हुम्लामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

१० चैत धनगढी
हुम्लामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। शनिबार दिउँसो अन्दाजी ४ बजे अदानचुली गाउँपालिका- ४ पान्समा जिप दुर्घटना भएको हो।

श्रीनगरबाट काठे जाने क्रममा सु-१-०१-००१ ज ११८३ को जिप सडकबाट अन्दाजी १०० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेन्द्र बहादुर चन्दले जानकारी दिए।

उनका अनुसार दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। मृतक अदानचुली गा.पा.५ बारीगाउँ बस्ने १४/१५ वर्षीय प्रबेश ऐडी र ४०/४५ को फागुने लोहार छन्।

दुर्घटनामा ५ जना गम्भीर घाइते छन्।

गम्भीर घाइते हुनेमा चालक दार्चुलाका जनक ठगुन्ना, हुम्लाका धनबहादुर महतरा, ६० वर्षीय तुला टमाटा, ४५ वर्षीय दल बोहरा र रामबहादुर एडी छन्। अदानचुली गाउँपालिकाकै ३८ वर्षीय चैती बुढा र खगेन्द्र टमाटा सामान्य घाइते छन्। उनीहरू दुवैजना बोल्न सक्ने अवस्थामा छन्।

उक्त जिपमा चालकसहित नौ जना सवार थिए।

घाइतेहरू सबैको हुम्लाको श्रीनगर स्वास्थ्य चौकीमा उपचार भइरहेको इन्स्पेक्टर चन्दले जानकारी दिए।

गम्भीर घाइतेलाई उपचारका लागि कोल्टीस्थित जिल्ला अस्पताल बाजुरा लैजान लागिएको उनले बताए। अहिले नेपालगञ्ज लैजान सकिने अवस्था नरहेकाले तत्कालका लागि कोल्टी लैजाने तयारी भइरहेको उनले बताए।

अदानचुली गाउँपालिकाका उपाध्यक्ष कर्ण रोकायाले पनि हेलिकप्टर बोलाउने तयारी भएपनि मौसमका कारण अहिले सम्भव नभएका कारण घाइतेहरूलाई कोल्टी लैजान लागिएको जानकारी दिए।

‘मुख्यमन्त्री, सिडिओ सबैसँग कुरा गर्‍यौं। अहिले हेलिकप्टरबाट उद्धार सम्भव नभएका कारण कोल्टी लैजाने र त्यहाँबाट आवश्यक परे भोलि हेलिकप्टरबाट अन्यत्र लैजाने तयारी गरेका छौं,’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply