भारतबाट फर्केर स्कुल भर्ना भएका छोराछोरी आगोमा जलेर ज्यान गुुमाए

वैशाख ४ धनगढी
स्कुल भर्ना भएका छोराछोरी आगोमा जलेर बिते। आमाबाबुको दिल जल्यो, सपना जल्यो। परिवारमा बज्रपात भयो।

घटना सोमबार बिहान ९ बजेतिरको हो। अछामको मेल्लेख गाउँपालिका–६, षोडषामा गोविन्द बोहराको घरमा गाउँकै केही विषयमा छलफल चल्दै थियो। गोविन्द पाँच जना छिमेकीसँग छलफलमा थिए।

त्यही बेला सोही ठाउँकी यज्ञश्वरी बोहराले आत्तिँदै माथिल्लो घरमा आगो लागेको खबर सुुनाइन्। छलफलमा बसेको मानिसहरू दौडिँदै गए। आगो लागेको घर थियो खम्ब बोहराको।

जस्तापाताले छाएको दुई तले सानो घरको तल्लो भुइँ तलामा सुकेको स्याउला थियो। माथिल्लो तलामा गहुँको नल र पराल थियो। त्यो घर मानिस बस्ने नभई पशुचौपायाका लागि चाहिने स्याउला, पराल, घाँस र अन्य सामान राख्नका लागि थियो।

छरछिमेकी पुग्दा आगो नियन्त्रणबाहिर भइसकेको थियो।

घरबाहिर बच्चाका चप्पल देखिए। भित्र कोही छ कि भन्ने शंका भयो। ढोका फोड्न खोज्दा शरीरमा आगो आएपछि मान्छे डराए। छानाको जस्तापाता उप्काउने प्रयास पनि असफल भयो।

जम्मा भएका छरछिमेकीहरूले गोविन्दको घरबाट बाल्टीमा पानी ल्याउँदै आगो निभाउने प्रयास गरे। बाल्टीको पानीले आगो नियन्त्रण हुने अवस्था थिएन। केहीबेरमा आगो आफैं कम भयो। भित्र हेर्दा ढोका नजिक दुई बालबालिका मृत भेटिए।

उनीहरू थिए ८ वर्षीया भावना र ६ वर्षीय गोपाल। भावना दीपक बोहोराकी छोरी र गोपाल रमेश बोहराका छोरा थिए। दीपक र रमेश दाजुभाइ हुन्। यसरी भावना र गोपाल पनि दिदीभाइ थिए।

आगो निभाउन प्रयास गर्नेमा भावनाका आमाबुबा पनि थिए तर आफ्नी छोरी त्यो घरभित्र छिन् भन्ने शंकै थिएन। बाजेको घर जान्छुु भनेर घरबाट हिँडेकी छोरी जलेको देखेर उनीहरू आत्तिए।दीपक बोहरा आत्तिँदै घरभित्र पस्न खोजे। अरूले उनलाई सम्हाले। भित्र पस्न खोजेपछि उनी पनि घाइते बनेका छन्। उनको पाखुरा जलेको छ।

गोविन्द भन्छन्, ‘पहाडमा आगलागी हुँदा दमकल हुँदैन। हाम्रो जिल्लामै दमकल छैन। हाम्रो वडामा हुने कुरै भएन।’

भावना र गोपाल बाजेबज्यैको घर गइरहन्थे। त्यस दिन पनि त्यतै जान्छौं भनेर घरबाट निस्केका थिए।

उनीहरू दुबै जना दुई महिनाअघि मात्रै भारतबाट घर आएका थिए। मेल्लेख गाउँपालिका–६, षोडषाका दीपक बोहरा भारतको गुजरातमा काम गर्छन्। उनले छोरी भावनालाई आफ्नै गाउँमा पढाउने उद्देश्यले दुई महिनाअघि घर ल्याएका थिए।

उनले छोरीलाई केही दिनअघि पूर्वप्राथमिक कक्षामा भर्ना गराएका थिए।

रमेश बोहरा पनि भारतमै काम गर्छन्। उनी पनि छोरालाई आफ्नै गाउँमा पढाउने उद्देश्यले आफ्ना आमाबुबाका साथमा छाडेर भारत फर्केका थिए। गोपाल पनि भावनासँगै स्कुलमा भर्ना भएका थिए। दीपक पनि भारत फर्किने तयारीमा थिए। घटनापछि गोपालका बा रमेश र आमा घर फर्किने बाटोमा छन्।

घटनापछि मेल्लेख प्रहरी चौकीबाट प्रहरी टोली आयो। साफेँबगरबाट नेपाली सेनाको टोली पनि आयो। जिल्ला प्रहरी कार्यालयबाट डिएसपी नेतृत्वको प्रहरी टोली पुग्यो।

जिल्ला अस्पतालबाट चिकित्सकको टिमले षोडषाकै आधारभूत स्वास्थ्य चौकीमा दुबै शवको पोस्टमर्टम गरेको छ।

प्रहरीले आगो लागेको घरभित्र लाइटर फेला परेको जनाएको छ। लाइटर भावना र गोपालकै साथमा थियो र त्यसैबाट आगलागी भयो भन्ने अनुमान छ। उनीहरूले लाइटर कहाँबाट ल्याएका थिए भन्ने पत्तो लागेको छैन।

‘बच्चाले कहाँबाट साथमा लाइटर बोके भन्ने प्रश्न छ। हामी सबै सचेत हुनुपर्ने भएको छ,’ गोविन्द भन्छन्, ‘गाउँघरमा हिँड्ने र खेल्ने उमेरमा बालबालिकाको धेरै ख्याल हुँदैन। अभिभावकको निगरानी राम्रो हुँदैन। यस्तै कारणले कहिलेकाहीँ अकल्पनीय घटना हुन्छ।’

जिल्ला प्रहरी कार्यालय अछामका डिएसपी सन्तोष पाठकले घटनाबारे अनुसन्धान भइरहेको बताए।

गत माघमा पनि मेल्लेख गाउँपालिका–३, ठाँटीको दर्बा टोलको एउटा गोठमा आगलागी हुँदा ६ वर्ष र ३ वर्ष उमेरका दुई बालबालिकाको मृत्यु भएको थियो। जाडो मौसममा ती बालबालिकाले घरबाट लाइटर ल्याएर गोठभित्र आगो बालेका थिए।

करिब तीन महिनापछि मेल्लेखमै उस्तै घटना दोहोरिएको छ।

यी दुई घटनाले लाइटर र सलाई जस्ता आगो सल्काउने वस्तु बालबालिकाको पहुँचबाट टाढा राख्न सचेत रहन अभिभावकहरूलाई पाठ सिकाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply