मन्दिरमा चढाएको फूलपाती बटुलिन्, ४ लाख लगानीमा बनाइन् ‘फूलप्रसाद’

९ चैत धनगढी
मन्दिरै मन्दिरको सहर काठमाडौंमा हजारौं भक्तजन फूलपाती लिएर मन्दिर पुग्छन्। उनीहरूले चढाएको फूलपाती पछि यसै खेर जान्छ।

मन्दिर गइरहने काठमाडौंकी सुषमा शर्मा पनि फूलपाती चढाउँथिन्। चढाएको फूलपाती छरपस्ट वा कतै थुप्रो लागेर कुहिएको त कतै खोलामा बग्दै गरेको देख्थिन्।

करिब पाँच वर्षअघि उनले मनन गरिन्, ‘मन्दिरमा चढाएपछि यसै खेर जाने फूलपाती उपयोगको कुनै विकल्प होला कि!’

सुषमाले खोजबिन गरिन्। इन्टरनेट चहार्दै जाँदा एक उद्यमीले फूलबाट अगरबत्ती अर्थात् धुप बनाएको भिडिओ देखिन्। त्यसले उनको ध्यानाकर्षण गर्‍यो।

उनी फूलबाट धुप बनाउने केही उद्योगमा पुगिन्। प्रक्रियाबारे जानकारी लिइन्। सबैजसो उद्यमीले ताजा फूल प्रयोग गरेको पाइन्।

सुषमा भने मन्दिरमा चढाएर बाहिर निकालिएको फूल नै पनि प्रयोग हुन सक्छ भन्ने निष्कर्षमा पुगिन्।

‘धुप बनाउन फूललाई धूलो बनाउनुपर्छ। ताजा वा मन्दिरबाट निकालिएको फूलमा खासै भिन्नता हुँदैन भन्ने अनुमान गरेँ,’ सुषमाले भनिन्, ‘त्यसैअनुसार मन्दिरबाट निकालिएको फूलपातीबाट धुप बनाउने प्रयास गरेँ। राम्रो बन्यो।’

त्यसपछि उनले धुप उद्योग चलाउने निधो गरिन्। मन्दिरको प्रसाद मानिने फूल प्रयोग गरेर धुप बनाउने भएकाले फूलप्रसाद प्रालि नाम राखेर उद्यम दर्ता गराइन्।

फूलप्रसादको सन्देश ‘फ्रम वेस्ट टु वर्थ’ अर्थात् ‘फोहोरबाट मोहोर’ हो। सुरूदेखि नै यसका पाँच उद्देश्य छन् — हाते धुप बनाउने, सम्पदा क्षेत्र सफा राख्ने, महिलाको आर्थिक सशक्तीकरणमा मद्दत गर्ने, वानस्पतिक उत्पादन हुने र वातावरणसंगत हुने।

सुषमा यसैअनुसार अघि बढिन्। पहिलो चरणमा चार लाख रूपैयाँ लगानी गरिन्। पाँच जना स्थानीय महिला जम्मा गरिन् र धुप बनाउन सिकाइन्। परीक्षणका लागि छरछिमेकी र आफन्तहरूलाई बाँडिन्। सबैबाट सकारात्मक प्रतिक्रिया आयो। यसपछि प्याकेजिङ सुरू भयो।

‘गुणस्तरीय उत्पादन दिने र अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने मेरो लक्ष्य थियो। त्यसैअनुसार प्याकेजिङ सुरू गरेँ,’ उनले भनिन्।

तर फूलप्रसादको प्रारम्भिक यात्रामै कोरोना लकडाउनले बाधा हाल्यो। सुषमाले त्यो समय धुपबारे थप खोज गरिन्। प्याकेजिङ, ब्रान्डिङ र बजारीकरणको योजना बनाइन्। अन्य कम्पनीको उत्पादन पनि नियालिन्। लकडाउन खुकुलो हुँदै गएपछि विशालनगरस्थित आफ्नै घरमा महिलाहरूलाई तालिम दिँदै गइन्।

यसरी २०७५ सालदेखि मन्दिरमा चढाएको फूल सुगन्धित धुपमा रूपान्तरण गरेर सुषमाले मन्दिरमै फर्काउन थालिन्।

कम्पनीले अहिले पशुपतिनाथ, गुह्येश्वरी लगायत काठमाडौंका केही मन्दिरबाट फूल संकलन गर्छ। फूल जम्मा गर्न ‘फूल मलाई’ लेखिएको ढ्वाङ राखेको छ। फूल धेरै प्रयोग हुने चाडपर्व तथा उत्सवहरूमा ‘फूल मलाई’ अभियान नै चलाउँछ।

यसरी जम्मा भएको फूल गाडीले उठाएर कम्पनीको कपनस्थित कारखानामा लैजान्छ।

संकलित सयपत्री, चन्दन, बेलपाती, तितेपाती लगायत थुप्रै फूल र पात प्रशोधन गरेर धूलो बनाइन्छ। त्यही धूलोबाट बटुवा (बाटेको) धुप, सिन्के धुप र कोण धुप बन्छ। सिन्के र कोण धुप महिलाहरूले कारखानामै बनाउँछन्। बटुवा धुप भने फूलप्रसादमा आबद्ध महिलाले घरघरमै बनाएर पठाउँछन्।

सुषमाका अनुसार बजारमा बटुवा धुपको माग बढी छ। यो सयपत्री फूलको धूलोबाट बनाइन्छ।

‘परापूर्वकालदेखि नै बाटेको धुप बाल्ने नेपाली संस्कृति छ तर बिस्तारै लोप हुँदै गएको हो कि भन्ने महसुस भयो,’ सुषमाले भनिन्, ‘हामीले बाटेको धुपलाई प्राथमिकता दिएका छौं। आकर्षणका लागि विभिन्न रङमा तयार गर्छौं।’

फूलप्रसादले दैनिक पाँच सय किलोसम्म फूलपाती संकलन गर्छ। दस किलो फूलबाट एक किलो धूलो बन्छ। एक किलो धूलोबाट एक हजार वटा बटुवा धुप बन्छ। सय वटा बटुवा धुपको एक प्याकेटको मूल्य तीन सय रूपैयाँ पर्छ।

फूलप्रसादको धुप यसको आधिकारिक फेसबुक, इन्स्टाग्राम र वेबसाइटबाट अर्डर गर्न सकिन्छ। अरू अनलाइन बजारमा पनि पाइन्छ। आफ्नो पसल भने छैन।

सुषमाका अनुसार यो धुप विदेशी बजारमा पनि पुग्छ। हाल अमेरिका र अस्ट्रेलिया सहित चार मुलुकमा पुगिरहेको छ।

‘खेर जाने फूलपातीबाट धुप बनाउने नेपालकै पहिलो कम्पनी फूलप्रसाद हो,’ उनले भनिन्, ‘हामी विदेशमा पनि बिक्री गरिरहेका छौं। विश्वबजारमा हाम्रो धुपको सुगन्ध फैलिँदै छ।’

फूलप्रसादले बटुवा, सिन्के र कोण धुप अड्याउने टेको (स्ट्यान्ड) सहित पूजा, सप्ताह आदिमा लैजान ‘गिफ्ट बक्स’ पनि बनाउँछ।

गएको शिवरात्रिमा फूलप्रसादले पशुपतिनाथमा नौलो खालको धुप बालेको थियो। सुषमाका अनुसार १३ फिट लामो त्यो बटुवा धुप तयार गर्न २५ दिन लागेको थियो।

‘हामीले पशुपतिनाथमा पहिलो पटक अहिलेसम्मकै सबभन्दा ठूलो बाटेको धुप बाल्यौं। त्यो धुप ३६ घन्टासम्म बल्यो,’ उनले भनिन्।

अहिले बटुवा धुप बनाउन सय जनाभन्दा धेरै महिला फूलप्रसादमा संलग्न छन्। यो संलग्नता बढ्दो क्रममा छ। उनी ‘विमेन क्यान’ नामको संस्थामार्फत धुप बनाउने तालिम पनि दिन्छिन्। एक पटकमा बीस जनासम्मले तालिम लिन्छन्।

हाल यस्तो तालिम काठमाडौं, ललितपुर र भक्तपुरमा चल्दैछ। उनी उपत्यकाबाहिर पनि पुग्ने योजनामा छिन्। फूलका लागि किसानसँग सहकार्य गर्ने योजना पनि छ।

महिलाहरू आर्थिक रूपमा सशक्त बनून् भन्ने आफ्नो चाहना रहेको उनले बताइन्।

‘सक्षम महिला रहेको घर बलियो हुन्छ,’ ५७ वर्षीया सुषमाले भनिन्।

सुषमा तीस वर्षको जागिरे जीवनबाट फुर्सद लिएर उद्यममा लागेकी हुन्। उमेर ५० वर्ष नाघेपछि उनलाई आफ्नै कुनै व्यवसाय गर्ने हुटहुटी जागेको थियो।

‘जागिरे जीवनमा एकोहोरो भइन्छ। एकपछि अर्को लक्ष्यका पछि दौडिनुपर्छ,’ उनले भनिन्, ‘थुप्रै क्षेत्रमा कामको अनुभव भए पनि उद्यममा धेरै ढिलो आएँ जस्तो लागेको छ। तैपनि काममा उत्साहित छु।’

सुषमा नेपाली चिया पनि बेच्छिन्। ६ वर्षयता नौ थरीका चियाको ‘टी ब्याग’ बनाएर विदेशी बजारमा पठाइरहेकी छन्।

धुप बनाउन इच्छुक महिलालाई फूलप्रसादमा जोडिन उनी आह्वान गर्छिन्।

‘काम गर्न सक्छु, घरमै धुप बनाएर आम्दानी गर्छु भन्ने आत्मविश्वास छ भने हामीसँग आउनुहोस् धुप बनाउनुहोस्,’ सुषमाले भनिन्, ‘म महिलाको रोजगारी बढाउन चाहन्छु।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply