर अप्रत्यसित पर्यटक ओइरिँदा व्यवस्थापनमा समस्या परेको उनले बताए ।

यस्तै पर्यटन सिजनमा पर्यटकीय क्षेत्र पोखरा, सौराहा, इलाम, जनकपुरलगायतका क्षेत्रहरूमा समेत पर्यटकको बाक्लो उपस्थिति रहेको छ । जसले कोभिड–१९ पछि पुनः उत्साह फर्काएको पर्यटन व्यवसायीहरूको भनाइ छ ।
बाह्यतर्फ १० लाखको लक्ष्य

सन् २०२३ को जनवरीदेखि अक्टोबरसम्ममा करिब ८ लाख विदेशी पर्यटक नेपाल भित्रिइसकेका छन् । त्यसो त पछिल्लो अक्टोबर महिनामा मात्र एक लाख १७ हजारभन्दा बढी भित्रिएर पर्यटक आगमनमा हालसम्मकै उच्च रेकर्ड कायम भएको छ ।

नेपालको पर्यटन व्यवसाय कोभिड–१९ पूर्वकै अवस्थामा फर्किसकेको नेपाल पर्यटन बोर्ड (एनटीबी) ले जनाएको छ । सन् २०१९ को तुलनामा गत अक्टोबरमा १०४ प्रतिशतले पर्यटक आगमन रिकभरी भएको पर्यटन बोर्डका प्रवक्ता मणिराज लामिछाने बताउँछन् ।

सन् २०१९ को अक्टोबरमा १ लाख १३ हजार ८१६ जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए ।

सन् २०२३ मा १० लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्य छ । अक्टोबरसम्ममा करिब ८ लाख पर्यटक भित्रिसकेकोमा बाँकी नोभेम्बर र डिसेम्बरमा २ लाख पर्यटक सहजै आउने प्रवक्ता लामिछानेको भनाइ छ ।

‘हामी नोभेम्बरको करिब अन्तिममा छौँ । यो महिना पनि एक लाखभन्दा बढी पर्यटक आगमन भएको अनुमान छ । यद्यपि पूर्ण तथ्याङ्क आइसकेको छैन,’ लामिछानेले भने, ‘डिसेम्बरमा थप एक लाख पर्यटक सहजै भित्रिने हाम्रो अनुमान छ । यसो भयो भने १० लाखको सरकारी लक्ष्य सहजै पार गर्छौँ ।’

पर्यटन पूर्वाधार, पर्यटन गन्तव्यहरूको पहिचान र प्रचारप्रसारसँगै आकर्षणका नीति अपनाउन सके अझै पर्यटक बढ्ने प्रवक्ता लामिछानेको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply