अवध साहु आफन्त भेट्न होस कि खेती हेर्न दिनहुँ जमुनी नदीमाथि ओहोरदोहोर

१६ फागुन धनगढी
अवध साहु आफन्त भेट्न होस कि खेती हेर्न दिनहुँ जमुनी नदीमाथि ओहोरदोहोर गर्नुपर्छ। जमुनी नदी नेपालभारत सीमामै पर्छ।धनुषाको मुखियापट्टी मुसहरनियाँ बस्ने अवधका धेरै आफन्त र खेत नदी पारी छन्।

जमुनीमाथि पुल छैन।

यहाँ पुल नहुँदा आफूले पाएको दु:खबारे अवध भन्छन्- कति दु:ख हुन्छ भनेर म शब्दमा भन्न सक्दिनँ।

‘गएको असारमा बहिनीको घरबाट फर्किँदै थिएँ। बाढीले झण्डैले बगाइसकेको थियो। म डुब्नै थाल्दा खेतमा काम गर्नेहरूले मलाई बचाए,’ उनले भने, ‘बाली र घाँसपात भित्र्याउँदा पनि खोलाले बगाइदिन्छ भन्ने पीर परिरहन्छ।’

मुखियापट्टी मुसहरनियाँ, नगराइन जस्ता सीमावर्ती क्षेत्रका बासिन्दालाई हाटबजार, उपचार लगायतका काममा भारतीय बजार जान पायक पर्छ।

जमुनीमाथी पुल नभएकाले दैनिकी कठिन बनेको छ।

सरकारले यो नदीमाथि पुल बनाउन नखोजेको होइन। जनकपुर–जटही ६ लेन सडकमा पर्ने जमुनी खोलाको पुल, लगमा बनाउन लागेको झोलुङे पुल, जमुनी घाटको र अखडा घाटमा पुल बनाउने निर्णय गरेर निर्माण पनि थालिएको छ।

जनकपुर–जटही सडकखण्डमा पर्ने जमुनी नदीको ६ लेन पुल निर्माणका लागि १ मार्च २०१९ मा ठेक्का सम्झौता भएको थियो। रमण/कमल जेभी जनकपुरले २५ अगस्त २०२३ सम्म निर्माण सम्पन्न गर्ने भन्दै ठेक्का सम्झौता गरेको थियो।

सम्झौताअनुसार जटही–पिप्ररोन सडक खण्डको दसगजामा नेपालले निर्माण गरिरहेको उक्त पुलको तीनवटा पिलर बनाइसकिएको छ। पुलको माथिल्लो भाग ढलान गर्न बाँकी निर्माण कार्य अवरोध भएको छ।

सो पुल नबन्दा त्यहाँ रहेको पुरानो जीर्ण पुलबाट सर्वसाधारणले आवतजावत गरिरहेका छन्।

दसगजा नजिकै रहेको जटहीको भन्सार कार्यालयसम्मै धनुषातिर ६ लेनको सडक छ। दसगजामा पुल बनाएर नेपालले भारतको पिप्रोनलाई त्यही सडकसँग जोडन खोजेको हो। भारतसँग आयात–निर्यात गर्न सजिलोका कारण ढल्केवर–जनकपुर–जटही ६ लेनको सडक निर्माण गरिएको छ।

जटहीको पुल पनि निर्माण कार्य रोकिएपछि मालवाहक गाडी जटही नाकाबाट आउजाउ गर्न मिल्दैन।

परिक्रमा सडकमा समेत पर्ने जमुनी नदीको थलही घाटको पुल अलपत्र परेको हो । ब्रजगुरू मैलङसुग जेभी जनकपुरले ५० मिटर लामो यो पुल निर्माणका लागि सडक डिभिजन कार्यालय जनकपुरसँग ३१ जुलाई २०१४ मा ठेक्का सम्झौता गरेको थियो। उक्त पुल १२ फ्रेब्रुअरी २०२१ मा निर्माण सम्पन्न भइसक्नुपर्ने थियो। तर आधा मात्रै निर्माण कार्य हुन सकेको छ।

पुलको काम रोकिँदा सीमावर्ती भारतीय बजार पिप्ररोनमा रहेको भारतको ४ लेन सडकसँग पनि ढल्केवर–जनकपुर–जटही ६ लेन व्यापारिक सडकको सम्पर्क टुटेको छ। पुलको ३० प्रतिशत मात्रै भौतिक प्रगति हुन सकेको सडक डिभिजन कार्यालय जनकपुरका सूचना अधिकारी इन्जिनियर सञ्जयकुमार यादवले बताए।

घाटको पुलको काम पनि रोकिएको छ। रमन कमल जेभी जनकपुरले यो पुल निर्माणका लागि २१ मे २०१७ मा सडक डिभिजन कार्यालयसँग सम्झौता गरेको थियो। कार्यालयका सूचना अधिकारी यादवका अनुसार उक्त पुल २५ अगस्त २०२३ मा उक्त पुल निर्माण गरिसक्नुपर्थ्यो। तर ६० मिटर लम्बार रहेको उक्त पुलको ५५ प्रतिशत मात्रै भौतिक प्रगति रहेको उनले बताए ।

सरकारीपक्षकै लापरबाहीका कारण निर्माणकै क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले रोकेपछि चारवटा पुल अलपत्र छन्। भारतीय सीमा पिल्लरहरू भारतीय भूमिमा परेकाले एसएसबीले रोकेको हो। कतिपय निर्माणाधीन पुलको छेउमै भारततिर एसएसबीले चेक प्वाइन्ट राखेको छ।

झुलुंगेसहित चारवटै पुल भारतसँग अनुमति नलिइ योजना बनाएर पुल निर्माण सुरू गरिएकाले एसएसबीले अवरोध गरेको धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रापाणी पाण्डेले बताए ।

‘बिनाअनुमती दुई देशको सीमामा त्यसरी पुल बनाउनै पाइँदैन। त्यतिबेला कसरी योजना बन्यो मलाई थाहा भएन,’ उनले भने, ‘अहिले यसको सबै रिपोर्टिङ परराष्ट्र मन्त्रालयको सचिवस्तरीय बैठकमा हामीले गरेका छौं। नेपाल भारतको परराष्ट्र मन्त्रालयको सचिवस्तरीय बैठकमा यो एजेन्डा पुगिसकेको छ। यो सिडियो र डिएमस्तरबाट समाधान हुने समस्या पनि होइन। कूटनीतिक बाटोबाट दुई देशबीच टुंगो लाग्ने कुरा हो।’

सडक डिभिजन, जिल्ला प्रशासन हुँदै परराष्ट्र मन्त्रालयसम्म धाउँदा समेत पुलको काम अगाडी बढ्न नसकेको मुखियापट्टी मुसहरनियाँ गाउँपालिकाका अध्यक्ष जयकुमार यादवको भनाइ छ।

‘जमुनी र जटही दुइटै पुलको पिलर भारतीय भूमीमा पनि छ। निर्माण सुरू हुँदा त्यतीबेला त कसैले केही भनेन् तर पछि एसएसबीले अवरोध गर्न थाले। हामीले बुझ्दा भारत सरकारले देशभर भारतीय भूमिमा समेत पिलर पर्ने सबै पुलको काम गर्न रोक लगाउने सर्कुलर जारी भएको रहेछ,’ उनले भने।

भारतीय पक्षको अबरोध हटाएर अलपत्र परेका पुलहरू निर्माण कार्य अघि बढाउन दिन केही समयअघि कांग्रेसका नेता विमलेन्द्र निधिले भारत, बिहारको मुज्जफरपुर पुगेर भारती जनता पार्टी (बिजेपी) का सांसदसँग अनुरोध गरेका थिए। मुखियापट्टी मुसरनियाका अध्यक्ष यादव र नगराइन नगरपालिकाका प्रमुख विनयकुमार यादवसहित मुज्जफरपुर पुगेका कांग्रेस नेता निधिले बिजेपीका सांसद अजय निषादसँग पुलबारे समस्या राखेका थिए। निषादले भारतीय पक्षका कारण रोकिएको पुलको निर्माणका लागि आफू गृहमन्त्री अमित साहसित छिट्टै भेटेर कुराकानी गर्ने आश्वासन दिएको उनीहरूले बताए।

जमुनी नदी नेपाल–भारत सम्बन्धको सेतु रहेको भन्दै मुखियापट्टी मुसरनिया गाउँपालिकाले गत जेठ २९ गते पुल निर्माणमा एसएसबीले अबरोध गरेको कुरा पत्रमार्फत् जिल्ला प्रशासन कार्यालय धनुषालाई जानकारी गराएको थियो। उक्त पत्रमा मुखियापट्टी मुसरनिया–६ स्थित गिरिजा पथ मिथिला माध्यमिकी परिक्रमाको प्रमुख मार्ग रहेकाले त्यहाँ निर्माण भइरहेको पुलमा भारतीय पक्षको अबरोध रहेको उल्लेख गरिएको छ। जिल्ला प्रशासन कार्यालयलाई पुलमा अबरोध रहेको आठ महिनाअघि जानकारी गराए पनि कूटनीति पहल नभएपछि मुखियापट्टी मुसरनिया गाउँपालिकाले परराष्ट्र मन्त्रालयलाई पत्र लेखेर पुल निर्माणमा रहेको भारतीय अबरोध हटाउन कूटनीति पहल गरिदिन अनुरोध गरेको छ ।

झुलुंगे पुलको विवरण आफूहरूसँग नरहेको सडक भिडिजन कार्यालय जनकपुरका सूचना अधिकारी यादवले बताए ।

‘अरू पक्की पुल निर्माणका लागि सहज बनाइदिन बेलाबेलामा हामीले परराष्ट्र मन्त्रालयलाई चिठी लेखेका छौं। जवाफ अहिलेसम्म केही आएको छैन। अलपत्र परेका पुलहरु कहिलेसम्म बन्ला भन्नसक्ने अवस्था छैन,’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply