नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनिङ ब्याटर कुशल भुर्तेल अहिले अस्ट्रेलियामा

नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनिङ ब्याटर कुशल भुर्तेल अहिले अस्ट्रेलियामा छन्।

अस्ट्रेलियाको भिक्टोरिया राज्यको फ्रान्कस्टोन पेनिन्सुला क्रिकेट क्लबमा आबद्ध भएर क्रिकेट खेल्नका लागि कुशल अस्ट्रेलिया पुगेका हुन्।

दुई दिनअघि अस्ट्रेलिया पुगेका कुशलले अहिले क्लबसँगको प्रशिक्षण सुरु गरिसकेका छन्। कुशललाई क्लबका साथीहरूले न्यानो स्वागत गरेको भिडिओसमेत सामाजिक सञ्जालमा सार्वजनिक भएको छ।

‘कुशलले फ्रान्कस्टोन पेनिन्सुला क्रिकेट क्लबबाट खेल्न लागेकोमा हामी निकै उत्साहित छौं,’ क्लबका जिएम माइक रोन्चीले सेतोपाटीसँग इमेलमार्फत् भने।

जिएम माइकका अनुसार क्लब र कुशलबीच कुनै ‌औपचारिक सम्झौता भने भएको छैन।

‘कुशलले अस्ट्रेलियामा क्रिकेट खेल्ने अवसर खोजिरहेका थिए। हामीले कुशलको साथीमार्फत् कुशलसँग सम्पर्क गरेका हौं,’ माइकले भने।

कुशल अस्ट्रेलियामा अनुभव बटुल्न आएको र क्लबबाट खेल्दा उनको खेल कौशल अझ बलियो हुने माइकले विश्वास व्यक्त गरे।

उनी दुई महिना अस्ट्रेलिया बस्ने क्लबको भनाइ छ।

‘उनले जनावरीको अन्त्यसम्म क्लबबाट खेल्नेछन्। त्यसपछि उनी राष्ट्रिय टिमबाट खेल्नका लागि नेपाल फर्कनेछन्,’ जिएम माइकले भने।

फ्रान्कस्टोन अस्ट्रेलियाको भिक्टोरिया राज्यको शीर्ष क्लब मध्ये एक हो। क्लबले भिक्टोरियाको शीर्ष प्रतियोगिता खेलिरहेको माइकले बताए। यहि क्लबबाट अस्ट्रेलियाका टेस्ट क्रिकेटर स्कट बोलान्डको ‘होम क्लब’ हो।

क्लबमा रहदा कुशलले एकदिवसीय र टी-२० खेलमा सहभागिता जनाउनेछन्। क्लबले भिक्टोरिया प्रिमियर क्रिकेटअन्तर्गतका विभिन्न राज्यस्तरीय प्रतियोगिता खेल्नेछ। अहिले क्लबले क्लबस्तरीय कूकाबुरा मेन्स प्रिमियर प्रतियोगिता खेलिरहेको छ।

जिएम माइकका अनुसार क्लब र कुशलबीच कुनै आर्थिक सम्झौता पनि भएको छैन।

कुशलका लागि त्यहाँको स्थानीय नेपाली समुदायले सहयोग रकम उठाएर अस्ट्रेलिया ल्याएको पनि उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply