बैतडीमा बलात्कार गरी हत्या गरेको आरोपमा एक जना पक्राउ

वैशाख ४ धनगढी
बैतडीमा बलात्कार गरी हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

पुर्चौडी नगरपालिका-४ की १७ वर्षीया भतिजीमाथि पटक-पटक बलात्कार गरी हत्या गरेको आरोपमा ३० वर्षीय पुरूष पक्राउ परेका हुन्।

ती पुरूषलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो।

किशोरी चैत २६ गतेदेखि हराएकी थिइन्। हराएको दुई दिनपछि स्थानीय जंगलमा किशोरीको शव फेला परेको थियो। पोस्टमर्टममा किशोरीको पेटमा १८ हप्ताको बच्चा रहेको र टाउकोमा चोट लागेको देखिएपछि अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए।

‘अनुसन्धानको क्रममा किशोरीको काकाले पटक-पटक बलात्कार गर्दै आएको र गर्भ बसेपछि हत्या गरेको खुलेको हो,’ उनले भने।

पक्राउ परेका व्यक्तिले आफूले ढुंगाले हानेर हत्या गरेको स्वीकार गरिसकेको प्रहरी निरीक्षक केसीले बताए।

किशोरी र काकाको घर नजिकै रहेछ। लामो समयदेखि जबरजस्ती करणी गर्दै आएको काकाले आफ्ना गल्ती लुकाउन हत्या गरेको बुझिएको छ।

किशोरीको डेढ वर्षअघि नै विवाह भएको र श्रीमान रोजगारीका लागि भारत रहेको खुल्न आएको उनले बताए।

मृतकका बुबाले सोमबार पक्राउ परेका पुरूषविरूद्ध हाडनाता करणी र कर्तव्य ज्यान मुद्दामा उजुरी दिएका छन्। सोही अनुसार इलाका प्रहरी कार्यालय पाटनबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply