बैतडीमा आजदेखि बिडिसिए कप जिल्लास्तरीय एकदिवसीय क्रिकेट प्रतियोगिता शुरू

बैतडीमा आजदेखि बिडिसिए कप जिल्लास्तरीय एकदिवसीय क्रिकेट प्रतियोगिता शुरू भएको छ । उद्घाटन खेलमा एनआरवाइसी बठ्ठा विजयी भएको छ । एनआरवाइसीले पञ्चकोटी क्रिकेट क्लब,बुड्डालाई ६ विकेटले पराजित गर्याे । जितका लागि पाएको ९८ रनको झिनो लक्ष्य एनआरवाइसीले १८.४ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्याे । जसमा कल्पेश चन्दले अविजित ३९ र प्रदीप चन्दले ३६ रनको योगदान गरे। एक समय १५ रन जोड्दा २ विकेट गुमाएर धर्मराएको पारीलाई प्रदीप र कल्पेशले ७६ रनको साझेदारी गर्दै जित सुनिश्चित गरे । पञ्चकोटीका कैलाश बुडालले २ विकेट लिए । यसअघि दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा टस जितेर पहिला ब्याटिङ गरेको पञ्चकोटी २२.३ ओभरमा ९७ रनमा अलआउट भयो । उसका सुमित बुडालले सर्वाधिक २८ रन बनाए । एनआरवाइसीका भुपेन्द्र चन्दले ४ र प्रदीप चन्दले ३ विकेट हात पारे ।
अलराउन्डर प्रदर्शन गरेका प्रदीप खेलका म्यान अफ द म्याच भएका स्कोरर द्रोपती कुँवरले जानकारी दिए । त्यसअघि प्रतियोगिताको नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले बलिङ र बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले ब्याटिङ गर्दै उद्घाटन गरे । बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालन हुने बिडिसिए कपको यो २० औं संस्करण हो । प्रतियोगितामा सहभागी हुने १३ टोलीलाई चार समूहमा विभाजन गरि खेलहरू भइरहेका बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोद बहादुर चन्दले जानकारी दिए ।
यो बर्ष बिडिसिए कप वान डे फम्र्याटमा भइरहेको बैतडी जिल्ला क्रिकेट संघले जनाएको छ । विगत बर्षहरुमा टी–२० फम्र्याटमा सञ्चालन हुँदै आएको प्रतियोगिता यो बर्ष ५० ओभरमा भइरहेको बैतडी जिल्ला क्रिकेट संघका सचिव सिद्धराज बोकटीले बताए । प्रतियोगिताको विजेताले ५० हजार नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेताले ३५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने बैतडी जिल्ला क्रिकेट संघले जनाएको छ । प्रतियोगिताले क्रिकेटको विकासका साथै खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply