धनगढी–१६ पुगेर प्रधानमन्त्री प्रचण्डले भने-मलाई बडो नमिठो लाग्यो

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार बिहान धनगढी विमान स्थलबाट ओर्लने बित्तिकै सरासर थारु गाउँ भादा हुइँकिए । उनी धनगढीमा आयोजना हुने सुदूरपश्चिम महोत्सव उद्घाटन गर्न आएको प्रचार गरियो । तर उनी त्योभन्दा अगाडि नै धनगढी बजार छिचोल्दै १७ किलोमिटरको दुरी तय गर्दै धनगढी उपमहानगरपालिका १६ स्थित थारु होमस्टे गाउँ भादा पुगे । बुझ्दै जाँदा उनी आफ्नो पार्टीगत कार्यक्षेत्र धनगढी उपमहानगरपालिका १६ पुगेका हुन् । नेकपा माओवादी केन्द्रले सञ्चालन गरेको जनतासँग माअ‍ोवादी विशेष रुपान्तरण अभियान अन्तरगत उनी आफ्नो कार्यक्षेत्र यहाँ बनाएका हुन् । त्यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष प्रचण्डले कार्यक्रम स्थल पुग्दै गर्दा आफूलाई नमिठो अनुभूति भएको सुनाए । ‘म धनगढीबाट आउँदै गर्दा बाटो जस्तै देखेँ । मलाई बडो नमिठो लाग्यो । पिच जस्तो पनि छ । ग्राभेल जस्तो पनि छ । बिच–बिचमा ठूलठूला रुख पनि छन् । बाटो सीधा जान सकेको पनि छैन । वनको समस्या जटिल समस्या रहेको मैले प्रत्यक्ष भोगे’, उनले भने, ‘त्यहाँबाट यहाँ आउँदा दुईटा पुल, एउटा निर्माण भइसकेको पुल र एउटा बन्दै गरेको पुल मैले आफ्नै आँखाले प्रत्यक्ष देख । बन्दै गरेको पुल टेण्डर भएर पनि वर्षौसम्म बन्न नसकेको पाए । अहिले पनि बजेट थोरै परेर बन्न नसकेको पुलसँग सम्बन्धित अधिकारीहरुले बताइसक्नु भएको छ । तपाईँको वडामा मैले आउनुको अर्थ मैले केही न केही गर्नै पर्छ । पुलमा बजेटको कमी हुने दिने छैन र निर्माण कम्पनीलाई त्यही अनुसार निर्देशन पनि हुनेछ ।’

त्यस्तै, प्रचण्डले पार्टीको अभियान अन्तरगत आफ्नो यो वडा छैठौं वडा रहेको खुलाए । यो वडा क्रान्ति कालको महत्त्वपूर्ण वडा रहेको चर्चा गर्दै उनले आफूहरुले सेल्टर लिएको वडा रहेको समेत चर्चा गरे ।

प्रचण्डले भने, ‘पार्टीको तीन महिने अभियान सबैतिर जारी छ । पार्टीको अध्यक्षले ७ प्रदेशको ७ वडामा कार्यक्षेत्र लिने निर्णय निर्णय भयो । त्यसै अनुसार हालसम्म मैले ५ प्रदेशको ५ वडामा गइसकेको छु । कर्णाली, लुम्बिनी, मधेस, बाग्मती, गण्डकी प्रदेशमा गइसकेको छु । यो छैठौ वडा चाहिँ सुदूरपश्चिमको धनगढी उपमहानगरपालिका १६ हो । अब कोसी प्रदेशको एउटा वडामा बाँकी छ ।’

पहिलो पटक यहाँ आएका प्रम प्रचण्डलाई स्थानीयले धनगढी उपमहानगरपालिकाको वडा नंं १५, १६ र १७ को समस्या तथा मागलाई लिएर १७ बुँदे ज्ञापनपत्र बुझाए ।

के–के छन् मागहरु ?

-बेलीदेखि चौमाला कृषि सडक कालो पत्रे गर्नुपर्ने

-देवहरिया जोखरतालदेखि बेहडा बाबा मन्दिरसम्म सडक कालोपत्रे गर्नुपर्ने

-उर्मा स्वास्थ्य चौकी घसिटालाई १५ शैयाको अस्पताल बनाउनुपर्ने

-बेहडा बाबा नमुना माविलाई बहुमुखी क्याम्पस बनाउनुपर्ने

-बेहडा बाबा धार्मिक पर्यटकीय क्षेत्रलाई विश्व समुदायमा चिनाउन स्तरोन्नति गर्नुपर्ने

-थारू होमस्टे गाँउ भादालाई थप स्तरोउन्नती गर्नुपर्ने

-रामपुरदेखि भादा कुलो नियन्त्रण सुखही खोलामा तट्बन्धन

-भुमिहिन र अव्यवस्थित बसोमासीको सम्स्यालाई यथासिघ्र समाधान गर्दै राजस्व घटाई पुर्जा वितरण गर्नुपर्ने

-धनगढी उप–महानगरपालिकाको वडा नं. १७ देखि वडा नं. १५ को खुटिया पुलदेखि दक्षिणसम्म पर्ने खुटिया र शिवगंगा नदीमा तट्बन्धन गर्नुपर्ने ।

-धनगढी उप–महानगरपालिका वडा नं. १६ देखि कैलाली कैलारी गाउँपालिका वडा नं. ९ सामरचौरा जोड्ने पक्की पुल यथासक्के चाँडो निर्माण गर्नुपर्ने ।

-धनगढी उप–महानगरपालिका वडा नं. १६ मा रहेको ओझा टोलदेखि रामपुर जोड्ने पक्की पुल निर्माण गर्नुपर्ने ।

-गुरूवान टोलदेखि ओझाटोल जोड्ने सुखही खोलामा पक्की पुल

-वडा नं. १६ मा रहेको श्री बेहडा बाबा माविको ५०० मिटर पश्चिममा रहेको खेलमैदानलाई वडा नं. १६ कै खेलमैदानको रूपमा स्तरोन्नति गर्नुपर्ने

-फूलवारीदेखि कनरी उर्मा भादा घुरही हुँदै चौमाला चनौरा हुने रिङ्गरोडलाई चाँडो भन्दा चाँडो सुरूवात गर्नु पर्ने ।

-वडा नं. १६ मा रहेको १४ किलोमिटर रोडलाई कालोपत्रे गर्नुपर्ने

-घुरहा च्युरीबारीदेखि दक्षिण घुरहीसम्म तटबन्धन

-१५, १६ र १७ लाई कृषि पकेट क्षेत्र बनाउने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply