धुवाँ र तुवाँलोले आकाश ढाक्दा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान अवरूद्ध

७ चैत धनगढी
धुवाँ र तुवाँलोले आकाश ढाक्दा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान अवरूद्ध भएको छ।

बुधबार बिहान पोखराबाट बुद्ध एयरको दुइटा र यति एयरको एउटा फ्लाइट पोखराबाट काठमाडौं उडे पनि त्यसपछि उडान अवरूद्ध भएको विमानस्थलका सूचना अधिकारी जशोदा रेग्मीले जानकारी दिइन्।

‘पोखराबाट तीन वटा फ्लाइट आज बिहान काठमाडौं उड्यो, त्यसपछि अरू उडान हुन सकेको छैन,’ उनले भनिन्, ‘धुँवा र तुवाँलोले आकाश ढाकेकाले उडान प्रभावित भएको छ।’

पोखराबाट काठमाडौं बिहान तीन वटा जहाज गए पनि काठमाडौंबाट पोखरा एउटा पनि जहाज आउन नसकेको उनले बताइन्।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट जहाजले उडान तथा अवतरण गर्न कम्तिमा ३ हजार ८ सय मिटर टाढासम्म आँखाले देखिनुपर्छ।

धुँवा र तुवाँलोले गर्दा रनवेको एउटा छेउबाट अर्को छेउ पनि नदेखिएको विमानस्थलले जनाएको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा विमान उडान तथा अवतरण गराउन अत्याधुनिक प्रविधि जडान गरिएको छ।

प्रविधिमा आधारित उडान एवं अवतरण गर्न ‘इन्स्ट्रुमेन्ट फ्लाइट रूल’ प्रयोगमा रहेपनि ३ हजार ८ सय मिटर टाढासम्म आँखाले देखिनुपर्ने रेग्मीले बताइन्।

आँखाले हेरेर मात्र उडान तथा अवतरण गर्ने भिजुअल फ्लाइट रूल अनुसार उडान तथा अवतरण गर्न भने ५ हजार मिटर टाढासम्म आँखाले देखिनुपर्ने उनको भनाई छ।

विमानस्थल अवरूद्ध हुँदा यात्रु अलपत्र परेका छन्। पोखरामा संचालित नयाँ र पुरानो एयरपोर्टमा गरी दैनिक १ सय २५ उडान हुँदै आएका थिए। दैनिक ३ हजारदेखि ४ हजारसम्म यात्रुले विमानस्थलको प्रयोग गर्ने गरेको रेग्मीले बताइन्।

नयाँ विमानस्थलबाट काठमाडौं, भरतपुर, भैरहवा र नेपालगञ्ज हवाइ सेवा संचालनमा छ भने पुरानो विमानस्थलबाट मुस्ताङ, हेलिकप्टर र अल्ट्रालाइट उडान हुँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply