भिआइपी’ छुवाछुत हुन्छ, देखिँदैन तर महसुस गराइन्छ (भिडियो)

राज सरगम
१८ चैत धनगढी
पचासको दशक। उदयपुर निवासी दलित समुदायबाट १९ वर्षीय नेपाली (दमाई) थर भएकी एक अविवाहित युवती गर्भवती भइन्। पेटको बच्चा चार महिनामा लागेपछि उनलाई लुकाउन गाह्रो भयो। उनले पेटको बच्चा लुकाउन नसकेपछि गर्भवती भएकी महिलाले पेटको बच्चाको बाबुको नाम भनिदिइन्, उनी उही केटोसँग प्रेममा थिइन्।

त्यसपछि उदयपुरभरि हल्ला चल्यो— दनुवारको छोरोले दमाईकी छोरीलाई पेट बोकायो। दनुवार परिवारले इज्जत प्रतिष्ठा जोगाउन छोरोलाई भगायो। प्रेमी भागेपछि प्रेमिकाको रुवाबासी सुरु भयो। दनुवारको छोरो प्रेम गर्थ्याे तर प्रेमलाई समाजले कहाँ बुझ्थ्यो र? बरु गर्भावस्थाकी पीडित युवतीलाई छिःछिः दुरदुर गर्न थालियो। कोही न कोही र कसै न कसैले पीडित युवतीको पक्षमा बोल्नै पर्थ्याे। न्यायका लागि आवाज उठाउँनै पर्थ्याे। पेटको बच्चाका लागि भगुवा बाबु झिकाउनै पर्थ्याे।

त्रियुगा नगरपालिका स्थायी घर भएकी लक्ष्मी परियार (४६) पीडित युवतीलाई न्याय दिलाउन लागि परिन्। पीडितको नाम भन्न नचाहेकी लक्ष्मीलाई त्यही एउटा घटनाले सामाजिक अभियन्ता मात्रै बनाएन, संविधानसभा सदस्य तथा पूर्व सांसदसम्मको यात्रा गरायो।

बच्चाको बाउ खोज्ने कोसिस गरिन् लक्ष्मीले। त्यो बेला माओवादी सशस्त्र युद्ध चरम उत्कर्षमा पुगेको थियो। पीडितको पक्षमा बोल्यो कि माओावादी हुन् भनेर शंका गर्ने समय थियो। जिल्ला प्रमुख अधिकारी प्रहरी प्रमुख तथा कथित नगरपालिकाका मेयरले घटनालाई सामसुम पार्न मौन बसिदिए। तब लक्ष्मी बोलिन्, बोलिरहिन्— कि पीडित युवतीको पेटमा भएको बच्चाको बा खोजिदिन प्रयास गर्नूस् नत्र त्यो बच्चाको बा बन्ने आँट गर्नूस्। त्यसपश्चात् सम्बन्धित निकायले भगुवा केटो खोज्न प्रयास गरेकाे थियाे। आखिर केटोलाई खोजेर ल्याइयो। र युवतीलाई न्याय दिलाइयो।

झापाको एक घटनालाई लक्ष्मी स्मरण गर्छिन्, ‘ठटाल थरको एक युवती र झापाका एक गैरदलित युवकबीच प्रेम भए विवाह भयो। प्रेममा परेर विवाह गरेको करिब पाँच वर्षपछि ठटाल थर त दमाइ जातिको रहेछ भन्ने थाहा भयो। पछि युवतीलाई घरबाट निकालियो। उनीहरूको कलिला बच्चा पनि थिए। माइती थर ठटाल भएकै कारण त्यो केटाका परिवारले बच्चासहित युवतीलाई घरबाट निकाला गरिदिएका हुन्। पीडित महिलालाई न्यायका लागि लड्नुपर्‍याे, प्रहरी प्रशासन पुग्नुपर्‍याे। निकै संघर्षपश्चात् मुस्किलले न्याय दिलाइयो।’

त्रियुगा नगरपालिकाभित्र बसोबास गर्ने दिदीबहिनीमाथि परेको थिचोमिचोको सवालमा सहयोग गराउन अग्रणी नाम आउँथ्यो लक्ष्मीको। र अहिले पनि त्रियुगा नगरपालिकाका दलित महिलाहरूले सम्झिने नाम हो, उनै लक्ष्मी। जातीय छुवाछुतकै कारण खोटाङबाट उदयपुर झर्नु परेको थियो उनको परिवारले। उनी सम्झिन्छिन्, ‘विभेद खप्नै नसकेर पनि उदयपुर झर्नु परेको थियो खोटाङबाट। छुवाछुतकै कारण विस्थापित हुनु परेको भन्दा हुन्छ, त्यो समय।’

२०४८ सालमा लक्ष्मी किशोर उमेरमा थिइन्। एसएलसी पनि दिएकी थिइनन्। दलित समुदायमा बोल्ने टाठो युवतीको छवि समकालीन साथीहरूमाझ बनाएपछि लक्ष्मीलाई विद्यार्थी राजनीतिले पछ्यायो। नेपाली कांग्रेसको नेपाल विद्यार्थी संघको सदस्य भएर उनी राजनीतिमा जोडिएकी हुन्। उनले आफ्नो आवाज सुनाउन थालिन्। बाल्यकालदेखि नै देख्दै आएको छुवाछुतको विरुद्ध आवाज उठाउने सपना देखिन् उनले।

‘जातीय विभेद किन भइरहेको छ, कसरी भइरहेको छ, के यो हुनै पर्ने हो?,’ लक्ष्मी यसरी प्रश्न गर्थिन् नजिकका साथीहरूमाझ। दनुवार टोलमा दलित युवतीको न्यायका लागि बस्नेत थरहरूसँग गरेको संघर्ष उनले स्मरण गरिन्, ‘दलित युवतीसँग प्रेम गरेर भाग्ने दनुवार युवकको परिवारको सम्बन्ध थियो बस्नेत परिवारसँग। त्यसो हुँदा पनि पीडित युवतीलाई न्याय दिलाउन निकै समय लागेको थियो।’

उसो त लक्ष्मीले नेपाली कांग्रेसको झण्डा बोकेर उदयपुर जिल्लाको गाउँगाउँ पुग्दा ‘फलानो कि छोरी त बिग्री’ समेत भन्ने गर्थे। तर कुरा काट्नेहरूको पछाडि नलागेर समाजका लागि काम गरिरहिन् उनले। विभेदरहित समाजका लागि स्वतन्त्रता, न्याय र लोकतन्त्रका लागि अघि बढिरहिन्।

दलित समुदायको महिलालाई राजनीतिमा लाग्नु र समाज परिवर्तन कुरा गरेर हिँड्नु फलामको चिउरा चपाउनु जस्तो थियो। तर लक्ष्मीले पचासको दशकमा नै आफूलाई बदलिन् र सिंगो दलित महिलाहरूको अवस्था बदल्न लागिपरिन्। उनी भन्छिन्, ‘कसले केके भन्यो भनेर प्रश्न गरिनँ? बरु म केके गर्न सक्छु भनेर लागिरहें र आइपरेको समस्या र छुवाछुतका विरुद्ध आवाज उठाइरहें।’

झापाको एक घटनालाई लक्ष्मी स्मरण गर्छिन्, ‘ठटाल थरको एक युवती र झापाका एक गैरदलित युवकबीच प्रेम भए विवाह भयो। प्रेममा परेर विवाह गरेको करिब पाँच वर्षपछि ठटाल थर त दमाइ जातिको रहेछ भन्ने थाहा भयो। पछि युवतीलाई घरबाट निकालियो। उनीहरूको कलिला बच्चा पनि थिए। माइती थर ठटाल भएकै कारण त्यो केटाका परिवारले बच्चासहित युवतीलाई घरबाट निकाला गरिदिएका हुन्। पीडित महिलालाई न्यायका लागि लड्नुपर्‍याे, प्रहरी प्रशासन पुग्नुपर्‍याे। निकै संघर्षपश्चात् मुस्किलले न्याय दिलाइयो।’

मानव अधिकारका लागि काम गर्नु आफैंमा जोखिममा छ। अझ दलित महिलाले यस्ता सवालमा प्रश्न गर्नु खुकुरीको धारमा टेक्नुजस्तै छ अहिले पनि। तर लक्ष्मीले ज्यानलाई जोखिममा राखेर दिनरात दलित महिलाको हितमा बोलिरहिन्। समाज जति नै प्रगतिशील भए पनि राजनीतिक शक्तिको आडबिना समाज परिवर्तनमा न्यायको वकालत गर्न सकिँदैन भन्ने ज्ञान उनलाई चिन्नेहरूले सिकाएका थिए। राजनीतिबाटै परिवर्तन हुन्छ समाज भन्ने ज्ञान थियो उनीमा। त्यसैले उनले नेपाली कांग्रेसबाट राजनीतिक यात्रा पनि अगाडि बढाउँदै लगेकी थिइन्।

विभेदका विरुद्ध लक्ष्मीले उदयपुरमा मात्रै आवाज उठाइनन्, आफ्नो आवाज र संघर्षलाई अझै फराकिलो बनाउँदै राजधानी पसिन्। हाल नेपाली कांग्रेसको केन्द्रीय सदस्यसमेत रहेकी उनी राजधानीका धेरैपटक भीडमा आवाज बुलुन्द पारेकी छन्। राजनीतिक घटनाक्रमसँगै आउने उदारचढाव र मानव अधिकारका लागि उनले राज्यलाई झकझकाइरहिन्। न्याय, स्वतन्त्रता, लोकतन्त्रका लागि बोलिरहिन्। धेरैपटक उनी प्रहरीद्वारा पक्रिनुपर्‍याे। धेरैपटक घाइते हुनुपर्‍याे।

एकदिन लक्ष्मीका नजिकका बुढाथोकी थरका साथीले एक गैरदलितको घरमा बास बस्न थर ढाट्न लगाएको उनले सम्झिन्, ‘गैरदलित दिदीको घर थियो। भित्र पस्न बाध्य भइयो। अनि म लक्ष्मी परियार हुँ भन्दै भित्र पस्न मन गर्दागर्दै ती दाइले लक्ष्मी कार्की भन्नु है भनेर सम्झाउनु भयो। म छक्क परें। भनौं कि नभनौं भएँ। लक्ष्मी कार्की भनेर भित्र पसें। तर रातभरि निदाउन सकिनँ। गैरदलितले जात ढाँटेर बस्न सिकाए पनि म मेरो थरप्रति लुकाएर खुम्चिन चाहेको थिइनँ। अनि मनमा लाग्यो— मान्छेको मानसिकतालाई उलटपलट पार्ने त थरै त रहेछ।

२०५९ सालमा ज्ञानेन्द्र शाहले ‘कु’ गरेसँगै चौतर्फी जनता सडकमा उत्रिए। एउटा टीम थियो लक्ष्मीको पनि। त्यो समय भर्खर उनी छोरीको आमा भएकी थिइन्। ६ महिनाको छोरी घरमा श्रीमानलाई जिम्मा लगाएर उनी शाही कुका विरुद्ध आवाज उठाउन सडकमा पुगेकी थिइन्। मानव अधिकार लुटिएको भन्दै भृकुटीमण्डप, दरबारमार्ग र रत्नपार्क जस्ता ठाउँमा ब्यानर, पम्प्लेट र झण्डा बोकेर सडक तताइन्।

उनी भन्छिन्, ‘म मानव अधिकार शान्ति समाजको केन्द्रीय सदस्य थिएँ। संस्थापक सदस्य हुनुहुन्थ्यो कृष्ण पहाडी। त्यो आन्दोलनमा पक्रिन सकिने भएकाले आफूलाई माया मारेर होमिन पुगेका थियौं। माघ २६ गते कु भयो र २७ गते हामीले आन्दोलन गर्‍याैं। त्यो बेला शाही सरकारका प्रहरीले जहाँ र जतिखेर पनि पक्रिन सक्थे। त्यो अवस्थाबाट गुज्रिएर पनि आन्दोलनमा सहभागी भइयो। दुर्भाग्य प्रहरीले पक्रियो। करिब दुई हप्ता पछि हाम्रोको टिमलाई छोडेको थियो।’

बाल्यकालदेखि नै छुवाछुत भोगेकी लक्ष्मीले स्कुले जीवनमा पनि विभिन्न सांस्कृतिक कार्यक्रमबाट बहिष्कृत हुनु परेको थियो। ‘तँ सुँगुरको पुच्छर खाने जातकी होस् भनेर बहिष्करणमा परेकी थिएँ,’ उनले ती दिन सम्झिन्।

राजनीतिक कार्यक्रमसँगै समाजमा भएको विकृति र महिला हिंसाको विरुद्ध बोल्दा धेरैले धम्काए लक्ष्मीलाई। थर्काए। डर देखाए। तर उनी आफ्नो कर्मबाट डगमगाइनन्। उनी भन्छिन्, ‘जसले जसरी हेपे पनि म पर्वाह गर्थिन्। किनकि मेरो शरीरमा भन्दा पनि दिमाग र मनमा लागेको चोट थियो छुवाछुत। विभेदका जति बोले पनि थाक्दिनँ जस्तो लाग्थ्यो।’

दलितको मानसपटलमा परेको चोट खस-आर्यलाई के थाहा भन्ने प्रश्न गर्छिन् लक्ष्मी। राजनीतिक कार्यक्रममा हिँड्ने क्रममा एक घन्टा कुनै गैरदलित स्थानीय नेतालाई दलित बनाउँदाको घटना उनले स्मरण गरिन्, ‘राजनीतिक संगठन बनाउने क्रममा एउटा चिया पसलमा खाजा खाने उद्देश्यले पुगेका थियौं। चिया पसलमा पचास-पचपन्नको उमेरकी आमा हुनुहुन्थ्यो। उहाँलाई भान्सामा सघाउन बाहुन क्षेत्रीको छोरी हौं भनेर म मेरो साथी उनलाई भान्सामा सघाउन थाल्यौं। हामीमध्ये एक पुरुष साथी हुनुहुन्थ्यो जो गैरदलित हुनुहुन्थ्यो। उहाँलाई देखाउँदै हामीले विश्वकर्मा थरको साथी हुनुहुन्छ उहाँ भनिहाल्यौं। ती आमैले पत्याउनु भयो। र उहाँलाई बाहिर राखिदिनुभयो।’

‘हामी दिदीबहिनी भित्र पस्यौं। ती आमैले उहाँकाे लागि भित्रबाट मुडा निकालेर बाहिर राखिदिनुभयो। करिब दुई घन्टा उहाँ बाहिर बस्नुपर्‍याे। दुई घन्टापछि उहाँले भन्नुभयो— म बाहुन हुँ। यी बहिनीहरु चाहिं दलित हुन्। दमाई कामी हुन् भन्नुभयो। तर ती आमैले पत्याउनु भएन। उल्टै हप्काउँदै ती साथीलाई के भन्नुभयो भने— अनुहार हेर्दै कामीदमाइ जस्तो छ धेरै बोल्छ। ती साथी अलिअलि कालो वर्णको हुनुहुन्थ्यो। साह्रै लाज मान्नुभयो ती साथीले। छुवाछुत नै छैन भनेर गफ लगाउने ती साथी छुवाछुतमा पर्नुभयो। पछि गाडीमा फर्किने बेला उहाँले बरबर आँसु झारेर दुई घन्टा दलित हुँदाको पीडा सुनाउनु भयो। अनि मैले भनेको थिएँ— दुई घन्टा दलित हुँदा तपाईं रुनु भयो। हामीले वर्षौंदेखि दलित भएर भोगेको पीडाको के? कति रोएको होला हाम्रो हृदय?’

छुवाछुत हटाउनका लागि लक्ष्मीले विभिन्न सामाजिक संघसस्थामा बसेर काम पनि गरिन्। अहिले पनि उनी दलित महिला केन्द्र नेपालको केन्द्रीय अध्यक्ष छिन्।

हँसिलो अनुहार र स्पष्ट वक्ता उनी पार्टीको संगठन बनाउने क्रममा धेरैपटक उनका सहकर्मीहरूले नै जात ढाँट्न लगाएका छन्।

एकदिन लक्ष्मीका नजिकका बुढाथोकी थरका साथीले एक गैरदलितको घरमा बास बस्न थर ढाँट्न लगाएको उनले सम्झिन्, ‘गैरदलित दिदीको घर थियो। भित्र पस्न बाध्य भइयो। अनि म लक्ष्मी परियार हुँ भन्दै भित्र पस्न मन गर्दागर्दै ती दाइले लक्ष्मी कार्की भन्नु है भनेर सम्झाउनु भयो। म छक्क परें। भनौं कि नभनौं भएँ। लक्ष्मी कार्की भनेर भित्र पसें। तर रातभरि निदाउन सकिनँ। गैरदलितले जात ढाँटेर बस्न सिकाए पनि म मेरो थरप्रति लुकाएर खुम्चिन चाहेको थिइनँ। अनि मनमा लाग्यो— मान्छेको मानसिकतालाई उलटपलट पार्ने त थरै त रहेछ।

उदयपुर गाईघाटबाट तीस किलोमिटर दक्षिण पूर्वपश्चिम राजमार्ग पारीका मधेसी महिलाको अवस्थालाई नजिकबाट नियाल्न पाएकी लक्ष्मीले सिराहा, सप्तरी, रौतहट, लगायतका जिल्लामा महिला सशक्तिकरणका लागि काम पनि गरिन्। उनका अनुसार मधेसका दलित महिलाहरू माथि उठ्न अझै सकेका छैनन्। उनी भन्छिन्, ‘मधेसका गैरदलित समुदायका महिलाहरू केही माथि उठे पनि मधेसका दलित महिलाको अवस्था नाजुक छ। शिक्षा, भाषा र अवसरका कारण पनि पछाडि पर्नु परेको छ।’

दुईपटक माननीय हुँदा आफ्नो जिल्लालाई देख्नेगरी केही दिन नसकेको स्वीकार्ने लक्ष्मी समाज परिवर्तन राजनीतिबाटै हुने बताउँछिन्। भन्छिन्, ‘सबै खाले विभेदको अन्त्य राजनीतिबाट नै सम्भव छ। गैरसरकारी संस्थाले केवल समाजको समस्या र कमजोरी देखाउने हो। त्यसलाई जरैबाट हटाउने भनेको राज्य र राजनीतिबाट नै हो।’

लक्ष्मीका अनुसार मधेसको तुलनामा पहाडिया महिलाहरूको अवस्था सुधारोन्मुख छ। उनी भन्छिन्, ‘पहाडिया समाजमा परिमार्जनसहितको विभेद देख्छु म। मधेसको सवालमा भने दलित महिलको उपस्थिति न्युन छ। परिवर्तनको बहाक भनेको राजनीति हो। तर मधेसका दलित महिलासम्म राजनीति पुग्न सकेको छैन। विभिन्न राजनीतिक भातृसंगठन तथा सामाजिक संघसंस्थामा मधेशी दलित महिलाको उपस्थिति शून्य छ।’

पहाडी दलितको सवालमा भने संसदसम्म हन्डर खान पुगेको देख्छिन् लक्ष्मी। समानुपातिक समावेशीबाट कुनै दलित महिला संसद बन्न पनि सजिलो नभएको बताउँछिन् उनी। भन्छिन्, ‘खासमा समानुपातिक समावेशी भनेको त दलित महिलाको लागि हो। पाउने कुरा त पाइसक्नुभयो भन्छन्? कस्तो खालको परिकल्पना गरी समानुपातिक समावेशी लाएको हो भन्ने नै बिर्सियौं। खस आर्य त अहिले दलित, महिला हुनुपर्दोरहेछ भन्दैहुनुहुन्छ खस आर्य साथीहरू। र मिश्रिम प्रणालीको चुनावमा त खस आर्यले नै फाइदा लिएका छन्।’

२०६४ साल र २०७४ सालको संविधानसभामा समानुपातिकबाट सांसद भएकी लक्ष्मीले दुईपटक माननीय हुँदा दोहोरो विभेदमा परेको कुरा सुनाइन्। उनले महिलाले घरपरिवारमा हुने विभेद र जातीय विभेदका साथै लैंगिक विभेदमा पनि पर्नु परेको तितोसत्य घटना सुनाइन्। त्यसभित्र मधेसका दलित महिलाको अवस्था कहालीलाग्दो रहेको बताउँछिन् उनी। उनी भन्छिन्, ‘मौलिक हक दलितको सवालमा चाहिं कानुन बनाएर लागु गरिने भनिएको छ संविधानमा। अन्य जातिको हकमा भने छैन।’

सदनमा पनि छुवाछुतको शिकार हुनु परेको अनुभव लक्ष्मी सुनाउँछिन्, ‘दलितको कुरा कति गर्नुहुन्छ। दलित परिवर्तन भइसके। दलितले अधिकार पाएका छन् भन्छन् र सँगै भात खान लाज मान्छन्। अहिले त भिआइपी छुवाछुत गरिन्छ। झट्ट हेर्दा देखिँदैन तर विभेद घुमाएर गरिन्छ जुन महसुस गराइन्छ।’

लक्ष्मीका अनुसार जातीय विभेद तथा छुवाछुतप्रति सरकार गम्भीर भएन। साथै सरकारले संविधानको कार्यान्वयन नगरेको आरोप पनि छ। र उनले बारम्बार प्रतिनिधिसभा बैठकमा सरकारलाई प्रश्न पनि गरेकी थिइन्, ‘जातीय विभेद तथा छुवाछूतप्रति सरकार किन संवेदनशील छैन? ६० लाख दलित समुदायमाथि किन यति ठूलो कुठाराघात भइरहेको छ? संविधानको धारा २४ प्रति सरकारको किन दृष्टि परिरहेको छैन? के ६० लाख दलित समुदायलाई मारेरै सिद्धाउने हो? यदि होइन भने संविधानमा भएको प्रावधान कानुन कार्यान्वयन हुनुपर्‍याे।’

दुईपटक माननीय हुँदा आफ्नो जिल्लालाई देख्नेगरी केही दिन नसकेको स्वीकार्ने लक्ष्मी समाज परिवर्तन राजनीतिबाटै हुने बताउँछिन्। भन्छिन्, ‘सबै खाले विभेदको अन्त्य राजनीतिबाट नै सम्भव छ। गैरसरकारी संस्थाले केवल समाजको समस्या र कमजोरी देखाउने हो। त्यसलाई जरैबाट हटाउने भनेको राज्य र राजनीतिबाट नै हो।’

लक्ष्मी अन्तिममा जोड्छिन्, ‘विभेद हटाउनु भनेको व्यक्तिको लडाइँ होइन समुदायको लडाइँ हो। यसमा सबै तह तप्का र राज्य नै लाग्नु पर्छ, जुन राजनीतिबाट सम्भव छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply