स्कुलको हेडमास्टर हुँदा पनि मैले विभेद भोग्नुपर्‍यो

२० फागुन धनगढी
चालिसको दशकदेखि नेपाली कथा साहित्यमा कलम चलाउँदै आएका वीरसिंह विश्वकर्माको पहिलो उपन्यास हाे ‘दी एग्जाइल’। अङ्ग्रेजी उपन्यासलाई बिरानो मुलुक नाम राखेर यसै वर्ष मात्र नेपालीमा प्रकाशित गरेका हुन्। सुम्निमा विश्वकर्मा र स्वर्णिमा विश्वकर्माले संयुक्त रूपमा प्रकाशनमा ल्याएको यो उपन्यास ३ सय ४० पृष्ठको छ।

दैलेख जिल्लाको गुराँस गाउँपालिका निवासी विश्वकर्माले अंग्रेजीमा एमएड गरेका छन्। डिएभी स्कुल, जावलाखेलमा अंग्रेजी पढाउँदै आएका शिक्षक विश्वकर्माले ‘दी एग्जाइल’ सन् २०१६ मा भारतको दिल्लीस्थित महावीर पब्लिसर्सले प्रकाशन गरेको थियाे। र, २०२२ मा उनले नेपालीमा ल्याए। उनीसँग देश सञ्चारले गरेको कुराकानीको सम्पादित अंश:

अंग्रेजी उपन्यास ‘दी एग्जाइल’लाई नेपालीमा ल्याउनुपर्छ भन्ने किन लाग्यो?

यस प्रश्नको सोझो उत्तर दिनुभन्दा अघि ‘दी एग्जाइल’ अंग्रेजीमा किन लेखियो, यसबारे छोटो चर्चा गर्नु बढी सान्दर्भिक होला जस्तो लाग्छ। पहिलो कुरा त म आफैं अंग्रेजी अध्यापन गर्ने शिक्षक। पेशागत न्याय त दिनै पर्‍याे। जुन कर्मले जिउने आधार दियो, त्यसको पनि नुनको सोझो त गर्नैपर्‍यो। नुनको सोझो गर्नुपर्छ भन्ने नैतिक दवाव पर्‍याे भनौं । हुन त नेपालीमा त सबैले लेखिरहेकै छन्। अंग्रजी लेख्दा पो नयाँ होलाजस्तो लागेर लेखें। अनि तेस्रो कुरा जातीय छुवाछुतजस्तो जघन्य अपराधलाई राष्ट्रिय स्तरमा मात्र नभइ अन्तर्राष्ट्रिय स्तरबाट पनि भण्डाफोर हुनुपर्छ र त्यसको समुल नष्ट गर्न त्यो स्तरबाट चर्को दवाव आउनुपर्छ भन्ने लागेर नै ‘दी एग्जाइल’ अंग्रेजीमा लेखिएको हो भन्दा अत्युक्ति नहोला।

र, साहित्यको यो बहुआयामिक विधालाई सामान्यभन्दा सामान्य पाठकसम्म किन नपुर्‍याउने त भन्ने पनि लाग्यो र दी एग्जाइललाई नेपालीमा बिरानो मुलुक बनाएको हुँ।

आफ्नो किताब आफैंले अनुवाद गर्दा के कुराको चुनौती हुँदो रहेछ?

पहिला नेपालीमा लेखेर पछि अंग्रजीमा अनुवाद गर्नु परेको भए त त्यो गाह्रै हुन्थ्यो होला। यो त पहिला अंग्रेजीमा लेखिएको हुँदा त्यत्रो चुनौती बेहोर्नु परेन। बरु मानवीय संवेग जो साहित्यको धड्कन हो, त्यसलाई कथामा घोल्न पाइयो। नेपाली मनलाई जस्ताको तस्तै राख्न पाइयो। निकै सन्तोष लागेको छ। बरु सीमा नाघिएला कि भन्ने डर हुँदोरहेछ।

पुनर्लेखन गर्ने अवसर कत्तिको पाइँदो रहेछ?

पुर्नलेखन नहुने त कुरै भएन नि। आफ्नै कृति भएकोले कथालाई जुन बाटो डोर्‍याऊँ भने पनि पाइयो। कतैबाट रोकटोक भएन। तब त २३९ पेजको दी एग्जाइल बिरानो मुलुकसम्म आइपुग्दा ३४० पेज भयो। यदि यसलाई फेरि लेख्नु परे ४०० पेज नाघ्छ होला। अझै धेरै कुरा पो छुटे कि झैं लाग्छ।

अनुवादभन्दा नयाँ किताबमा नै काम गरेको भए पुस्तक संख्या थपिन्थ्यो भन्ने लागेन?

अवश्य लाग्यो। दी एग्जाइल लेखिसकेलगत्तै मैले अर्को उपन्यास पनि लेखें, जसको पाण्डुलिपि मसँग सुरक्षित छ। सम्पादन गरेको छैन। बरु त्यसलाई नेपालीमा पो अनुवाद गर्ने कि भनी सोंचिरहेको छु। निर्णयमा पुगेको छैन।

अन्यौल मै थिएँ दी एग्जाइलको नेपाली संस्करणको माग बढ्यो जस्तो लाग्यो। त्यसैले नयाँ किताबलाई थाती राखेर बिरानो मुलुक लेख्नतिर लागें।

उपन्यासको मुख्य पात्र (जसले कथा भनिरहेको छ) दलित समुदायको छ। त्यो पात्रमा लेखक कति प्रतिशत भेटिनुहुन्छ?

दलित समुदायका हरेक युवा उपन्यासको प्रमुख पात्र रूपलाल नै हुन् जस्तो लाग्छ। अन्तरजातीय प्रेम गरेकै कारण उनीहरूले कुटाइ खानु परेको छ। गाउँ छोड्नु परेको छ। त्यति मात्र नभइ, ज्यानसमेत गुमाउनु परेको छ। गाउँमा ठाउँ पाउँदैन, सहरमा कोठा पाउँदैन। हिन्दु धर्ममा आस्था हुँदाहुँदै पनि ढुंगे देवता पुज्न पाउँदैन। नचाहेर पनि ऊ धर्म परिवर्तन गर्न विवश छ। सहज रूपमा कोठा पाउने होओस् या मान्छेको पंक्तिमा उभिने होओस्, उसले जात छुपाउनु पर्ने बाध्यता छ। ऊ जहाँ जान्छ त्रसित मानसिकता बोकेरै जान्छ। बिचरा ऊ त्रासको बोझले लुलो भएको छ। न ऊ निर्धक्क खान सक्छ, न बोल्न सक्छ न त निर्धक्क निदाउन नै सक्छ। यस मानेमा लेखकको उपस्थिति उपन्यासमा सत प्रतिशत नै देख्छु म।

छुवाछुतलाई मुख्य विषय बनाएर अंग्रेजीमा लेखिनुपर्छ भन्ने कहिले?

छुवाछुत हिन्दु धर्मले कथित दलित वर्गलाई बोकाइदिएको गह्रौं भारी हो। यसलाई उसले चाहेर पनि मिल्काउन सक्दैन। जुका जसरी टपक्क टाँसिएको यस रक्तपिपासुलाई खुर्केर फाल्न पीडितले प्रयत्न नगरे कसले गर्ने? लेखक आफैं पीडित भएपछि छुवाछुत नै मेरो प्राथमिकताको विषय बन्यो जस्तो लाग्छ। हुन त दी एग्जाइल पनि नेपालीमै लेख्न सुरु गरेको हुँ मैले। तर आफ्नै भाषिक क्षमता माथि शंका लाग्यो। बजारमा एक से एक राम्रा साहित्यिक कृति आइरहेको बेला वर्षौंपछि नेपालीमा कलम चलाएर किताव बजारमा पठाउँदा त्यसको हविगत के होला जस्तो लाग्यो। त्यसैले पनि यसलाई अंग्रेजी लेख्ने अठोट गरेको हुँ। यो सन २०१४ को कुरा हो।

उपन्यासमा अन्तरजातीय विवाहको विषयको उठान गर्नु भएको छ, अहिले अन्तरजातीय विवाहलाई हेर्ने दृष्टिकोण कस्तो छ?

मलाई लाग्छ यस विषयमा धेरै बोल्नु जरुरी नै छैन, रुकुमको नरसंहार हेरे पुग्छ। टिचिङ हस्पिटलमा सड्दै गरेको अजित मिजारको लास हेरे पुग्छ। दैलेखको सेते दमाइलाई सम्झे पुग्छ। त्यतिले नपुगे बिरानो मुलुक उपन्यासको मूल पात्र रूपलाल आफ्ना वृद्ध बाआमालाई भेट्न सुटुक्क घर पुग्दा उसको घरको हविगत कस्तो थियो त्यो हेरे पुग्छ। थाहै छ बलबुताले भेटेसम्म यो समाजले अन्तरजातीय विवाहलाई रोक्ने यत्न गर्छ। रोक्दा रोक्दै पनि कसैले गरिहाल्यो भने त्यो जोडी सामाजिक रूपमा बहिस्कृत हुन्छ। छोराले बाआमा त्याग्नु पर्छ या छाेरीले माइती त्याग्नु पर्छ। नाता तोडिन्छ। हक खोसिन्छ। यति कि बच्चा जन्माइसकेपछि पनि बिछोड गराउने तानाबाना बुनिन्छ र बिछोड गराइन्छ।

उपन्यास बिरानो मुलुक तपाईंको आफ्नै कथा त होइन नि?

बिरानो मुलुक मेरो जीवनमा घटेको नितान्त व्यक्तिगत घटनाचाहिं होइन। यसलाई म हिन्दु समाजको एउटा चित्र हो भन्न रुचाउँछु। यद्यपि यसमा उल्लेख गरिएका केही घटना ममा पनि नघटेका होइनन्। धेरै ठाउँमा मैले पनि जात ढाँटेको छु। थर थाहा पाएपछि मलाई पनि कोठा दिन इन्कार गरिएको छ काठमाडौंका कतिपय घरमा। हिन्दु समाजको चरित्र नै हो यो। व्यक्तिको बानी व्यहोरा, चालचलन, पेशा व्यवसाय, केही चाहिँदैन यसलाई। थर चाहिन्छ। थर थाहा पाए पुग्यो। चिना जोखना समाज आफैंले निर्धारण गरिहाल्छ।

शिक्षक पनि हुनुहुँदोरहेछ, विद्यालयमा कहिले विभेद भोग्नु भयो?

विद्यालय समाज परिवर्तनको उद्गम बिन्दु हो जहाँ विभिन्न विषयका पाठ्यसामग्रीको माध्यमबाट समाज परिवर्तनको मार्ग कोरिन्छ। त्यसैले समाज परिवर्तन गर्ने पवित्र संस्थामा विभेद होला भन्ने त कल्पनासम्म पनि गर्न सकिँदैन र गर्नु पनि हुँदैन। तर सरकारी विद्यालयमा पढाउँदा भने पाइला पाइलामा विभेद भोगेको छु।

हेडमास्टर हुँदासम्म पनि कथित उच्च जातबाट विभेद भाेगें। हेडसरलाई खाना खुवाउन पिँढीमा बसालिन्थ्यो र खाएको थाल बटुका आफैं माझ्नु परेको थियो। तर हाल पढाइरहेको विद्यालयमा भने त्यस्तो नमीठो महसुस गर्नु परेको छैन। सायद राजधानीको मुटुमा अवस्थित नाम चलेको विद्यालय भएर पनि होला।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply